coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

बन्ध्याकरणमा ऊर्जाको भ्रम

विपरीत लिंगी यौन जाेडीबीच यौन सम्पर्क भएको खण्डमा गर्भ नरहोस् भन्ने उद्देश्यले स्थायी बन्ध्याकरण गर्न सकिन्छ । स्थायी बन्ध्याकरण गर्भ नरहने भरपर्दो उपाय भए पनि बन्ध्याकरणप्रति मानिसको भ्रम भने कायम रहेको चिकित्सक बताउँछन् ।

चिकित्सकका अनुसार नेपालमा स्थायी किसिमको बन्ध्याकरण गर्दा व्यक्ति शारीरिकरुपमा कमजोर हुने भ्रम छ । तर चिकित्सक भने यस्तो सोचाइ भ्रम मात्रै भएको बताउँछन् । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीका प्रमुख कन्सल्टेन्ट प्रसूति तथा स्त्रीरोग विशेषज्ञ प्राडा. गेहनाथ बरालले स्थायी बन्ध्याकरण गर्दैमा व्यक्ति शारीरिकरुपमा कमजोर नहुने प्रस्ट्याए । डा. बरालले भने, ‘यो मानसिकरुपमा उब्जिएको भ्रम मात्रै हो । शारीरिक रुपमा व्यक्तिको ऊर्जा कम हुँदैन ।’ चिकित्सकका अनुसार स्थायी बन्ध्याकरण गर्दैमा शारीरिकरुपमा ऊर्जा कम हुँदैन ।

त्यसो त डा. दिनेश बाँस्तोला पनि बन्ध्याकरण गर्दैमा शारीरिक ऊर्जा कम नहुने बताउँछन् । डा. बाँस्तोलाका अनुसार उमेर पाको हुँदै गएको अवस्थामा व्यक्ति प्राकृतिकरुपमै शिथिल हुँदै जान्छ । जसका कारण उमेर पाको हुँदै गएको अवस्थामा यौन क्रियाकलाप तथा यौन सम्पर्क कम हुँदै जानु स्वाभाविक हो । सामान्यतः बन्ध्याकरण वयस्क चरण पार गर्दै गरेका व्यक्तिले गरेको पाइन्छ ।

तर व्यक्ति उमेर पाको हुँदै जाँदा शारीरिकरुपमा शिथिल भएको अनुभूति बिर्सन्छ । व्यक्तिले वयस्क उमेरको जस्तै शारीरिक तथा मानसिक क्रियाकलाप गर्न खोज्छ । यौनको मामलामा पनि यो लागू हुने डा. बाँस्तोला बताउँछन् । ‘जवानीमा जस्तो पाको उमेरमा यौन क्रियाकलाप गर्न नसक्नु स्वाभाविकै हो,’ डा. बाँस्तोलाले भने, ‘तर स्थायी बन्ध्याकरण गर्दैमा यौनको ऊर्जा कम हुन्न ।’ बन्ध्याकरणले यौन जीवनमा कुनै असर नगर्ने उनी बताउँछन् । यस्तो भ्रम मात्रै भएकोप्रति चिकित्सकको एक मत छ ।

भीम अस्पताल भैरहवाका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. नवीन दर्नाल पनि स्थायी बन्ध्याकरण गर्दैमा व्यक्तिको शारीरिक क्षमता कमजोर नहुने बताउँछन् । व्यक्तिको शारीरिक क्षमता कमजोर हुने भ्रमका कारण नेपालमा पुरुषको तुलनामा महिलाले नै बढी बन्ध्याकरण गर्ने प्रवृत्ति देखिएको डा. दर्नालको तर्क छ । डा. दर्नाल भन्छन्, ‘बन्ध्याकरण गरेर न त शारीरिक क्षमता कमजोर हुन्छ, न यौन क्षमता नै कमजोर हुन्छ ।’

यौन ऊर्जाको भ्रम
डा. बाँस्तोलाका अनुसार स्थायी बन्ध्याकरणले महिला र पुरुष दुवैको यौन जीवनमा कुनै असर पर्दैन । पुरुषको हकमा शुक्रकिट मात्रै स्खलन नहुने भएकाले यौन उत्तेजना तथा यौन चाहना र वीर्य स्खलनमा असर नपर्ने चिकित्सक बताउँछन् । डा. दर्नालले भने, ‘स्थायी बन्ध्याकरण यौन उत्तेजना, चाहनासँग सम्बन्धित हुन्न,’ डा. दर्नालले भने, ‘हर्मनका कारण यौन उत्तेजना र चाहना हुन्छ ।तर स्थायी बन्ध्याकरण हर्मनसँग सम्बन्धित छैन ।’

