८ वैशाख २०८१ शनिबार
राजनीति

विभाग गठन गर्न देउवाको गृहकार्य

काठमाडौं- नेपाली कांग्रेसको १३औं महाधिवेशन भएको नौ महिनापछि सभापति शेरबहादुर देउवाले पार्टीका विभाग गठनको गृहकार्य सुरु गरेका छन्। केही दिनभित्रै विभाग गठनलाई पूर्णता दिने तयारीका साथ देउवाले पार्टीका नेताहरूसँग छलफल अघि बढाएका छन्। महाधिवेशनको दुई महिनाभित्रै विभाग गठन हुनुपर्थ्यो।

सभापति देउवाले पार्टीभित्रका गुटउपगुटको सन्तुलन मिलाउँदै विभाग र कार्यसम्पादन समिति गठन गर्ने भएका छन्। देउवा निकट केन्द्रीय सदस्य मीन विकले विभाग र कार्यसम्पादन समिति गठनको गृहकार्य भइरहेको जानकारी दिए। पदाधिकारी, विभागसहित सबै निकायलाई एकैसाथ पूर्णता दिने प्रयास भए पनि तत्काल त्यस्तो सम्भव नरहेको जनाउँदै विकले भने, 'दुईतीन दिनभित्र विभाग र कार्यसम्पादन समिति गठन हुन्छ।' कार्यसम्पादन समिति र विभाग गठनपछि मात्र पदाधिकारी र अन्य निकायलाई पूर्णता दिइने उनले बताए।

नेता रामचन्द्र पौडेल पक्षले भने पदाधिकारी, केन्द्रीय समिति र संसदीय समितिलाई पूर्णता दिएर मात्र विभाग गठन गर्नुपर्ने अडान राखेको छ। सभापति देउवाले कार्यसम्पादन समिति र विभाग गठन गरेर अघि बढ्ने प्रस्ताव गरेपछि पौडेल निकट नेताहरूको बिहीबार अनामनगरमा बसेको बैठकले विभागभन्दा पहिला पदाधिकारी र अन्य निकायलाई पूर्णता दिनुपर्ने निष्कर्ष निकालेको हो।

पौडेल निकट केन्द्रीय सदस्य रामकृष्ण यादवले पार्टी विधानअनुसार पदाधिकारी र अन्य निकाय गठनमा ढिलाइ भइसकेको औंल्याउँदै सबै निकायलाई छिटो पूर्णता दिनुपर्ने बताए। 'विभागमात्र होइन, कार्यसम्पादन, पदाधिकारी, संसदीय समिति र केन्द्रीय समितिलाई पनि पूर्णता दिनुपर्छ,' उनले भने।

पौडेल पक्षको बैठक बस्नुअघि नेता रामशरण महत र मीनेन्द्र रिजालले सभापति देउवालाई भेटेका थिए। नेता पौडेलले पुस १९ गते सभापति देउवालाई उनकै निवासमा भेटी पार्टी संगठनका साथै सरकारी नियुक्तका विषयमा छलफल गरेका थिए।

आधा दर्जनभन्दा बढी समूह र निकटकालाई पनि मिलाउन नसक्दा देउवाले नेतृत्व सम्हालेको नौ महिनासम्म सबै निकाय रिक्त छन्। उपसभापति, महामन्त्री, सहमहामन्त्री मनोनयनसहित संसदीय समिति, केन्द्रीय कार्यसम्पादन, विभाग, ज्येष्ठ राजनीतिज्ञ सभासहितका समिति गठन प्रक्रियाले पूर्णता पाउन सकेको छैन।

विधानको धारा ४९ उपधारा १९ मा महाधिवेशन सकिएको दुई महिनाभित्र सबै तहका समिति गठन गरिसक्नुपर्ने व्यवस्था छ। देउवा फागुन २४ गते सभापति निर्वाचित भएका हुन्।

प्रकाशित: २४ पुस २०७३ ०२:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App