coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

‘मेलम्चीको पानी असारमा सुन्दरीजल, असोजमा घर–घरमा’

सिन्धुपाल्चोक - उपत्यकावासीलाई असारभित्र मेलम्चीको पानी खुवाउने सरकारको भाका नजिकिँदै गर्दा खानेपानी मन्त्री बिना मगरले सोमबार बहुचर्चित तथा बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गरेकी छिन्।

आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीसहितका अधिकारी लिएर मन्त्री मगर मुहानस्थल हेलम्बुको अम्बाथान पुगेकी थिइन्। त्यहाँ अहिले बाँध बनाउने काम भइरहेको छ। यहीँबाट मेलम्ची खोला छिराएर साढे २६ किलोमिटर भूमिगत सुरुङमार्गमार्फत सुन्दरीजल पु¥याइने छ। आयोजनाको बाँध र सुरुङको काममा भइरहेको प्रगति सुनेर मन्त्री मगर हौसिएकी थिइन्।

कार्यकारी निर्देशक खत्रीले आयोजनाको भौतिक प्रगतिबारे मन्त्रीलाई जानकारी गराएका थिए। ‘आयोजनाको भौतिक प्रगति प्रत्यक्ष हेर्न मन्त्रीज्यू आयोजनास्थल आउनु भएको हो,’ खत्रीले भने। मन्त्री मगरकै उपस्थितिमा मुहानदेखि अम्बाथान अधिकसम्म एक किलोमिटर सुरुङमा मेलम्ची पानी छिराएर परीक्षण गरिएको उनले जानकारी दिए। परीक्षणका क्रममा कुनै समस्या नदेखिएको बताउँदै खत्रीले सुरुङमार्गका बाँकी टनेल खण्ड क्रमशः परीक्षण गर्दै जाने बताए। असारमा उपत्यकावासीलाई मेलम्ची पानी खुवाउने सरकारको भाखा निजिकिँदै जाँदा मन्त्री मगर अनुगमनमा निस्किएको आयोजना स्रोतले बतायो। सरकारले चालु वर्षको बजेटमार्फत आउँदो असारभित्र उपत्यकामा मेलम्ची पानी पु¥याउने बाचा गरेको छ।

सरकारको बाचाअनुसार उपत्यकावासीले असारमै मेलम्ची पानी खान पाउने अवस्था भने देखिँदैन। तर आयोजना भने मेलम्ची पानी काठमाडौं आएको सन्देश दिन असारभित्रै मेलम्ची खोलो सुरुङमा प्रवेश गराउने योजना बनाएर अघि बढेको छ। ‘असारभित्र मेलम्ची पानी सुरुङमा छिराउन सकिन्छ भन्ने आयोजनालाई लागेको छ,’ आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले भने। उनका अनुसार सुरुङमा छिराउँदैमा उपत्यकावासीले मेलम्ची पानी खाइहाल्न पाउँदैनन्।

सुरुङमा पानी छिराएपछि परीक्षण चरण सुरु हुने प्रवक्ता पन्त बताउँछन्। परीक्षण गर्न एक महिनाजति समय लाग्ने अनुमान आयोजनाको रहेको उनले जानकारी दिए। ‘असारमै पानी सुरुङमा छिराउन सकिए र परीक्षणमा कुनै व्यवधान नआएको खण्डमा उपत्यकावासीले मेलम्ची पानी पाउने समय भने नजिकिँदो छ,’ उनले भने। बाँध र सुरुङको काम गरिरहेको चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले सरकारबाट बोनस खाने गरी कार्य गरिरहेकाले आगामी असोजभित्रै उपत्यकामा मेलम्ची पानी वितरण हुनेमा आयोजनाका अधिकारी आशावादी छन्।

आयोजनाले समयअगावै काम पूरा गरे ठेकेदार कम्पनीलाई ठेक्का रकमको १० प्रतिशत रकम बोनस दिने घोषणा गरेको छ। ठेकेदार कम्पनीले आयोजनाबाट बोनस खाने दाबी गरिरहेको प्रवक्ता पन्तले बताए। ‘ठेकेदारले सुरुङको सम्पूर्ण काम नै असोजभित्रै सक्नुपर्ने सम्झौता छ। त्यहीँमाथि उसले बोनस खाने दाबी गरेकाले सम्झौताअगावै उपभोक्ताले मेलम्ची पानी पाउने विश्वास जगाएको हो,’ उनले प्रष्ट्याए।