चिकित्सकका अनुसार सामाजिक अफवाहका कारण कुनै गह्रौँ तथा गाह्रो काम गर्न सकिँदैन भन्ने भ्रमका कारण महिलाले नै बढी स्थायी बन्ध्याकरण गर्छन् । प्रसूति रोग विशेषज्ञ डा. बरालले भने, ‘मैले दुई हजार व्यक्तिको बन्ध्याकरण गर्दा पाँच सयजना पुरुषले बन्ध्याकरण गरेका थिए । बाँकी महिला थिए ।’ यस्तो बन्ध्याकरण भने दक्ष चिकित्सकको सल्लाहमा गर्नुपर्ने उनको सुझाव छ ।

पुरुषको भास–नली छेदन
चिकित्सकका अनुसार महिला र पुरुष दुवैमा स्थायी बन्ध्याकरण गर्न सकिन्छ । नेपालमा स्थायी बन्ध्याकरण गर्ने प्रविधि भित्रिएका छन् ।

स्थायी बन्ध्याकरण शल्यक्रिया विधिद्वारा गरिन्छ ।  सल्यक्रिया गरी बन्ध्याकरण गरिने भएकाले स्थायी बन्ध्याकरण गर्नुलाई चिकित्सकीय भाषामा ‘सर्जिकल मेथड’ पनि भनिन्छ । पुरुष र महिलामा गरिने स्थायी बन्ध्याकरणलाई फरक–फरक नामले चिनिन्छ । पुरुषको स्थायी बन्ध्याकरणलाई ‘भासेक्टोमी’ अर्थात् पुरुष बन्ध्याकरण भनिन्छ ।

महिलाको तुलनामा पुरुषको स्थायी बन्ध्याकरण गर्न चिकित्सकीय दृष्टिकोणमा सहज विधि भएको डा. बाँस्तोलाको तर्क छ । पुरुषको बन्ध्याकरण गर्दा पेटको शल्यक्रिया गर्नु पर्दैन । बाहिरैबाट बन्ध्याकरण गर्न सकिन्छ । डा. दर्नालका अनुसार पुरुषको स्थायी बन्ध्याकरण गर्नुपर्दा भास–नली (शुक्रकिटको) नली छेदन गरिन्छ । अण्डाशय (टेस्टिकल) लिंगमा जाने नलीलाई भास–नली भनिन्छ । पुरुषको अण्डाशय र लिंगको बीचमा रहेको भास–नलीको छेदन गरेर बन्ध्याकरण गरिने भएकोले पुरुषमा गरिने स्थायी बन्ध्याकरणलाई ‘भासेक्टोमी’ भनिने चिकित्सक बताउँछन् ।

डा. बरालका अनुसार पुरुषको भासेक्टोमी पनि दुई किसिमका विधिले गरिन्छ । ‘चक्कु प्रयोग गरेर शल्यक्रिया गर्न सकिन्छ,’ प्रसूति रोग विशेषज्ञ डा. बराल भन्छन्, ‘चक्कु प्रयोग नगरी पनि शल्यक्रिया गर्न सकिन्छ ।’
चक्कुको प्रयोग गरिने शल्यक्रियालाई चिकित्सकीय भाषामा ‘स्काल्पेल’ भनिन्छ ।  चक्कुको प्रयोगविना गरिने शल्यक्रियालाई ‘ननस्काल्पेल’ भनिन्छ ।

‘स्कालपेल’ शल्यक्रिया विधिमा चिरेर सानो प्वाल पारेपछि भास–नली भेटिन्छ । भास–नली भेटिएपछि नलीको बीचमा छेदन गरिन्छ र छेदन गरिएको नलीको दुवैतर्फको टुप्पाको भाग विपरीत फर्काएर दोब्राएर बाँधिने डा. बाँस्तोला बताउँछन् ।

