coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विषाक्त मदिराले पाँचको मृत्यु, चार सिकिस्त

जनकपुरधाम – विषाक्त मदिरा सेवनले धनुषामा पाँचजनाको मृत्यु भएको छ। क्षिरेश्वरनाथ नगरपालिका–२ रमदैयास्थित भट्टीबाट उत्पादित मदिरा सेवन गरेका सोही टोलका पाँचजनाको मृत्यु भएको र चारजना गम्भीर अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा वर्ष २९ का ब्रह्मदेव यादव, वर्ष ४० का विलास मण्डल, रामनरायण महरा, वर्ष ६५ का गुदरी महरा र वर्ष ३५ का राजु महरा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रहरीका अनुसार जानकी मेडिकल शिक्षण अस्पतालमा बिहीबार दुईजना र शुक्रबार दुईजनाको उपचारको क्रममा र एकजनाको घरमै मृत्यु भएको हो। मदिरा सेवनपछि गम्भीर बिरामी परेका चारजनाको उपचार भइरहेको छ। ४६ वर्षीय रामइश्वर मण्डल र ४७ वर्षीय शत्रुधन मण्डलको जनकपुरस्थित जानकी मेडिकल शिक्षण अस्प्तालको आइसियुमा उपचार भइरहेको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए। यस्तै वर्ष ५० का सिताराम यादवको जानकी हेल्थ केयर एन्ड टिचिङ हस्पिटल र २५ वर्षीय इन्द्रजित महराको धरानस्थि विपी कोइराला मेमोरियल हस्पिटलमा उपचार भइरहेको छ।

चिकित्सक डा. शरद यादवले मिथाइल अल्कोहल सेवन गरेका कारण यस्तो अवस्था आएको बताए। ‘कार्बनसँग रियाक्सन भएर इथाइल अल्कोहल मिथाइलमा परिणत हुन्छ। यो एकदमै खतरनाक हो। ५० ग्राम सेवनले पनि मान्छे मर्न सक्छ,’ उनले भने।

अत्यधिक मदिरा सेवन गरेका पाँचजनाको मृत्यु भएको र चारजना सिकिस्त बिरामी परेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए। तर पीडित परिवारले प्रहरीको भनाइलाई इन्कार गरेको छ। ‘एक सय रुपैयाँ मात्र रहेकाले मेरो भतिज धिरजले बोतलमा राखेर तारापट्टीबालीको पसलबाट एक गिलास रक्सी किनेर ल्याएका थिए। मासु र पुरीसँगै रक्सी खाए। तर साँझबाट वान्ता गर्न थाले, रिंगटा लाग्न थाल्यो,’ रामइश्वरका भाइ राम गुलामले भने। उनका अनुसार घरबाट करिब एक किलोमिटर टाढा रहेको भट्टीबाट मदिरा ल्याइएको थियो। बिरामी भएपछि गाउँकै डाक्टर (सिएमए) ले सुरुमा सुइ लगाउँदा पनि दाइको अवस्था बिगिँ्रदै गएपछि अस्पताल ल्याएको उनले बताए।

घरेलु मदिरा बिक्री गरेको आरोपमा प्रहरीले रमदैयाका दुईजनालाई नियन्त्रणमा लिएको छ। यसअघि २०७५ असारमा विषाक्त मदिरा सेवनका कारण धनुषाको कमला नगरपालिका–६ स्थित सिंहयाहीमा सातजनाको मृत्यु भएको थियो।

जताततै अवैध भट्टी
प्रदेश २ को अस्थायी राजधानी जनकपुरसहित धनुषाका गाउँगाउँमा अवैध मदिरा उत्पाद तथा बिक्री वितरण हुँदै आएको छ। जनकपुरस्थित मधेस भवनको मुख्य सडक छेउमै सञ्चालित अधिकांश होटेलमा घरेलु मदिरा बिक्री भइरहेको पाइएको छ। धनुषाको जनकनन्दनी गाउँपालिकास्थित पोखरीया, कमला नगरपालिकास्थित लक्कड, महोत्तरीको भंगहा नगरपालिकास्थित सकरीलगायत ठाउँमा घरेलु मदिरा उत्पादन हुन्छ। प्रहरील अवैध मदिरा भट्टी नष्ट गर्ने अभियान चलाए पनि पूर्ण रुपले बन्देज लगाउन नसकिने धनुषाका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक कार्कीले बताए। ‘हामीले दर्जनौं भट्टी नष्ट गरिसकेका छौं तर पूर्ण रुपमा नष्ट गर्न र बिक्री–वितरण रोक्ने सम्भव छैन,’ उनले भने।

प्रकाशित: १ चैत्र २०७६ ०१:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App