coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

अस्ट्रेलियाको क्लिन स्विप

सिड्नी- अस्ट्रेलियाले तेस्रो टेस्टमा शनिबार पाकिस्तानमाथि २ सय २० रनको सानदार जित हात पार्दै तीन टेस्टको शंृखला क्लिन स्विप गरेको छ। तेस्रो तथा अन्तिम टेस्टको पाँचौं दिन जितका लागि ४ सय ६५ रनको लक्ष्य पछ्याएको भ्रमणकारी टोली चिया सत्रअगाडि २ सय ४४ रनमा अलआउट भएको थियो। घरेलु टोलीका तीव्र गतिका बलर जोस हेजलउड र स्पिनर स्टिभ ओ‘केफीले समान ३/३ विकेट लिए।

अन्तिम टेस्ट बराबरी गर्दै क्लिन स्विप टार्ने दाउमा रहेको पाकिस्तानी योजना उसका भेट्रान ब्याट्सम्यान युनिस खान र शंृखलामा टोलीबाट सर्वाधिक रन जोडेका अजहर अली पवेलियन फर्किएपछि तुहिएको थियो।

विकेटकिपर ब्याट्सम्यान सरफराज अहमदले ७० बलमा अविजित ७२ रन जोड्दै भ्रमणकारी टोलीको इनिङ सम्हाल्न खोजे पनि अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। उनले ८ चौका र १ छक्का प्रहार गरे।

शंृखला क्लिन स्विप गरेको घरेलु टोलीले यसअघि गाबामा सम्पन्न पहिलो टेस्ट ३९ रन तथा मेलबर्नमा सम्पन्न दोस्रो टेस्ट एक इनिङ र १८ रनले जितेको थियो।

पाकिस्तानले अस्ट्रेलियामा भोगेको यो लगातार १२ आंै टेस्ट पराजय हो। यसपूर्व अन्तिम पटक पाकिस्तानले २२ वर्षअघि सिड्नी टेस्टमा जित हात पारेको थियो।

आक्रामक ब्याटिङ गरेका वार्नर म्यान अफ दि म्याच भए। उनले पहिलो इनिङमा १ सय १३ तथा दोस्रो इनिङमा २७ बलमा ५५ रन जोडेका थिए। त्यस्तै घरेलु टोलीका कप्तान स्टिभ स्मिथ म्यान अफ सिरिज भए। उनले शंृखलामा ११०.२५ को औसतमा ४ सय ४१ रन प्रहार गरे।

‘मलाई टोलीले विगत केही सातामा गरेको प्रदर्शनमा गर्व छ,’ स्मिथले भने, ‘मेरो विचारमा वार्नरलाई अन्य तरिका थाहा छैन र उनले पहिलो र दोस्रो इनिङमा गरेको आक्रामक ब्याटिङले जितको आधार खडा गरे।’

पाकिस्तानका कप्तान मिसबाह उल हकले आफ्नो टोली मेलबर्नमा सम्पन्न दोस्रो टेस्टमा भोगेको इनिङ हारबाट माथि उठ्न नसकेको बताए।

‘एमसिजीको अन्तिम दिन भ्रमणकै धेरै निराशाजनक दिन बन्यो। यसबाट हाम्रो आत्मसम्मान घट्यो र हामी माथि उठ्न सकेनौं,’ मिसबाहले भने।

सन् २००६ मा अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्ध २ विकेटको क्षतिमा भेट्टाएको २ सय ८८ रनको विजयी लक्ष्य सिड्नी क्रिक्रेट मैदानमा चौथो इनिङमा पूरा गरेको सर्वाधिक रनको लक्ष्य हो।

शनिबार ५५–१ बाट अन्तिम दिनको खेल सुरु गरेको भ्रमणकारी टोलीले पहिलो सेसनमा ४ विकेट गुमाएको थियो। अघिल्लो दिन ११ रनमा अविजित रहेका अली अन्तिम दिन ६ बल खेल्दै हेजलउडको बलमा उनलाई नै क्याच दिन पुगेका थिए। उनले शंृखलामा भ्रमणकारी टोलीबाट सर्वाधिक रन जोड्ने खेलाडी बन्ने क्रममा ८१.२० को औसतमा ४ सय ६ रन जोडे।

त्यस्तै बाबर आजम पनि हेजलउडको अर्को ओभरमा एलबिडब्लुको सिकार भए। ९ रन जोडेका उनले शंृखलाका ६ इनिङमा ६८ रन मात्र जोड्न सके।

१३ रन जोडेका युनिस टेस्ट क्रिक्रेटमा १० हजार रन पूरा गर्ने पहिलो पाकिस्तान खेलाडी बन्न चुके। उनले स्पिनर नाथन लियोनको बलमा हेजलउललाई क्याच लिन पुगेका थिए। यसअघि उनले पहिलो इनिङमा अविजित १ सय ७५ मा रहँदै आफ्नो ३४ औं शतक पूरा गरेका थिए।

यासिर शाह १३ रन जोड्दा लेग स्पिनर केफीको बलमा ज्याकसन बर्डलाई क्याच दिन पुगेका थिए।

त्यस्तै ३० रन जोडेका असद साफिकलाई मिचेल स्टार्कले बोल्ड गरे भने ३८ रन जोडेका मिसबाह केफीको बलमा लियोनबाट क्याच भए। यो नै यस शंृखलामा उनले जोडेको सर्वाधिक रन हो।

९ बल खेलेका वहाब रियाज १२ रनमा केफीको बलमा विकेटकिपर म्याथ्यु वेडबाट क्याच आउट भए। उनले ३ चौका प्रहार गरेका थिए। मोहम्मद आमिरलाई ५ रनमा रनआउट गर्दै केफीले घरेलु टोलीलाई जितनजिक पुर्‍याएका थिए।

हेजलउडले इमरान खानलाई शून्यमा बोल्ड गर्दै अस्ट्रेलियाको जित पक्का गरेका थिए।अस्ट्रेलियाले आगामी महिना ४ टेस्टको शंृखला खेल्न भारत भ्रमण गर्दैछ भने पाकिस्तानले अप्रिलमा ४ टेस्टको शंृखलाका लागि वेस्ट इन्डिज भ्रमण गर्नेछ।

प्रकाशित: २४ पुस २०७३ ०३:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App