ननस्कालपेल विधिमा चुच्चो किसिमका औजारले सानो प्वाल पारेर शल्यक्रिया गर्न सकिने भएकाले आजकाल धेरैजसो ननस्कालपेल विधि अपनाइने गरेको चिकित्सक बताउँछन् । डा. बरालले भने, ‘भास–नली देखिएपछि औजारले बाहिर तानेर नलीको दुवैतर्फ बाँधेर  बीचमा काटिन्छ ।’ डा. बाँस्तोला पनि शुक्रकिट आउने भास–नलीको छेदन गरी दुवैतर्फ काटिएको भाग फर्काएर बाँधिने बताउँछन् ।

महिलामा प्रभावकारी विधि
महिलामा गरिने स्थायी बन्ध्याकरणलाई सामान्यतः ‘ट्युबेक्टोमी’ भनिन्छ । ट्युबेक्टोमी पनि दुई किसिमको विधिले गरिन्छ । ‘मिनिल्याब’(चिरेर) र प्वाल बनाएर गरिने बन्ध्याकरणलाई ‘ल्याप्रोस्कोपी’ भनिने चिकित्सक बताउँछन् । यी पेट चिरेर र पेटमा प्वाल बनाएर गरिने बन्ध्याकरण हुन् । यी विधि महिलाको बन्ध्याकरणका लागि प्रभावकारी विधि भएको डा. दर्नालले बताए ।

करिब दुई इन्च लम्बाईमा पेट चिरी बन्ध्याकरण गरिन्छ । पेट चिरेर डिम्बनली भेटिएपछि नलीको दुवैतर्फ बाँधेर नलीका बीचमा  छेदन गरिन्छ । यसरी पेट चिरेर नली छेदन गरी गरिने बन्ध्याकरणलाई चिकित्सकीय भाषामा ‘मिनिल्याप’ भनिन्छ ।

डा. दर्नाल शल्यक्रिया गरी मिनिल्याप विधिबाट स्थायी बन्ध्याकरण गर्न लामो समय नलाग्ने बताउँछन् । उनका अनुसार यस्तो बन्ध्याकरण करिब दस मिनेटमा सकिन्छ ।

‘ल्याप्रोस्कोपी’ विधिमा दुर्बिनको माध्यमबाट महिलाको पेटमा सानो प्वाल पारेर एक किसिमको क्यामेरा डिम्भ नलीसम्म पु¥याइन्छ । क्यामेरा सँगै शल्यक्रिया गर्ने औजार र रबर पठाइने डा. बराल बताउँछन् । डा. बरालले भने, ‘औजारको सहयोगमा रबरले नलीको दुवैतर्फको भाग बाँधेपछि नलीकोे बीचमा काटिन्छ ।’

यसरी दुर्बिनको सहायताले गरिने शल्यक्रियामा स्क्रिन राख्दा उपकरण धेरै आवश्यक पर्ने, अर्कोतर्फ आँखाले नै देख्न सकिने भएकाले ल्याप्रोस्कोपी विधि अपनाउँदा स्क्रिन नराखिने चिकित्सक बताउँछन् । करिब एक सेन्टिमिटर प्वाल पारेर गरिने यो विधिमा पाँच मिनेटमा बन्ध्याकरण गर्न सकिन्छ ।
    
वीर्यको स्खलन
पुरुषको शुक्रकिट र वीर्य फरक हुन् । शुक्रकिटको निशेचनले गर्भ रहन्छ । वीर्य त तरल पदार्थ हो । यस्तो तरल पदार्थमा शुक्रकिट हुन्छ । ‘पुरुषको भासेक्टोमी गरिसकेपछिको अवस्थामा पुरुषको लिंगबाट वीर्य स्खलन हुन्छ,’ डा. बाँस्तोलाले भने,‘तर शुक्रकिट स्खलन हुँदैन ।’

चिकित्सकका अनुसार शुक्रकिट स्खलन नहुने हुँदा भासेक्टोमी गरेको पुरुष र महिलाबीच यौन सम्पर्क भएको अवस्थामा गर्भ रहँदैन । यसले यौन सम्पर्कमा पनि कुनै असर नगर्ने चिकित्सक बताउँछन् ।

