coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आमालाई खोजिरहेछन् अबोध आँखा

माया–मेट्रो अस्पतालमा नवजात सघन उपचार कक्षमा ६ महिने ममता। तस्बिर: दिलबहादुर/नागरिक

धनगढी – मायो–मेट्रो अस्पतालको नवजात सघन उपचार कक्षको शड्ढया। छ महिनाकी ममताको मुहार पानी परेपछि उघ्रेको आकाजस्तै चहकिलो र शान्त छ। स्वास्थ्यकर्मी बोलेको आवाज सुनेपछि आधा बन्द भएका आँखीभौं भित्रबाट निर्दोष आँखा टिलपिल देखिए। यी अबोध शिशुका आँखाले दूध चुसाउने आमा खोजिरहेका होलान्। तर उनलाई के थाहा उनका आमा र बुबालाई कोही अपराधीले हत्या गरेर बालकमै बेसहारा बनाएको कुरा।

कुनै उपन्यासको कथाजस्तै लाग्ने यो हृदय–विदारक र कारुणिक कथा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा दम्पतीको विभत्स हत्या भएपछि बेसहारा बनेकी ६ महिनाकी ममता भण्डारीको हो। टाउकोमा भित्री चोट लागेकाले चिन्ताजनक अवस्थामा उनलाई अस्पताल पु-याइएको थियो। ‘सुरुमा बेहोस रहेकी शिशुको अवस्था चिन्ताजनक थियो, अहिले अवस्था सुधार भएर सामान्य भइसकेको छ,’ उपचारमा संलग्न स्वास्थ्यकर्मी विन्दु ठकुल्लाले भनिन्, ‘स्वास्थ्य सुधार भएकाले मुहार उज्यालो भएको छ।’

बाबुआमाकाे हत्या छाेराबाट

चिन्ताजनक अवस्थामा अस्पताल भर्ना भएकी यी बालिकाको स्वास्थ्य अढाई साताको उपचारपछि सुधार भएको हो। अपराधीले यी बालिकालाई पनि समातेर भुइँमा पछारेकाले टाउकोमा रगत जमेको हुन सक्ने चिकित्सक मोहन साउदले बताए। ‘बाहिर कुनै चोट नदेखिए पनि टाउकोभित्र लागेको चोटले सुरुमा अवस्था गम्भीर थियो,’ उनले भने।

बेसहारा बनेकी यी शिशुको उपचार गर्न पनि समस्या भएपछि माया–मेट्रो अस्पतालले नै सबै उपचार खर्च ब्यहोरेको अस्पतालका अध्यक्ष धीरेन्द्र साउदले बताए।

अस्पतालले डिचार्ज गरेपछि यी बालिकाको स्याहार–सुहार कसले गर्ने र भविष्य के हुने अन्योल छ। ‘अस्पतालमा उपचार गर्ने बेला त्यस्तै कसरी छोड्नु भनेर कुरुवाको रूपमा म आएकी हुँ। अस्पतालबाट लगेपछि यिनलाई कहाँ राख्ने भन्ने टुंगो छैन,’ अस्पतालमा कुरुवा रहेकी रम्बा बिष्टले भनिन्, ‘आमाको दूध खाने उमेरकी यो बालिकाको अवस्था देखेर रुन मन लाग्छ। यिनको जस्तो अवस्था कसैले भोग्नु नपरोस्।’

घटना यस्तो थियो
५२ वर्षीय जयलाल भण्डारी र उनकी पत्नी २२ वर्षीय धनादेवी भण्डारी ६ महिने शिशुसहित काठले बनेको टहराभित्र बस्थे। पहिली पत्नीको क्यान्सरबाट मृत्यु भएपछि जयलालले दुई वर्षअघि धनादेवीसँग बिहे गरेका थिए। पहिली पत्नीतर्फका दुई छोरा र एक छोरी थिए। दुई छोरामध्ये एक जना महेन्द्रनगर र अर्को पुख्र्यौली घर डडेल्धुरामा बस्थे। छोरीको बिहे भइसकेको थियो। छ महिने शिशुसहित दम्पतीमात्र त्यो टहरामा बस्थे।

फागुन १५ गते दिउँसो धनादेवीको बहिनी पार्वती रावल उनको घरमा गइन्। उनले भान्साकोठामा दिदी र अर्को कोठामा भिनाजुलाई हत्या गरिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेकी थिइन्। ‘म जाँदा घर सुनसान थियो, घरमा कोही नदेखेपछि फर्किन लागेकी थिएँ, शिशु रोइरहेको आवाज सुनेर भित्र गएर हेर्दा दिदी–भिनाजुलाई रक्ताम्मे देखें,’ उनले भनिन्। भिनाजु र छ महिने शिशु काठको टहराको एक कोठामा र धनादेवी काठकै टहरामा बनाइएको भान्साकोठामा रक्ताम्मे अवस्था फेला परेको उनले बताइन्।

हत्या आरोपमा छोरा सार्वजनिक
दुई सातासम्म पनि अपराधी पत्ता लगाउन नसकेको भनेर स्थानीय र आफन्तले आलोचना गरिरहेका बेला प्रहरीले भण्डारी दम्पतीको हत्या गरेको भन्दै जयलालकै २६ वर्षीय छोरा भरत भण्डारीलाई सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा सार्वजनिक गरेको छ।

डडेल्धुराको अमरगढी नगरपालिका–२ जुगेनाबाट आइतबार पक्राउ गरेर प्रहरीले कञ्चनपुर ल्याएको हो। डडेल्धुराको जुगेनास्थित घरमा उनले बुबाको क्रियासमेत गरेका थिए। अंशबन्डाको विवादमा उनले सौतेनी आमा र बुबाको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ।

उनले सौतेनी आमा र बुबाको हत्या गरेको स्वीकारेको प्रहरीले बताएको छ। कञ्चनपुरका प्रहरी उपरीक्षक मुकुन्द मरासैनीले अनुसन्धानबाट भण्डारी दम्पतीको हत्या छोराले गरेको खुलेको बताएका छन्। डडेल्धुरा बस्ने उनी फागुन १३ गते मोटरसाइकल चालक अनुमति–पत्रको जाँच दिन महेन्द्रनगर आएका थिए। ट्रायलमा फेल भएपछि डडेल्धुरा जान भन्दै उनी धनगढी आएर अत्तरिया पुगे।

अत्तरियाबाट साँझ साढे ८ बजेतिर उनी कलुवापुर बुबाको घरमा पुगे। उनको सौतेनी आमा र बुबासँग अंशबन्डाको विवाद थियो। ‘त्यतिबेला पनि अंशबन्डाका लागि सौतेनी आमा र बुबासँग विवाद भयो। भान्सामा गएका बेला सौतेनी आमालाई सुरुमा लोहरोले हानेर र पछि हँसियाले प्रहार गरेर हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ। अर्को कोठाभित्र सुतिरहेका जयलाललाई पनि हँसियाले प्रहार गरेर हत्या गरेको उनले बताए। हत्या गर्न प्रयोग गर्ने हँसिया भासुको भिरमा फालेको उनले बयान दिएका छन्।

प्रकाशित: ४ चैत्र २०७६ ०१:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App