coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

अन्तर्राष्ट्रिय उडान ३५ प्रतिशत घट्यो

थाइल्यान्डको सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलमा कोभिड–१९ को संक्रमण रोक्न हवाईजहाजको क्याबिनमा औषधी छर्किंदै थाई एयरवेजका कर्मचारी। तस्बिर : रोयटर्स

काठमाडाैँ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडान संख्या ३५ प्रतिशत घटेको छ। कोभिड–१९ का कारण सरकारले पर्यटकीय भिसामा रोक लगाएको पहिलो दिनमै अन्तर्राष्ट्रिय उडान प्रभावित बनेको हो।

शनिबारसम्म सरदर दिनमा एक सय दुई उडान–अवतरण हुँदै आएको त्रिभुवन विमानस्थलमा आइतबार ६४ उडान–अवतरण भएका छन्। सरकारले वैशाख १८ सम्मका लागि अन अराइभल भिसामा लगाएको रोकले नेपाल आउने विदेशी घटेपछि अन्तर्राष्ट्रिय हवाई कम्पनीहरूले उडान संख्या घटाउँदै लगेका हुन्। दिनको दुई उडान भर्दै आएको एयर इन्डियाले दिल्ली–काठमाडौं उडान आइतबारदेखि एकमा झारको छ। दुइटै उडानमा यात्रुु कम भएपछि विहानको उडान रद्द गरेर कम्पनीले दिउँसोको मात्र उडान भर्ने भएको छ। इन्डिगो एयरलाइन्सले खाडीका विभिन्न गन्तव्यको उडान पनि घटाएको छ। दिनमा तीन उडान भर्दै इन्डिगोले यात्रु अभावका कारण आइतबार एउटा मात्र उडान भरेकोे छ।

दिल्ली–काठमाडौं उडानमा समेत यात्रु कम देखिएपछि कम्पनीले दुईवटा उडान रद्द गरेको हो। मलेसिया–काठमाडौं उडान भर्दै आएको मलिन्दो एयरले पनि दिनको दुई उडानमध्ये एउटा रद्द गरेको छ। त्यस्तै, कोरियन र ड्रागन एयरले साप्ताहिक उडान संख्या ५–५ बाट घटाएर ३–३ मा झारेका छन्। थाई एयरलाइन्सले पनि आइतबारदेखि एउटा मात्र उडान भर्ने भएको छ। दैनिक दुई उडान भर्दै आएको थाईले यात्रु कम भएपछि दुई उडान मर्ज गरेर एउटामा झारेको होे। क्याथे प्यासिफिकले समेत दुई उडानलाई पुग्ने यात्रु नहुँदा मर्ज गरेर एउटामा झारेको छ। फ्लाई दुबईले काठमाडौंमा गर्ने दैनिक उडान संख्या दुईबाट एकमा झारेको छ।

कुवेत–काठमाडौं उडान भर्दै आएको कुवेती वायुसेवाहरू जजिरा र वातानिया एयरलाइन्सले मस्कटबाट गर्दै आएको उडान बिहीबारदेखि नै रद्द भइसकेका छन्। कतार एयरलाइन्सले आइतबारदेखि एउटा उडान रद्द गरेर एउटामात्रै भर्ने जनाएको छ। टर्किस एयरलाइन्सले ३० देखि ५० प्रतिशतले टिकट रद्द गरेको जनाएको छ। कम्पनीले हाल नेपालमा सातामा पाँच उडान भर्दै आए पनि केही उडानमा यात्रु कम हुँदा अर्काे उडानमार्फत पठाइरहेको जनाएको छ। संक्रमणको त्रासका कारण हवाई यात्रु घट्दै जाँदा एयर चाइना, चाइना साउदर्न, चाइना इस्टर्न, ओमान, भिस्तारा लगायत विमान कम्पनीसमेत प्रभावित बनेको विमानस्थल कार्यालयले जनाएको छ।

हिमालयन एयरलाइन्सले मार्च महिनाभरका लागि काठमाडौंबाट साउदीको दमाम उडान रद्द गरेको छ। संक्रमणकै डरले साउदी सरकारले १५ मार्चदेखि लागू हुने गरी दुई साताका लागि साउदीमा अस्थायी प्रतिबन्ध लगाउँदा उक्त गन्तव्यमा सेवा दिइरहेको हिमालयको उडान प्रभावित बनेको हो। चीनका पाँचवटै गन्तव्यको उडान रद्द गरेको कम्पनीले सोमबारबाट लागू हुने गरी साउदीको दमाम उडान रद्द गरेको हो। कम्पनीले कतारको दोहा उडान समेत रद्द गरेको छ। त्यस्तै, नेपाल वायुसेवा निगमले यात्रु संख्या कम भएको जनाउँदै विभिन्न गन्तव्यका उडान रद्द गरिसकेको छ। फागुन २७ देखि काठमाडौं–दोहा उडान बन्द गरेको निगमले चैत २ देखि लागू हुने गरी काठमाडौं–दिल्ली–काठमाडौं उडान दुईबाट दैनिक एकमा झारेको छ।

निगमले बैंगलौरमा चैत ६ र १८ गतेको उडान पनि रद्द गरेको छ। मुम्बईमा प्रत्येक शुक्रबार हुँदै आएको उडान चैत २ देखि वैशाख ३ सम्म स्थगित गरिएको छ। बैंककको चैत १२ कोे उडान रद्द गरेको छ। चैत ६ र १३ गते हुने हङकङ उडान पनि रद्द गरेको निगमले जनाएको छ। विमानस्थलका महानिर्देशक देवेन्द्र केसीका अनुसार कोभिड–१९ को विश्वव्यापी असरले नेपाली आकाश समेत सुनसान बन्दै गएको छ। ‘यात्रु नपाउँदा विभिन्न कम्पनीले उडान कटौती गर्न सुरु गरेका छन्,’ नागरिकसँग उनले भने, ‘हवाई यात्रु कम हुँदै गए पनि दुईवटा उडान भर्ने कम्पनीले मर्ज गरेर एक उडान भर्न थालेका छन्। दिनमा एउटामात्र उडान गर्नेहरूले साताको उडान तालिकामा मर्ज गरेर सेवा दिन थालेका छन्।’

विमानस्थल शून्य नै नभए पनि हवाई यात्रुको संख्यामा भने पछिल्लो समय कमी आएको उनको भनाइ छ। विमान कम्पनीहरूले यात्रु संख्याको आधारमा उडान भर्ने हुँदा केही उडान अझै कटौती हुन सक्ने उनको अनुमान छ। संक्रमणकै कारण आन्तरिकतर्फका उडानमा समेत प्रभाव पर्न सुरु भएको उनले जानकारी दिए। यद्यपि आन्तरिकतर्फका भने कुनै कम्पनीले उडान रद्दको निर्णय गरेका छैनन्। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सन् २०१९ को नोभेम्बरसम्मको तथ्यांक हेर्दा दैनिक साढे ६ सय हवाई यात्रु घटेका थिए।

सन् २०१९ को ११ महिनाको तथ्यांक अनुसार ३७ लाख ६७ हजार नौ सय १३ अन्तर्राष्ट्रिय यात्रुले उक्त विमानस्थल प्रयोग गरेका थिए। सन् २०१८ को सोही अवधिमा ४३ लाख ४२ हजार चार सय ८६ अन्तर्राष्ट्रिय यात्रुले विमानस्थल प्रयोग गरेका थिए। तथ्यांक अनुसार आन्तरिकतर्फको यात्रुसंख्या भने बढेको थियो।

प्रकाशित: ३ चैत्र २०७६ ०३:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App