coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मुस्ताङमा हावाहुरीसहित हिमपात, जनजीवन प्रभावित

शनिबार रातिदेखि आइतबार बिहानसम्म हिमपात भएपछिको मुस्ताङ। तस्बिर: नागरिक

पोखरा – जाडोयाम सकिने बेला मुस्ताङमा बाक्लो हिमपात भएको छ। हिमपातपछि यातायात, विद्युत् र सञ्चारसेवासमेत प्रभावित भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले बताए। शनिबार बेलुकीदेखि सुरु भएको हिमपात आइतबार बिहान मात्र रोकिएको थियो। रातभर हिउँ पर्दा सदरमुकाम जोमसोम र आसपासमा बाक्लो हिउँ जमेको थियो।

प्रजिअ अर्यालका अनुसार सदरमुकाम जोमसोममा डेढ र अन्यत्र तीन फिट बाक्लो हिउँ जमेको थियो। बाक्लो हिउँले गर्दा सडक र हवाई यातायात पुरै अवरुद्ध भएको प्रजिअ अर्यालले बताए। सदरमुकाम जोमसोम क्षेत्रभन्दा तलको भागमा भने मध्याह्नपछि यातायात सुचारु भएको उनले बताए। ‘करिब डेढ दर्जन पोल ढल्दा विद्युत् अवरुद्ध भएको छ,’ उनले भने। आइतबार बिहानैदेखि विद्युत्का पोल ठड्याउने काम भइरहेको छ। विमानस्थलको धावनमार्गमा हिउँ जमेकाले आइतबार हवाई सेवासमेत अवरुद्ध भयो। उनका अनुसार हिउँ पग्लँदा सवारीसाधन गुड्नसमेत समस्या परेको छ। आइतबार घाम लागेकाले दिउँसो भने सञ्चारसेवा केहीबेर सञ्चालनमा आएको थियो।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का जोमसोमस्थित संरक्षण अधिकृत तुलसी दाहालका अनुसार शनिबार राति उपल्लो मुस्ताङमा अन्यत्रभन्दा बाक्लो हिमपात भएको, तीव्रगतिमा हावा चलेको थियो। सदरमुकाम जोमसोमभन्दा तल्लो भेगमा सवारी सञ्चालन हुने अवस्था रहे पनि माथिल्लो भागमा भने हिउँ नपग्लिएसम्म आउजाउ सम्भव नरहेको उनले बताए। ‘कोरोना भाइरसको त्रासका कारण योबेला विदेशी पर्यटक आएका छैनन्। बाक्लो हिमपात भएकाले थोराङला भन्ज्याङ पार नगर्न पनि पर्यटकलाई सुझाव दिएका छौं,’ उनले भने, ‘लोमान्थाङ क्षेत्रमा भने अधिक नै हिमपात भएको छ। माथिल्लो भेगमा तत्काल आउजाउ गर्न पनि कठिनाइ छ।’

लो घेकर दामोदरकुण्ड गाउँपालिकाका प्रशासकीय अधिकृत मनोहर ढुंगानाले रातभर हिउँ पर्दा बिहान आसपासका डाँडाकाँडा सेताम्य भएको बताए। हिउँ परेपछि किसान खुसी भएको उनले बताए। जाडो छल्न पोखरा, काठमाडौंलगायत सहर झरेका माथिल्लो भेगका बासिन्दा यो बेला गाउँ फर्किन क्रममा रहे पनि हिमपातका कारण आउजाउमा कठिनाइ सिर्जना भएको ढुंगानाले बताए।

प्रकाशित: ३ चैत्र २०७६ ०२:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App