ढुक्क भए हुन्छ
सफल बन्ध्याकरणपछि सत प्रतिशत गर्भ नरहने चिकित्सक बताउँछन् । डा. बरालका अनुसार कतिपय अवस्थामा बन्ध्याकरण गर्दा शल्यक्रिया फेल पनि हुनसक्छ । त्यसैले बन्ध्याकरण गरिसकेपछि चिकित्सकको फलोअपमा जानुपर्ने हुन्छ । राम्रोसँग नली नबाँधिएको अवस्थामा नली फेरि जोडिन सक्ने भएकाले यस्तो समस्या हुन सक्नेतर्फ चिकित्सक सजग गराउँछन् ।

तर शल्यक्रिया असफल हुने सम्भावना एक प्रतिशतभन्दा कम हुने उनी बताउँछन् । नलीको बीच भागको दुवैतर्फ केही भाग खाली हुने गरी नली काटिने भएकाले शल्यक्रिया असफल हुने सम्भावना अत्यन्तै कम हुनेमा डा. बाँस्तोला पनि सहमत छन् ।

‘भासेक्टोमी’ गर्दा पुरुषको शुक्रकिट प्रवाह हुने नली नै बन्द हुने भएकाले भासेक्टोमी गरेको निश्चित समयपछि खुल्ला रुपमा यौन सम्पर्क गरे पनि गर्भ नरहने डा. दर्नालले बताए । महिलाको हकमा पनि यो लागु हुन्छ ।  डा. बाँस्तोलाले भने, ‘नली काटिएको भागभन्दा बाहिर महिलाको डिम्ब र पुरुषको शुक्रकिटको निष्कासन हुन्छ । पूर्णरुपमा निस्कन करिब तीन महिना लाग्ने चिकित्सक बताउँछन् । जुन कारणले भासेक्टोमी गरेका पुरुषले तीन महिनासम्म कण्डमको प्रयोग गर्नुपर्ने चिकित्सक बताउँछन् ।

‘दुवै अण्डाशयमा टेस्टिजमाथिबाट भास डिफरेन्स आएको हुन्छ र त्यो मुत्र नलीको फँेदमा जोडिन्छ,’ डा. बाँस्तोलाले भने, ‘वीर्य स्खलन हुँदा टेस्टिजबाट निस्किएको शुक्रकिट र वीर्यको मिश्रण भई भास डिफरेन्स हुँदै मुत्र नली हुँदै स्खलन हुन्छ ।’

चिकित्सकका अनुसार महिलाको स्थायी बन्ध्याकरण गर्दा डिम्बबाहिनी नलीलाई नै बन्द गरिने भएकाले नलीबाट आउने डिम्बाशय पनि रोकिन्छ । डा. दर्नालले भने, ‘शुक्रकिट र डिम्बाशयको भेट नहुँदा गर्भ रहँदैन ।’ गर्भ रहनका लागि आवश्यक डिम्बाशयको मुख भएर निस्कने बाटो नली हो । डिम्बाशयबाट डिम्ब निष्कासन भएर नली हुँदै पाठेघरसम्म पुग्छ । बन्ध्याकरण गरी यसमा अवरोध हुँदा गर्भ रहँदैन ।

चाहेमा फेरि बच्चा जन्माउन मिल्छ
स्थायी बन्ध्याकरण गरेपछि पुनः बच्चा जन्माउन मन लागेको खण्डमा सल्यक्रिया गरी सम्भव हुने चिकित्सक बताउँछन् । तर यसरी पुनः बच्चा जन्माउनका लागि दक्ष चिकित्सकले शल्यक्रिया गर्नुपर्ने चिकित्सकको सुझाव छ । चिकित्सकका अनुसार पहाडी र हिमाली क्षेत्रमा पुरुषले महिलाको तुलनामा बढी बन्ध्याकरण गरेको पाइन्छ । तराई क्षेत्रमा महिलाले बढी बन्ध्याकरण गरेको पाइन्छ । मनोविद् गोपाल ढकाल स्थायी बन्ध्याकरणका विभिन्न भ्रम हुने भएकाले मनोपरामर्शपछि बन्ध्याकरण गर्न उचित हुने सुझाउँछन् ।

