८ वैशाख २०८१ शनिबार
अर्थ

निःशुल्क स्वास्थ्य बीमाको योजना लिएर मजदुर खोज्दै मेयर

गिट्टी कुट्ने मजदुरलाई खोला किनारमै पुगेर निःशुल्क स्वास्थ्य बीमा बुझाउदै मेयर खड्गबहादुर खत्री । तस्बिर :अनिल/नागरिक

सिन्धुली- तपाईले स्वास्थ्य बीमा गर्नुभयो त? अनि कस्तो छ तपाईलाई सन्चै हुनुहुन्छ? यहि प्रश्न गर्दै खोलाको बगरमा गिट्टी कुटेर जिविका चलाउदै आएका श्रमिकमाझ मेयर पुगे। यहाँको कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्री खोला खोलामा श्रमिक खोज्दै स्वास्थ्य बीमाको जानकारी दिँदै हिड्दा श्रमिक खुसी थिए।

नेपाल सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रममा श्रमिकका लागि कमलामाई नगरपालिकाले निःशुल्क गर्ने योजना अगाडी सारेको छ। योजना मात्रै नभएर नगरपालिकासम्म पुग्ने पहुँच नहुने श्रमिकलाई उनीहरुकैै स्थानमा पुगेर बीमा गरिदिने तथा बीमा कार्यक्रम बुझाउदै मेयर हिडेका हुन्। यहाँको ग्वाङ खोलाको तिरमा गिट्टी कुटेर जिविका चलाउदै आएका अधिकांश मजदुरलाई अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसका दिन स्वास्थ्य बीमा बुझाउन मेयर आफै खोलाको किनारमा पुगेका हुन्।

नगरपालिकाले श्रमिक मजदुरलाई निःशुल्क स्वास्थ्य बीमा ल्याएको छ, श्रम गर्दा स्वास्थ्यमा धेरै समस्या आएका होलान्,  यसको लाभ लिएर निःशुल्क उपचार गर्नुस्, मेयर खड्गबहादुर खत्रीले श्रमिक दिलकुमारी विकलाई सुनाउदा उनी पनि दङग परिन्। मेयर माझ भनिन्, गिट्टी कुट्दा कुट्दै पाखुरा दुखेका छन्, अस्ति औला किच्यो, उपचार गर्न पैसा छैन, निःशुल्क उपचार पाए राम्रो हुन्थ्यो।

मजदुर स्वास्थ्य बीमा कार्यक्रम ल्याएका छौ, उनले नागरिकसँग भने, जसअन्र्तगत ३५ हजार रुपैयाँको निःशुल्क स्वास्थ्य बिमा नगरपालिकाले गरिदिन्छ र एक लाखसम्मको उपचार निःशुल्क हुन्छ। उनले जिल्लाभर हालसम्म सत्र सय बढी मजदुरको निःशुल्क बीमा गरिसकिएको र गिट्टी कुट्ने मजदुरलाई खोलामै पुगेर स्वास्थ्य बीमा कार्ड उपलब्ध गराएको जानकारी दिए। उनले मजदुरका छोराछोरीलाई शिक्षाका लागि समेत नगरपालिकाले सहयोग उपलब्ध गराउदै आएका जानकारी दिए।

मजदुर खोज्दै मेयर खोलामा पुगेपछि श्रमिकहरु खुसी देखिन्थे। अहिलेसम्म यस्तो बीमा गर्ने कार्यक्रम छ भन्दै खोलाको किनारमा हामी काम गर्दै गरेको स्थानमा कोहि आएको थिएन, मेयर साब आउनु भयो, हामी खुसी छौ, गिट्टी कुट्दै गरेकी मजदुर ६० वर्षिया टंकमायाले भनिन्, बुढेशकालमा उपचार निःशुल्क हुन्छ भन्दा खुसी लागेको छ। वर्षौदेखि गिट्टी कुटेर जिविको चलाउदै आएका मजदुरको हातमा निःशुल्क स्वास्थ्य बीमाको कार्ड पर्दा हर्षित भए। श्रमिकका छोराछोरीले पढ्न नसकेर वा स्कुल भर्ना भएर पनि ड्रेस झोला किताब जस्ता समस्याका कारण पढ्न नसकेका बालबालिकालाई नगरपालिकाले पढाउने व्यवस्था मिलाउने छ, मेयर खत्रीले भने, स्वास्थ्य बीमाबाट लाभन्वित भई निःशुल्क उपचारको व्यवस्था समेत मिलाएका हौ।

मजदुरहरुले आफूहरुलाई रोजगारीको समेत व्यवस्था गरिदिए गिट्टी कुट्ने कामबाट टाढिन सक्ने बताउदै आफुहरुलाई दैनिक खान पुग्ने पारिश्रमिक हुने जागिर मिलाइ दिन आग्रह गरे।

 

प्रकाशित: १ चैत्र २०७६ ०९:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App