८ वैशाख २०८१ शनिबार
खेल

हेटौंडा गोल्डकप आर्मीको हातमा

हेटौंडा- त्रिभुवन आर्मी क्लबले दोस्रो टुबोर्ग हेटौंडा आमन्त्रण गोल्डकप फुटबलको उपाधि जितेको छ। आर्मीले साबिक विजेता मनाङ मर्स्याङदी क्लबलाई २–० ले हरायो। शनिबार हेटौंडा फरेस्ट्री खेल मैदानमा मनाङले १० खेलाडीमा रहँदै खेलको अन्त्य गरेको थियो।

१८ औं मिनेटमा आर्मीका भरत खवासले गोल गर्दै टोलीलाई अग्रता दिलाए। दीपक गुरुङको थ्रोमा खवासले गोल गरेका थिए। १९ औं मिनेटमा मनाङका फरवार्ड हफिज ओलावालेले रातो कार्ड दर्शन गरी मैदान छाडेका थिए।

ओलावालेले आर्मीका सन्तोष तामाङलाई फाउल गरेपछि रेफ्री सुदिश पाण्डेले पहेँलो कार्ड देखाए। रेफ्रीको निर्णयमा असन्तुष्टी जनाउँदै ओलावालेले अपशब्द प्रयोग गरेको भन्दै पाण्डेले उनलाई रातो कार्ड देखाए। आर्मीले ८४ औं मिनेटमा अग्रता दोब्बर पारेको थियो।

भरत खवासलाई मनाङका डिफेन्डर सिसकोले फाउल गरेपछि आर्मीले फ्रिकिक पाएको थियो। त्यसलाई आर्मीका सन्तोष तामाङले गोलमा परिणत गरे। १० खेलाडीमा सीमित भए पनि मनाङका सुजल श्रेष्ठ, अनिल गुरुङ र विमल रानाले गोल गर्ने केही राम्रा अवसर गुमाएका थिए। उनीहरूको प्रहार आर्मीका गोलरक्षक विकेश कुथुले रोकेका थिए।

उपाधीसँगै विजेता आर्मीले नगद ५ लाख, उपविजेता मनाङले ३ रुपैयाँ नगद प्राप्त गरे। विजेतालाई पूर्व उपप्रधानमन्त्री तथा राप्रपा केन्द्रीय अध्यक्ष कमल थापा र अखिल नेपाल फुटबल संघका अध्यक्ष नरेन्द्र थापा लगायतले पुरस्कृत गरेका थिए।

प्रतियोगितामा आर्मीका सन्तोष तामाङ सर्वोत्कृष्ट खेलाडी भए। उनले सर्वोत्कृष्ट खेलाडीको ट्रफीसँगै ५० हजार रुपैयाँ नगद जितेका थिए।

यसैगरी आर्मीका विकेश कुथु उत्कृष्ट गोलरक्षक, मनाङका विराज महर्जन उत्कृष्ट रक्षक, मिडफिल्डरमा आर्मीका सन्तोष तामाङ, फरवार्डमा आर्मीका भरत खवास र उत्कृष्ट प्रशिक्षकमा आर्मीका नविन न्यौपाने पुरस्कृत भए। यी विधामा उत्कृष्ट हुनेले जनही १५ हजार रुपैयाँ नगद पाए।

सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिता पुस १४ मा सुरु भएको थियो। प्रतियोगितामा २ विदेशीसहित १० क्लबले प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: २४ पुस २०७३ ०३:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App