६ वैशाख २०८१ बिहीबार
अर्थ

ग्यास आयात बढ्यो

काठमाडौं - कोरोना भाइरसको बहाना बनाएर उपभोक्ताले ग्यास तथा पेट्रोलियम पदार्थ थुपार्न थालेपछि नेपाल आयल निगमले ग्यास लगायत पेट्रोलियम पदार्थको अभाव नभएको प्रस्ट पारेको छ। आइतबार संसद्को उद्योग तथा वाणिज्य र उपभोक्ता तथा श्रम समितिमा बोल्दै निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले केही दिनयता पहिलाको तुलनामा ग्यास आयात बढोत्तरी गरिएको जानकारी दिए।

फेब्रवरी महिनामा निगमले ४१ हजार एक सय १५ मेट्रिक टन ग्यास ल्याएको जनाएको छ। तीन महिनाअघि ३६ हजार मेट्रिक टन हाराहारीमा ग्यास आउने गरेको थियो। ‘पछिल्लो तीन महिना र त्यसअघिका महिनाबीच तुलना गर्दा यतिखेर खाना पकाउने एलपी ग्यासको ढुवानी बढेको छ,’ उनले भने, ‘केही उपभोक्ताले अनावश्यक रूपमा ग्यास थुपार्न खोज्दा अभाव जस्तो देखिएको हो। ढुवानीमा कुनै समस्या छैन।’   उनका अनुसार आइतबार मात्र रक्सौल नाकाबाट ८६ बुलेट ग्यास भित्रिएको छ। एउटा बुलेटमा एक हजार दुई सय ५० थान ग्यास सिलिन्डर हुन्छ। देशमा भित्रिने ग्यासमध्ये ४५ प्रतिशत उपत्यका र बाँकी उपत्यकाबाहिर खपत हुने गर्छ। निगमको आग्रह अनुसार भारतले पहिलाको भन्दा बढी ग्यासको लोड गरिरहेको उनले जानकारी दिए।

केही उपभोक्ताले अभाव हुने आंशका गरी एकैचोटी खाली सिलिन्डर भर्न खोज्दा अभाव देखिएको पौडेलले प्रस्ट पारे।

ढुवानी आपूर्तिमा कुनै समस्या नभएको र जुन डिलरले जति माग्छन् त्यति नै मात्रामा ग्यास भारतबाट आइरहेकाले कुनै पनि उपभोक्ताले अनावश्यक रूपमा ग्यास थुपार्न जरूरी नभएको उनले प्रस्ट पारे। निगमका अनुसार नेपालमा महिनामा सरदर ३० लाख थान सिलिन्डर ग्यास खपत हुने गरेकोमा केही दिनयता उपभोक्ताले खपत भन्दा बढी ग्यास खरिद गरेर थुपारेका छन्। हाल देशभरि ५८ ग्यास उद्योगका एक करोड १२ लाख ग्यास सिलिन्डर छन्। केही उपभोक्ताले अभाव हुने आंशका गरी एकैचोटी खाली सिलिन्डर भर्न खोज्दा अभाव देखिएको पौडेलले प्रस्ट पारे। समितिको बैठकमा बोल्दै सांसदहरूले आपूर्तिमा समस्या नहुँदा नहुँदै उपभोक्ताले सहज ग्यास पाउन सक्ने अवस्था नभएकाले अनुगमनलाई जोड दिई कालोबजारी गर्ने ग्यास लुकाउनेलाई कारबाही गर्न माग गरेका छन्। ग्यासबाहेक डिजल, पेट्रोल र हवाई इन्धन समेत नियमित ढुवानी भइरहेको निगमले जनाएको  छ।

प्रकाशित: ३ चैत्र २०७६ ०३:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App