coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

प्रहरी र अस्पतालको सचेतनामूलक कार्यक्रम

बनेपा – कोरोना भाइरस (कोभिड–१९) बारेमा इलाका प्रहरी कार्यालय बनेपाले आइतबारदेखि सचेतना जगाउने र मास्क वितरण कार्यक्रम सुरु गरेको छ। समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विश्वभर फैलिँदै गएको कोरोना भाइरसका बारेमा जनचेतनामूलक कार्यक्रम सुरु गरेको प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिए। ‘प्रहरी र विभिन्न संघसंस्थाहरूको सहयोगमा बनेपाको धेरै चहलपहल हुने चारदोबाटो चोकमा डेस्क नै राखेर कोरोना भाइरसबाट बच्ने र बचाउने तरिकासहितको पर्चा र प्रत्येक व्यक्तिलाई एउटा मास्क वितरण गरेका छौं,’ उनले भने।

प्रहरीलाई बनेपा–१३, साँगास्थित क्लिन सिटी प्रालिले सर्जिकल डिस्पोजेबल मास्क निःशुल्क उपलब्ध गराएको हो। यस्तै, बनेपा हेल्थ केयर प्रालिले प्रहरीको डेस्कसँगै चिनीरोग र उच्च रक्तचाप परिक्षणको व्यवस्था गरेको छ। पहिलो दिन कोरोना भाइरस र अन्य रोगका बारेमा जानकारी लिन आउने व्यक्तिको उत्साह देखेर प्रहरी हेल्थ डेस्क नियमित सञ्चालन गर्ने योजना बनाएको प्रहरी निरीक्षक तिमल्सिनाको भनाइ छ। आइतबार मात्रै पाँच सय जनालाई जानकारीमूलक पर्चा र एक÷एक वटा मास्क वितरण गरेको उनले बताए। प्रहरीले सुरु गरेको हेल्थ डेस्कलाई नियमित सञ्चालन गर्नका लागि विभिन्न सरोकारवाला संस्थाहरूसँग छलफल पनि सुरु गरेको उनको भनाइ छ।

बनेपा प्रहरीलाई जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको विशेष सहयोग रहेको बताइएको छ। यस्तै हेल्थ डेस्क स्थापना गर्नका लागि स्वास्थ्य कार्यालय, धुलिखेल अस्पताललगायत अन्य विभिन्न संघसंस्था, अस्पतालहरूको पनि सहयोग गरहेको बताइएको छ। यसअघि काठमाडौं विश्वविद्यालय–धुलिखेल अस्पतालले पनि बहिरंग र इमर्जेन्सीका बिरामीलाई सचेतनामूलक जानकारी दिन सुरु गरेको छ। यस्तै कोरोना भाइरसको शंका लागेका बिरामीको उपचारका लागि पाँच वटा आइसोलेसन वार्ड र स्वास्थ्यकर्मीहरूलाई तयारी अवस्थामा राखिएको अस्पतालका प्रशासकीय निर्देशक डाक्टर रमेश माकजु जानकारी दिए।

अस्पतालमा आउने बिरामीमा कसैलाई कोरोना संक्रमण देखिएमा विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय मापदण्डअनुसारले व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको उनको भनाइ छ। अस्पतालले बिरामीको सहज उपचार र अन्य व्यवस्थापनका लागि भिभिन्न समिति गठन गरेर तयारी तथा व्यवस्थापन गरेको निर्दशक डाक्टर माकजुले बताए। सोही समितिले बिरामीको हेरचाह र उपचारमा समन्वय गर्ने उनको भनाइ छ।

प्रकाशित: ३ चैत्र २०७६ ०३:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App