खुल्ला यौनमा तीन महिना धैर्य
डा. दिनेश बाँस्तोला
पुरुषले भासेक्टोमी गरेको अवस्थामा यौन सम्पर्क गर्दा महिलाको रजश्वला नभएको अवस्थामा गर्भ रहने सम्भावना धेरै हुन्छ । पुरुषको भासेक्टोमी गरेको करिब तीन महिनासम्म यौन सम्पर्क गर्दा गर्भ बस्ने भए पनि प्रवाह भएको शुक्रकिट आउन छाडेपछि गर्भ रहँदैन ।

बन्ध्याकरण गरेकै कारण यौन दुर्बलता हुन्न । तर जवानीको जस्तो यौन उत्तेजना भने हुन्न । पुरुषको बन्ध्याकरण गरिसकेपछि शुक्रकिट मात्रै स्खलन हुँदैन । वीर्य स्खलन हुन्छ । बन्ध्याकरणपश्चात शुक्रकिट भास डिपरेन्समै निष्कासन भए पनि निश्चित समयसम्म बाँचेर मर्छन् । शुक्रकिट निष्कासन भएको ७२ दिन बाँच्छन् । शरीरबाट निष्कासन भएका माइक्रोफेज कोषहरुले नै मृत्यु भएका शुक्रकिटलाई निल्ने भएकाले मृत शुक्रकिट भण्डारण भएर भास डिफरेन्समा बस्न पाउँदैनन् । यसको अर्थ वीर्य स्खलन हुँदा शुक्रकिट मात्रै आउँदैन । वीर्य भने स्खलन हुन्छ । दुवै टेस्टिजबाट शुक्रकिट निष्कासन भई दुवै भास डिफरेन्समा आउँछन् ।

तर महिलाको हकमा प्रत्येक रजश्वलाको १४ औं दिनमा भ्रुणाशयबाट एउटा वयस्क भ्रुण मात्रै निस्कन्छ । महिलाको भु्रण निस्किएको ७२ घण्टापछि बन्ध्याकरण गरेको महिलाको भु्रण डिम्भनलीमै मृत्यु हुन्छ । पाठेघरसम्म आउन पाउँदैन । तसर्थ महिलाको भु्रणाशयबाट भिन्न–भिन्न रजश्वलामा भिन्दै डिम्बाशयबाट डिम्ब निष्कासन हुन्छ । महिलाको हकमा पनि मृत डिम्ब माइक्रोफेज कोषले मिलेर खान्छन् । त्यसैले बन्ध्याकरण गर्दैमा दैनिक क्रियाकलापमा असर गर्दैन ।

मानिसका लागि साधारण भए पनि शल्यक्रिया शल्यक्रिया नै हो । यसले मानसिक तनाव निम्तन्छ । महिला–पुरुषबीच (यौनजोडीबीच) शंकाको दृष्टि हुन सक्छ । सबै समाजमा बन्ध्याकरण स्वतन्त्र छैन । लुकिछिपी गर्ने चलन बढिरहेको छ । नेपालको परिवेशमा पनि अहिले बन्ध्याकरण गर्नेको संख्या बढिरहेको छ ।

स्थायी बन्ध्याकरण यौन जोडीको सहमतिमा गर्दा राम्रो हुन्छ । डिम्बनलीको छेदन गर्नु महिलाको स्थायी बन्ध्याकरण हो । महिलाको बन्ध्याकरण गर्दा तल्लो पेटको दायाँ र बायाँतर्फ डिम्बनली छेदन गरिन्छ । महिलामा गरिने बन्ध्याकरणलाई , मिनिल्याप, ट्युबेक्टोमी वा ल्याप्रोस्कोपी भन्ने गरिन्छ । सानो सल्यक्रिया गरी डिम्बनलीको छेदन गरेर डिम्बनलीको काटिएको भागको दुवैतर्फको टुप्पो विपरीत दिशातिर बाँधिन्छ ।

महिलाको दुवैतर्फको पेट चिरी डिम्बनलीको छेदन गरिन्छ । त्यसैले महिला बन्ध्याकरणको तुलनामा पुरुषको बन्ध्याकरण गर्नु सजिलो र सेवाग्राहीलाई पनि सहज हुन्छ । तर महिलालाई अलि गाह्रो हुन्छ । तसर्थ संसारभरै महिला बन्ध्याकरणको तुलनामा पुरुष बन्ध्याकरण प्रख्यात छ ।

प्रकाशित: १ चैत्र २०७६ ०७:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App