coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

सीमांकन हेरफेर प्रदेशसभालाई छोडौं : महत

डडेलधुरा- नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले सबै मुद्दाको छलफल गर्ने र उपयुक्त निकास दिने थलो संसद्लाई एमालले बन्दी बनाएको आरोप लगाएका छन्। उनले सहमतिका लागि पनि तत्काल संसद् खोल्नुपर्नेमा जोड दिए।

पार्टी कामको सिलसिलामा डडेलधुरा आएका नेता महतले हिउँदे अधिवेशन सुरु हुने बेलामा बर्से अधिवेशन नै नसकिएको उल्लेख गर्दै एमालेले संसद् सुचारु गर्न सहयोग गर्नुपर्ने र चित्त नबुझेका विषयलाई छलफल, बहस र संसदीय प्रक्रियाअनुरुप निकास दिनुपर्ने बताए।

संविधान संशोधन प्रस्तावलाई प्रक्रियामा लैजान दिनुपर्नेमा जोड दिँदै उनले सीमांकन हेरफेरको विषयलाई सम्बन्धित प्रदेशको अधिकार क्षेत्र भनी संविधानमा स्पष्ट उल्लेख भएकाले यो प्रदेशसभालाई नै छोडिदिनुपर्ने बताए। उनको भनाइ थियो, 'केन्द्रलाई हस्तक्षेप गर्ने अधिकार छैन। स्थानीय जनताले जे चाहन्छन् त्यही नै लोकतान्त्रिक विधि हो।

उनले अहिलेको अवस्थामा पुरानै संरचनाअनुसार स्थानीय निकायको चुनाव गर्नुपर्नेमा जोड दिँदै भने, 'नयाँ संरचनाअनुरुप चुनाव गर्न प्रशासनिक तथा भौतिक पूर्वाधार हामीसँग तत्काललाई छैन।' यही उपाय नै उपयुक्त हुने उल्लेख गर्दै उनले थपेे, 'संविधानले निर्देशन गरेअनुरुप चुनाव गर्नैपर्नेछ। समय अत्यन्तै कम भएकाले अब ढिला गरे अझ खतरनाक स्थिति उत्पन्न हुनसक्नेछ।'

महतले २०४६ सालको राजनीतिक परिवर्तनपछि कांग्रेसले लिएको आर्थिक नीतिलाई नै सबैले पछ्याउन थालेको पनि बताए। कार्यकर्तालाई उनले भने, 'तपाईंहरू कांग्रेसले विगतमा गरेका काममा गौरव गर्नुहोस्, जनतालाई भन्नुहोस्, आर्थिक प्रगति दिने, आर्थिक उन्नतिको बाटोमा लैजाने, संविधान दिने र सम्पूर्ण जनतालाई समान अधिकार दिने पार्टी कांग्रेस नै हो।'

गाउँगाउँमा शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, बिजुली बत्ती पुर्‍याउने पनि कांग्रेस भएको उल्लेख गर्दै महतले जनताको असली अभिभावकलाई जनताले चिनेर ठूलो पार्टी बनाएको बताए। महतका अनुसार कांग्रेस पार्टीका नेता तथा कार्यकर्ताले आफूले गरेका यस्ता उपलब्धिलाई जनतासमक्ष स्पष्टरुपमा लैजान नसकेको पनि उल्लेख गरे।  उनको भनाइ थियो, 'अब मुलुक आर्थिक प्रगतिको बाटोमा जानुपर्छ, भाषणबाजीभन्दा काम गर्ने परिपाटीको विकास हुनुपर्छ। यही पुस्ताले विश्वका जनताले उपभोग गरेका आधुनिक सुखसुविधाको उपभोग गर्न पाउनुपर्छ।'

चारदिने सुदूरपश्चिमी जिल्लाको भ्रमणमा आएका महतले मुलुकको विकासलाई स्पष्ट दिशाबोध गर्न सक्ने पार्टी कांग्रेस भएकाले जनताको घरघरमा पुगेर संगठन सुदृढीकरण गर्न कार्यकर्तालाई निर्देशन दिए। उनले भने, 'विपक्षीले हामीलाई कमजोर बनाउन सक्दैनन्, हामी आफैं कमजोर भएका हौं। पार्टीमा प्रणालीले काम गर्ने व्यवस्था भएमा आन्तरिक विवाद स्वत हटेर जानेछन र पार्टी सशक्त हुनेछ।'

डडेलधुराका पार्टी सभापति कर्णबहादुर मल्लको सभापतित्वमा सञ्चालित कार्यकर्ता भेटघाटमा सांसद भरत खड्का, चन्द्रा जोशी, रामकृष्ण यादवलगायतले समसामयिक विषयमा  धारणा राखेका थिए।

प्रकाशित: २४ पुस २०७३ ०२:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App