४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

इटालीमा एकै दिनमा ३६८ जनाको मृत्यु

फ्रान्सको पेरिसस्थित लेड इनभ्यालिड मैदानमा जम्मा भएका सर्वसाधारण। तस्बिरः गेट्टी इमेज।

रोम – इटालीमा आइतबार कोरोना भाइरसको संक्रमणबाट ३६८ जनाको ज्यान गएको छ। यो कोरोना संक्रमणबाट एकै दिनमा ज्यान गुमाएको सबैभन्दा बढी हो। यसअघि गत शुक्रबार इटालीमा २५० जनाको ज्यान गएको थियो।

इटालीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार आठ सय नौ पुगेको छ। इटाली चीनपछि कोरोना संक्रमणबाट प्रभावित देश हो। कोरोना भाइरसबाट प्रभावित फ्रान्स र स्पेनमा पनि क्याफे, पसल र रेस्टुरेन्टहरू बन्द गरिएका छन्।

फ्रान्सले अति जरुरी बाहेकका व्यवसायहरू बन्द गर्न आदेश दिएको छ भने स्पेनले एक कदम अगाडि गएर मानिसहरूलाई स्वास्थ्य सेवा वा खाद्यान्न किन्न बाहेकका अरु काममा घर छोड्न प्रतिबन्ध लगाएको छ। जर्मनीमा कोरोना संक्रमित व्यक्तिको संख्या बढेपछि फ्रान्स, अस्ट्रिया, स्विट्जरल्याण्ड, लक्जमबर्ग र डेनमार्कसँगका सीमामा सोमबारदेखि कडाई गरेको छ।

अमेरिकी विमानस्थलमा भिडभाड
संयुक्त राज्य अमेरिकाले गत हप्ता युरोपका सबै मुलुकका नागरिकमाथि अमेरिका यात्रामा प्रतिबन्ध लगाएको थियो। नयाँ प्रतिबन्धले अमेरिकी विमानस्थलमा ठूलै भिडभाड र अन्यौलको वातावरण सिर्जना गरेको छ। विमानस्थलमा यात्रुहरूको ठूलो समूहले गुनासो गरेपनि कर्मचारीहरूले नयाँ प्रवेश नियमहरू र मेडिकल स्क्रीनिङमा कडाई गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य परीक्षणमा कोरोनाको संक्रमण देखिएको छैन। उनी अमेरिका भ्रमणमा रहेका ब्राजिलका राष्ट्रपतिको प्रतिनिधिमण्डलका धेरै सदस्यसँग भेटवार्ताका क्रममा सम्पर्कमा आएका थिए। अमेरिकी अर्थमन्त्री स्टिभन मन्चिनले आइतबार महामारीको प्रभावले अमेरिकी अर्थतन्त्रमा केही ‘मन्दी’ उत्पन्न भएको बताएका थियो। तर, उनले यस्तो मन्दी धेरै दिन नरहने दाबी गरेका छन्।

आधिकारिक स्रोतहरूबाट एएफपीले संकलन गरेको तथ्यांक अनुसार आइतबारसम्म विश्वभर ६ हजार चार सय २० जनाको मृत्यु भएको छ भने एक लाख ६३ हजार ९ सय ३० जना बिरामी भएका छन्। यो रोग विश्वका १४१ मुलुकमा देखिएको छ। युरोपमा आइतबारसम्म कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या दुई हजार नाघेको छ।

चीनले विदेशी यात्रुलाई क्वारेन्टाइनमा राख्ने
चीनमा कोरोना संक्रमितको संख्या ८० हजार आठ सय ४४ जना पुगेको छ, जसमध्ये तीन हजार एक सय ९९ जनाको मृत्यु भएको छ। निकै ठूलो सचेतता अपनाएका कारण ६६ हजार नौ सय ११ जना बिरामी निको भएर घर फर्केका छन्।
चीनले पछिल्लो पटक विदेशी यात्रुहरूलाई नयाँ नियमहरू घोषणा गरेको छ। चीन प्रवेश गर्ने हरेक व्यक्तिलाई क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाइएको छ।

करिब सात सय २४ जनाको मृत्यु भइसकेको इरानमा सार्वजनिक स्थलमा मानिसलाई भेला नहुन आदेश जारी गरिएको छ। इरान अहिले चीन र इटालीपछि सर्वाधिक प्रभावित मुलुक हो। बेलायतले स्थानीय चुनावहरू रद्द गरेको छ। बेलायतले पनि अन्य युरोपेली राष्ट्रहरूकै अनुशरण गर्ने र जनसमुदायको जमघटमा प्रतिबन्ध लगाउने संकेत दिएको छ।

अर्कोतर्फ फ्रान्सले आइतबारका लागि तय भएको नगरपालिका चुनाव अगाडि बढ्न अनुमति दिएको छ। नेदरल्यान्ड्स सरकारले नयाँ कोरोना भाइरसको संक्रमणको खतरा औंल्याउँदै देशका सबै स्कुल, बार, रेस्टुरेन्ट, यौन क्लब र क्याफेहरू बन्द गर्ने आदेश दिएको छ।

धेरै देशहरूले आफ्ना मुलुकमा प्रवेश गर्न विदेशीहरूलाई प्रतिबन्धको घोषणा गरेका छन्। अस्ट्रियाले पाँच भन्दा बढी व्यक्ति भेला हुन आइतबार प्रतिबन्ध लगाएको थियो। नर्वेले शनिबारदेखि नै अन्तर्राष्ट्रिय उडानहरू बन्द गर्ने घोषणा गरिसकेको छ।

पोर्चुगलले पनि घातक कोरोनाभाइरसको विस्तारलाई सुस्त पार्न १०० भन्दा बढी व्यक्ति भेला नहुन आदेश दिएको छ।
अस्ट्रेलिया र न्युजिल्यान्डले विदेशबाट आउने जोकोहीले दुई हप्ता अलग्गै बस्नु पर्ने जनाएका छन्। अफ्रिकाका आधा दर्जनभन्दा बढी मुलुकमा कोरोनाको संक्रमण देखिएको बताएका छन्।

‘कोरोना भाइरस हामीमाथि प्रतिबन्ध लगाउने देशमाथि ईश्वरले दिएको दण्डसजाय हो,’ जिम्बाब्वेका रक्षामन्त्री ओपाह मुचिनगुरीले भने। दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाले प्रकोप प्रभावित मुलुकबाट आउने मुलुकका नागरिकका लागि देशको सीमाना बुधबारदेखि बन्द गरिएको घोषणा गरेका छन्।

प्रकाशित: ४ चैत्र २०७६ ०२:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App