coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

रेबिजका कारण बालकको मृत्यु

रेबिज विरुद्धको सुई लगाउन जिल्ला अस्पतालमा आएका भोर्लेका स्थानीयहरु। तस्बिर: सरिता/नागरिक

धादिङ – रेबिजको संक्रमणका कारण नीलकण्ठ नगरपालिका–६ सुनौला बजारस्थित भोर्लेका किशोर भारतीको आइतबार मृत्यु भएको छ। बिरामी भएर उपचारका लागि टेकुस्थित शुक्रराज सरुवा रोग तथा ट्रपिकल अस्पताल पु-याइएका उनमा चिकित्सकले रेबिजको लक्षण प्रमाणित गरेका थिए। रेबिज लागेको थाहा पाएपछि काठमाडौंबाट फर्केका उनको धादिङस्थित जिल्ला अस्पताल आइपुग्दा मृत्यु भएको हो।

गत माघ १७ गते घरनजिकै खेलिरहेका बेला कुकुरले भारतीको कानमा टोकेको थियो। उनीसँगै उनका साथीहरूलाई पनि टोकेको गाउँलेले बताए। गाउँलेहरूले सामान्य टोकेको हो, सुई लगाउनु पर्दैन भनेर टारिदिए पनि उनको दुखाइ कम भएको थिएन। गत फागुन २७ गते उनी सिकिस्त बिरामी भएपछि परिवारले जिल्ला अस्पताल धादिङबेसी ल्याएको थियो। जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौंस्थित कान्ति अस्पतालमा लगियो तर त्यहाँ स्वास्थ्यकर्मीले वास्ता गरेनन्। त्यसपछि चिच्याउने, कराउने, वास्ता गर्ने गरेपछि उनलाई मनमोहन मेमोरियल अस्पताल लगिएको थियो। मनमोहनमा सुधार नभएकाले चिरायु अस्पतालको आइसियूमा राखिएको थियो।

चिरायुमा पूरै शरीरको परीक्षण गर्दा केही नभेटिएपछि कुकुरले टोकेको भागको परीक्षण गराइएको थियो। सो परीक्षणमा रेबिजको संक्रमण भेटिएको मृतक भारतीकी दिदी सविता भारतीले बताइन्। ‘धादिङसहित पाँचवटा अस्पतालमा उपचार गर्दा करीब डेढ लाख खर्च भयो,’ उनले भनिन्, ‘चिरायुमा परीक्षण गराएको रिपोर्ट टेकुमा देखाउँदा रेबिजको संक्रमण भनेर पुष्टि गरेपछि हामी धादिङ फर्कियौं, धादिङ अस्पतालमा छिर्नै लाग्दा भाइको परान गयो।’

सरकारले रेबिजविरुद्धको सुई निःशुल्क उपलब्ध गराउँदै आएको छ। कुकुरले टोकेर सुई लगाउन नआउँदा कतिपयको मृत्युसमेत हुने गरेको छ। रेबिज लागेका कुकुर, स्याल, बिरालोलगायत पशुको टोकाइबाट मानिस र अरू स्तनधारी प्राणीमा सर्ने रेबिज प्राणघातक रोग हो। रोगका जीवाणु रोगी पशुको ¥यालमा रहने भएकाले त्यस्ता पशुले टोक्दा घाउसँगै मानिसको शरीरमा प्रवेश गरी रोग उत्पन्न हुने स्वास्थ्यकर्मीको भनाइ छ। भारतीको मृत्युपछि भोर्लेका स्थानीयले जिल्ला अस्पताल धादिङमा एन्टिरेबिज भ्याक्सिन लगाउन थालेका छन्। स्थानीयले गाउँमा भएको कुकरलाई भ्याक्सिन लगाइदिन स्थानीय सरकारलाई गुहारेका छन्।

प्रकाशित: ४ चैत्र २०७६ ०३:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App