७ वैशाख २०८१ शुक्रबार
अर्थ

भियतनामका वायुसेवाले गरे १४० जहाज अर्डर

हनोइ- भियतनामका सरकारीदेखि निजी वायुसेवा कम्पनीहरूले एकैचोटि १ सय ४० थान जहाज खरिद अर्डर गरेका छन्। यी जहाजको मूल्य करिब १८ अर्ब अमेरिकी डलरबराबर रहेको छ। तिनमा भियतनामको सरकारी वायुसेवा कम्पनी भियतनाम एयरलाइन्सदेखि निजी कम्पनीसम्म छन्। उनीहरूले अमेरिकी जहाज निर्माता कम्पनी बोइङ र युरोपेली जहाज निर्माता कम्पनी एयरबससँग १ सय ४० थान जहाज खरिद अर्डर गरेका हुन्।

भियतनामको उड्डयन बजार सानो भए पनि तीव्र गतिमा अगाडि बढिरहेको छ। यही बजार कब्जा गर्न भियतनामी वायुसेवाहरूले १७ अर्ब ८० करोड अमेरिकी डलर मूल्यबराबर उक्त परिमाणको जहाज जहाज खरिद गर्ने घोषणा गरेका हुन्।

भियतनामको एकमात्र निजी वायुसेवा कम्पनी भाएटजेट एयरले बोइङसँग एकैचोटि १ सयथान जहाज खरिद अर्डर गरेको छ। जसको मूल्य ११ अर्ब ३० करोड डलरबराबर रहेको छ। यसले स्थानीयदेखि दक्षिणपूर्वी एसियाको उड्डयन बजारमा आफ्नो हिस्सा बढाउन लगानी विस्तार गरेको हो।

भाएटजेटले 'बि७३७ म्याक्स २००' सिरिजका १ सयथान जहाज अर्डर गरेको हो। भियतनामको इतिहामै पहिलो पटक यति ठूलो परिमाणको जहाज खरिद अर्डर भएको हो। कम्पनीले एयरबससँग पनि 'ए३२१' सिरिजका २० थान जहाज खरिद अर्डर गरेको छ। जसको मूल्य २ अर्ब ४० करोड डलरबराबर रहेको छ।

भियतनामको आन्तरिक उड्डयन बजारमा भाएटजेटले ४० प्रतिशत हिस्सा ओगटेको छ। सन् २०११ डिसेम्बर २५ मा स्थापना भएको भाएटजेटले हाल ३७ जहाजबाट ५३ गन्तव्यमा उडान गरिरहेको छ। यसमा २ हजार कर्मचारी कार्यरत छन्।

त्यसैगरी सरकारी वायुसेवा भियतनाम एयरलाइन्सले एयरबससँग जहाज खरिद–बिक्रीबारे प्रारम्भिक सम्झौता गरिसकेको छ। सम्झौताअनुसार 'ए३५०' सिरिजका १० थान ठूलो आकार (वाइड बडी) जहाज खरिद गरिने छ। जसको मूल्य ३ अर्ब १० करोड डलरबराबर रहेको छ।

एयरलाइन्सले वाइड बडी जहाजलाई लामो दुरी (लङ हल) सञ्जालका लागि प्रयोग गर्ने जनाएको छ। हो ची मिन्ह सिटीबाट अमेरिकाको लस एन्जलस उडानमार्फत वाइड बडी प्रयोग सुरु गरिने कम्पनीको भनाइ छ।

१९५६ मा स्थापना भएको भियतनाम एयरलाइन्सले हाल ८३ जहाजबाट ५२ गन्तव्यमा उडान गरिरहेको छ। यसले २०१६ मा ११ करोड डलर सञ्चालन आम्दानी गरेको थियो। 

त्यसैगरी भियतनाम एयरलाइन्सकै बहुमत सेयर (७० प्रतिशत) भएको अर्को वायुसेवा कम्पनी जेटस्टार प्यासिफिक एयरलाइन्सले पनि 'ए३२०' सिरिजका १० थान जहाज खरिद अर्डरको अन्तिम निर्णय गरेको छ। जसको मूल्य १ अर्ब डलरबराबर रहेको छ। जेटस्टारमा अस्ट्रेलियाको सरकारी वायुसेवा कम्पनी क्वान्टास एयरवेजको ३० प्रतिशत सेयर रहेको छ।

१९९१ देखि सञ्चालनमा आएको जेटस्टारले हाल १३ जहाजबाट १८ गन्तव्यमा उडान गरिरहेको छ।

प्रकाशित: २४ पुस २०७३ ०३:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App