इटालीयन ठेकेदार कम्पनी सिएमसीले ठेक्का तोडेपछि चिनियाँ कम्पनी सिनो हाइड्रोले विगत ६ महिनादेखि आयोजनाको बाँकी काम गरिरहेको छ। सिनोले गएको असोजमा सुरुङको बाँकी काम गर्न ८५ करोड र एक अर्ब दुई करोड रुपैयाँमा हेडवक्र्सको ठेक्का पाएको थियो। दुवै ठेक्का पाएको सिनोले हेडवक्र्स (बाँध) को काम सक्ने सम्झौता भने आगामी फागुनसम्मको छ। सुरुङमार्गपछि बाँधस्थल निर्माण सबैभन्दा जटिल संरचना मानिएको छ।

बाँधबाहेक जटिल र ठूला काम नभए पनि स–साना काम भने अझै धैरै बाँकी रहेको आयोजनाले जनाएको छ। बाँकी अधिकांश काम प्राविधिक प्रकृतिका छन्। मुहानस्थलमा बाँध बनाउने, सुरुङ फाइनल फिनिसिङ (ढलान) गर्ने, अडिट टनेलका मुख टाल्ने, सुरुङमा गेट हाल्ने र सुरुङको हावा बाहिर पठाउने संरचना बनाउने लगायत काम भइरहेका छन्।
प्रवक्ता पन्तले अम्बाथान–सुनदरीजल साढे २६ किमि सुरुङमार्ग ‘फाइनल फिनिसिङ’ (ढलान) गर्ने काम सकिएको जनाए। ‘सुरुङ भित्रका अरु काम भइरहेका छन्,’ उनले भने। उनका अनुसार अडिटमार्ग बन्द गर्ने र सुरुङमार्गमा गेट राख्ने काम भइरहेको छ। अम्बाथान, ग्याल्थुम र सिन्धु अडिट बन्द गर्ने काम पनि जारी छ। बाँधस्थल, सुरुङ र अडिटमा २८ गेट राख्नुपर्नेमा १० वटा जडान भइसकेका छन्। सुरुङमार्गमा तीनवटा ‘भेन्टिलेसन’ (हावा फाल्ने प्वाल) खोप्नुपर्ने दुइटाको काम सकिएको छ। अब सिन्धु–ग्याल्थुम खण्डबीचमा मात्र प्वाल खोप्न बाँकी छ।

अनुगमन उपकरण जडान गर्ने र सुन्दरीजल पुगेको सुरुङदेखि प्रशोधन केन्द्रसम्म पानी पु-याउने पाइप बिछ्याउने काम मात्र सुरु हुन बाँकी रहेको आयोजनाले जनाएको छ। सुरुङभित्र कसरी पानी बहिरहेको छ भन्ने हेर्न र पानीको शुद्धता पत्ता लगाउन सिसिटिभीसहितको अनुगमन उपकरण जडान गर्नुपर्ने पन्त बताउँछन्। सुरुङदेखि प्रशोधन केन्द्रसम्म पानी पु¥याउन एक थान पाइप बिछ्याए पुग्छ। ‘गेट, अनुगमन उपकरणका सामग्री र पाइप आइसकेका छन्,’ उनले भने, ‘स्थायी बाँधबाहेक बाँकी सबै काम असारभित्रै सकिने छन्।’

अडिट र सुरुङको भित्री काम सकिएपछि तल्कालका लागि ‘कफर्ड ड्याम’ (अस्थायी बाँध) बाट मेलम्ची पानी सुरुङमा छिराउने आयोजनाको तयारी छ। किनभने स्थायी बाँध बनाउन अझै ११ महिनाको समय बाँकी छ। अस्थायी र स्थायी बाँधको काम एक साथ भइरहेको छ। आयोजनाले दाबी गरेजस्तै छिट्टै मेलम्ची पानी उपत्यकाका घर–घरमा पुगे पनि स्थायी बाँध बनाउने काम भने जारी नै रहने छ। मेलम्चीबाट दैनिक जाने १७ करोड लिटर पानी प्रशोधन गर्न सुन्दरीजलमा साढे आठ करोड लिटर क्षमताका दुइटा केन्द्र निर्माण सम्पन्न भइसकेको आयोजनाका प्रवक्ता पन्तले जानकारी दिए। ‘एउटा प्रशोधन केन्द्र दुई वर्षअघि नै बनेको हो। अर्को चाहीँ यसै वर्ष निर्माण भएको हो,’ उनले भने।

प्रकाशित: ४ चैत्र २०७६ ०२:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App