काठमाडौं- नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहको भेलाले नेतृत्वले गरेको फोहोर सफा गर्न सबै एकजुट भएर अगाडि बढ्नुपर्ने निष्कर्ष निकालेको छ।
सोमबार राजधानीमा आफ्नो गुटको भेलामा सम्बोधन गर्दै सिटौलाले नेतृत्वले गरेको फोहोर सफा गर्न सबै युवा नयाँ सोचका साथ अगाडि बढ्नुपर्ने बताए। सम्बोधनका क्रममा सिटौलाले अहिले कांग्रेस राजनीतिक समाजमा 'झिँगो’ स्वभावबाट अगाडि बढिरहेको टिप्पणी गरे। नेतृत्वलाई फोहोर झिँगासँग तुलना गर्दै सिटौलाले भने 'हेर्दा मौरी र झिँगा उस्तै देखिन्छ। एउटाले फोहोर छर्दै हिंड्छ। एउटाले फूलको रस बटुल्दै हिँड्छ। एउटाको परोपकारी गुण छ। एउटाको ध्वंशकारी गुण छ।’ प्रत्येक तहमा रहेका युवाहरुसँग फरक फरक क्षमता रहेको उल्लेख गर्दै सिटौलाले सबैको क्षमता बटुल्दै कांग्रेसलाई परिवर्तनशिल बनाउनुपर्ने बताए। परिवर्तित कांग्रेसको काँधमा कम्युनिष्टसँग लडेर व्यवस्थालाई बलियो बनाउने अभियानमा लाग्न उनले आग्रह गरे। आगामी निर्वाचनमा सफलता शिखरसम्म पुग्ने अर्जुन दृष्टिका साथ तयारी गर्न उनले आग्रह गरे।
नेता गगन थापाले पार्टी नेतृत्वको अहिलेसम्म कृयाकलापले तोकिएको समयमा महाधिवेशन हुन नसक्ने सम्भावना बढेर गएको बताए। नेतृत्वको सफलता असफलता तोकिएको समयभित्र अधिवेशन गर्ने कुराले निर्धारण गर्ने उल्लेख गर्दै थापाले पार्टीको विधान अनुसार भूमिका निर्वाह गर्न सबैमा आग्रह गरे। महाधिवेशनको वातावरण बनाउने काम सभापति र महामन्त्रीको भएको थापाको भनाई छ। जिल्लाहरुको समायोजन समयमै सक्न महामन्त्री खट्न नसकेको आरोप पनि उनले लगाए। थापाले भने, 'महामन्त्री सचिवालयको प्रमुख हो। यस बेलामा पार्टीको महामन्त्रीले जिम्मा लिएर पार्टी कार्यालयमा गएर त्यहाँबाट महामन्त्रीको भूमिका निर्वाह गर्नुपर्ने हो। समायोजनको कुरा आयो ३०, ३२ जिल्ला बाहेक समायोजन भएन भनेर भन्न मिल्छ ? समायोजन हुन सकेको छैन् भने सातै दिन २४ घण्टा नै पार्टी कार्यालय जानुपर्यो त्यहाँ बस्नुपर्यो। प्रतिनिधि पठाएर काम गर्नुपर्यो। यति समयसम्म मलाई काम चाहिन्छ भन्नुपर्यो।’
काठमाडौंको बत्तिसपुतलीमा भएको भेलामा २ सयभन्दा बढी नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो। भेलामा नेताहरुले आफुहरु कांग्रेसमा सुधार गर्दै अगाडि बढ्ने अभियानमा रहेको बताएका छन्।
प्रकाशित: ३ चैत्र २०७६ १२:१४ सोमबार