६ वैशाख २०८१ बिहीबार
समाज

आयोगको खाकाका विषयमा असन्तुष्टी जनाउँदै सडक बन्द

खोटाङ– स्थानीय तह निर्माणका सन्दर्भमा स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनका विषयमा असन्तुष्टी जनाउँदै खोटाङमा सडक बन्द गरिएको छ।

जिल्लास्थित स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले गरेको सिफारिसभन्दा फरक प्रतिवेदन प्रधानमन्त्री समक्ष बुझाइएको भन्दै बुईपा, राजापानी, विजयखर्क र नुनथलाका स्थानीयले शनिबार दिउँसोदेखि मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकको नुनथला खण्ड तथा सगरमाथा राजमार्गअन्तर्गत महुरे–फोक्सिङटार सडक अवरुद्ध पारेका हुन्।

आयोगले जिल्लाका राजनैतिक दल तथा स्थानीयको सहमतीमा प्रस्ताब गरिएको भन्दा फरक किसिमको खाका बनाएर प्रतिबेदन बुझाएको बिरोधमा अनिश्चितकालकालागि सडक बन्द गरिएको संघर्षमा उत्रिएका बुईपा घर भएका युवा संघ खोटाङका अध्यक्ष दिनेश राईले बताए । सडक बन्द हुँदा जयरामतर्फबाट दिक्तेल आउँदै गरेका र दिक्तेलबाट जयरामतर्फ जाँदै गरेका सवारी साधन आवतजावत गर्न पाएका छैनन् । यस्तै दिक्तेलबाट गाईघाट जाने र गाईघाटबाट दिक्तेल आउने सवारी साधन पनि बिचैमा रोकिएका छन् । ‘आयोगले सहमतीमा पठाइएका स्थानीय तहको खाकालाई लत्याएर मनोमानी प्रतिबेदन सरकारलाई बुझाएको पाइएको छ,’ अध्यक्ष राईले भने, ‘आयोगको खाकाले सर्बसहमतीमा गरिएको निर्णयलाई लत्याउने काम भएको छ, यसलाई सच्याउन जरुरी छ ।’

स्थानीय तह पुःर्नसंरचना प्राबिधिक सहयोग समितिले महुरेगढी गाउँपालिकामा समाबेश गरेको बुईपा, राजापानी, बिजयखर्क र नुनथला गाबिसमध्ये आयोगले बुईपा र नुनथलालाई रुपाकोट मझुवागढी नगरपालिकामा तथा राजापानी र बिजयखर्क गाबिसलाई हलेसी तुवाचुङ नगरपालिकामा समाबेश गरेको प्रतिबेदन बुझाइएको स्थानीयको आरोप छ । खोटाङमा दुई नगरपालिका र आठ गाउँपालिका बनाउन बनाउन सिफारिस गरिएको थियो । आयोगले स्थानीय संरचनाको विषयमा जिल्लाको निर्णयलाई लत्याएको भन्दै नुनथलामा सडक अबरुद्ध बनाएर बिरोध जुलुस प्रदर्शन गरेका छन् । सडक बन्द गरिएको बिषयमा जानकारी आएको स्थानीय तह पुःर्नसंरचना प्राबिधिक सहयोग समितिका संयोजक एवं स्थानीय विकास अधिकारी निश्चलराज पाण्डेले बताए।

नुनथलामा आयोजित कोणसभामा युवा संघका अध्यक्ष राई र बिद्यार्थी नेता ओमप्रकाश घिमिरेले आयोगको खाकाका विरुद्धमा आइतबारदेखि सरकारी तथा गैर–सरकारी कार्यालयको दैनिक कामकाज समेत ठप्प पार्ने चेतावनी दिए। नुनथलाकै राँकेका आयोजना गरिएको बिरोधसभामा कांग्रेसका प्रेम खनाल, एमालेका उदय कार्की र माओबादी केन्द्रका हरि बुढाथोकीले सम्बोधन गरेका छन्।

आयोगले शुक्रबार ७१९ तह बनाउन खाका सहितको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको थियो।

प्रकाशित: २३ पुस २०७३ १२:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App