८ वैशाख २०८१ शनिबार
खेल

सविनको ह्याट्रिकमा खुमलटारलाई सफलता

काठमाडौं – कप्तान सविन केसीको ह्याट्रिकप्रेरित खुमलटार युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा सहज जित निकालेको छ। सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा सोमबार श्री कुमारी क्लबमाथि ३–१ को सहज जित निकाल्दै खुमलटार अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

समान पाँच खेलबाट खुमलटारको १३ अंक र शीर्ष स्थानको सातदोबाटो युथ क्लबले १५ अंक जोडेको छ। सविनले सबै गोल पहिलो हाफमै गर्दै ह्याट्रिक पूरा गरेका थिए। श्री कुमारीका मिसन लामाले पनि पहिलो हाफमै गोल गर्दा खेल रोमाञ्चक बनेको थियो।

खेलको नवौं मिनेटमा सविनको गोलबाट खुमलटारले अग्रता लिएको थियो। यद्यपि त्यसको तीन मिनेट पछि नै श्री कुमारी खेलमा फर्कियो। १२औं मिनेटमा मिसन लामाले गोल गर्दै श्री कुमारीलाई १–१ को बराबरीमा पु¥याए। तर त्यो बराबरी लामो समय टिक्न सकेन। १५औं मिनेटमा सविनले गोल गर्दै खुमलटारलाई पुनः अग्रता दिलाए। ४२औं मिनेटमा सविनले ह्याट्रिक पूरा गर्दा खुमलटारले पहिलो हाफमै ३–१ को अग्रता लियो।

दुवै तर्पmबाट दोस्रो हाफमा गोल हुन नसक्दा खुमलटारले ३–१ को नतिजा जोगायो। हारसँगै श्री कुमारी पाँच खेलबाट तीन अंकसहित दशौं स्थानमा छ। सोमबारै भएको अर्को खेलमा श्री भगवती र टुसाल युथ क्लबले १–१ गोलको बराबरीमा खेलेको छ। अग्रता जोगाउन नसक्दा श्री भगवतीले अंक बाँड्नु परेको थियो। खेलको आठौं मिनेटमा मोहनबहादुर थापामगरको गोलबाट श्री भगवतीले अग्रता लिएको थियो।

तर, अन्तिम समय समालिन नसक्दा श्री भगवतीले स्पष्ट अंक प्राप्त गर्ने अवसर गुमायो। सब्सिच्युट खेलाडीको रूपमा मैदान प्रवेश गरेका संगम शाहीले इन्जुरी समयमा गोल गर्दै टुसाललाई हारबाट जोगाएका थिए। बराबरीसंगै टुसाल पाँच खेलबाट आठ अंकसहित चौथो स्थानमा छ। समान खेलबाट श्री भगवतीले भने पाँच अंक जोडेको छ।

प्रकाशित: ४ चैत्र २०७६ ०२:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App