८ वैशाख २०८१ शनिबार
खेल

झापालाई काँकडभिट्टा गोल्डकप

झापा- लामो समयको उपाधिविहीन यात्रा अन्त्य गर्दै  रमपम झापा– ११ मेची नेत्रालय काँकडभिट्टा गोल्डकप फुटबल उपाधि जित्न सफल भएको छ। घरेलु मैदानमा शनिबार विभागीय टोली सशस्त्र प्रहरीको एपिएफविरुद्ध ३–० को प्रभावशाली विजय हासिल गर्दै झापाले उपाधि हात पार्दा सशस्त्रको टोली भने महिना दिनभित्रै उपाधि ह्याटि्रक गर्ने अवसरबाट चुकेको छ। खेलको अन्तिम १५ मिनेटसम्म अत्यन्त प्रतिस्पर्धात्मक रहेको खेलमा एपिएफका लागि टोप विष्टको आत्मघाती गोल अन्ततः टोलीको हातबाट उपाधि खोसिने 'टर्निङ प्वाइन्ट' बन्यो। निर्णायक भिडन्तमा आत्मघाती गोलको उपहार झापाका लागि भने गोल थप्न प्रेरणादायक साबित भयो र झापाले त्यसलाई प्रभावशाली जितमा बदल्यो।

महिना दिनअघि मात्र सुरुं्गा गोल्डकपको पहिलो भेटमै एपिएफको हातबाट भोगेको पराजयको बदला लिँदै झापाले ४ लाख नगदसहित उपाधि हात पार्‍यो। सुरुंगा गोल्डकपलगत्तै सातौं राष्ट्रिय खेलकुदको पनि विजेता बनेको एपिएफ काँकडभिट्टामा उपविजेता बन्दै २ लाख रुपैयाँमा चित्त बुझाउन बाध्य भयो। जितसँगै झापाले एपिएफविरुद्ध निर्णायक खेलमा जितको निरन्तरता कायम राखेको छ। अघिल्लो सिजन इलामको माइभ्याली गोल्डकपमा पनि झापाले एपिएफलाई नै फाइनलमा २–० ले हराएको थियो। यो जीतलाई झापा व्यवस्थापनले 'टोलीको उत्कृष्ट पुनरागमन'का रुपमा लिएको छ।

फाइनल भिडन्तमा दुवै टोली आक्रामक प्रदर्शन गरे पनि ७६ मिनेटसम्म गोलरहित बराबरी खेलेका थिए। दुवै टोलीले गोलका अवसर खेर फालेका थिए। ७७ औं मिनेटमा एपिएफका टोप विष्टको गल्ती खेलको पासा पल्टाउने कारक बन्यो। झापाका विशाल राईले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार जोगाउन खोज्दा टोपले आफ्नै पोस्टमा आत्मघाती गोल गर्न पुगेका थिए। प्रशिक्षक रत्नकाजी महर्जन खेलको टर्निङ प्वाइन्ट त्यसैलाई मान्छन्। 'अन्तिमतिर १–० ले पछि पर्दा हामीमाथि झन् आक्रामक बन्नुपर्ने दबाब आयो', उनले भने 'हामी आक्रामक बन्दा काउन्टर अट्याकमा थप दुई गोल भयो।'

खेलको ९० औं  मिनेटमा झापाका लागि कर्ण लिम्बुले गोल गर्दै अग्रता दोब्बर पार्दा एपिएफ खेल गुमाउने अवस्थामा पुगिसकेको थियो। कप्तान योगेश गुरुङले मध्यभागबाट एक्लै बल अघि बढाएर बनाएको आकर्षक मुभमा दोस्रो गोल सम्भव भएको थियो। योगेशले रञ्जित श्रेष्ठलाई निकालिदिएको बल एपिएफका खेलाडीले 'अफ साइड' ठान्दै छाडेका थिए। त्यहीबेला अघि बढेर कर्णले गोल गरे। ४ मिनेटको इन्जुरी टाइमको अन्तिमतिर कर्णले नै अर्को गोल थपेर टोलीलाई सहज जित दिलाए। एपिएफका डिफेन्डर रमेश दंगालले गोलरक्षक राजु योगीलाई दिएको पास कमजोर हुँदा कर्णले बल भेटे र विपक्षी पोस्टमा टोलीका लागि तेस्रो र व्यक्तिगत दोस्रो गोल गर्न सफल भए। झापाली प्रशिक्षक सञ्जय राईले टोली सम्हालेपछिको पहिलो उपाधि जितेपछि भने, 'उपाधि खडेरी अन्त्य भएको छ। अब झापा गोल्डकपमा यसलाई निरन्तरता दिन चाहन्छौं।' उनले टिमवर्कका कारण जित सम्भव भएको पनि बताए।

झापाको धारिलो अग्रपंक्ति र एपिएफको बलियो रक्षापंक्तिको लडाइँ आकर्षक रह्यो। झापाले एपिएफको पोस्टमा धेरै आक्रमण गरेको थियो। पहिलो हाफमा गोल गर्ने तीन सुन्दर मौका झापाले गुमाएको थियो। आठौं मिनेटमा विशाल राईले, ११ औं मिनेटमा विशालकै एरियल पासमा योगेश गोल गर्न चुकेका थिए। १४ औं मिनेटमा विशालको प्रहार विपक्षी गोलरक्षक राजु योगीलाई लागेर रिबाउन्ड भयो, कर्णले प्रहार गर्दा फेरि रिबाउन्ड भयो। कर्णले दोहोर्‍याएर गरेको प्रहार बाहिरियो। झापाको पोस्टमा धेरै आक्रमण गर्न नसकेको एपिएफले पहिलो हाफको इन्जुरी समयमा गोल गर्ने सुन्दर अवसर गुमायो। आदित्य चौधरीले प्रहार गरेको शक्तिशाली फ्रिकिक झापाको क्रस बारमा लागेर फर्केको थियो। दोस्रो हाफमा झापाका कर्णले वन भर्सेज वनको एउटा मौका गुमाए भने एपिएफका श्याम नेपाली, रामकुमार कुमालले पनि अवसर खेर फालेका थिए। एपिएफका लागि अञ्जन र रञ्जन विष्ट, राजेन्द्र रावलको अभाव खट्कियो।

प्रतियोगितामा झापाका कप्तान योगेश गुरुङ उत्कृष्ट खेलाडी घोषित भएका छन्। उनले २५ हजार रुपैयाँ नगद पुरस्कार पाए। प्रतियोगितामा सर्वाधिक ५ गोल गरेका झापाकै कर्ण लिम्बू उच्च गोलकर्ता बन्दै १५ हजार रुपैयाँ प्राप्त गर्न सफल भए। उत्कृष्ट गोलरक्षक चुनिएका एपिएफका राजु योगीले १० हजार रुपैयाँ नगद प्राप्त गरे। फाइनलका म्यान अफ दि म्याच झापाका विशाल राईले ५ हजार रुपैयाँ नगद प्राप्त गरे।  उनीहरूलाई सांसद उषा गुरुङ, मेचीनगरका कार्यकारी अधिकृत पशुपति खतिवडालगायतले पुरस्कार प्रदान गरेका थिए।

प्रकाशित: २४ पुस २०७३ ०३:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App