coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

झगडा छुट्याउन खोज्दा शिक्षिकाको हत्या

ओखलढुंगा– श्रीमान श्रीमतीबीच भएको झगडा छुट्याउन जादा शिक्षिकाको हत्या भएको छ। झगडा छुट्याउन जादा मोलुङ्ग गाउँपालिका–५ प्राप्चाकी ३२ वर्षिय शिक्षिका हिरादेवी कटुवाल कार्कीको हत्या भएको हो।

मंगलबार बिहान साढे ८ बजे विद्यालय हिडेकी शिक्षिका कार्की मृत फेला परेकी थिइन्। कार्कीको हत्या गरेको अभियोगमा सिद्धिचरण नगरपालिका–९ का २५ वर्षिय रविराज रम्तेल र उनकी श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ।

रम्तेलकी श्रीमती माइत मोलुङ्ग गाउँपालिका–५ प्राप्चामा बस्दै आएकी थिइन्। श्रीमतीलाई लिन गएका रम्तेल र श्रीमतीबीच कुटाकुट भइरहेको समयमा छुट्याउन जादा शिक्षिका कार्कीको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा रविराजले कार्कीको हत्या गरेको स्वीकारेका छन्।

ओखलढुंगा जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक मिलन बस्नेतले बताए। ‘अनुसन्धानका क्रममा रम्तेल दम्पतीबीच भएको झगडा छुट्याउन जादा कार्कीको हत्या भएको देखिन्छ, तर थप तथ्य आउन बाँकी छ।’ प्रहरी निरीक्षक बस्नेतले भने।

मृतक कार्कीको टाउकोको पछाडी भाग र चिउडोमा ढुंगाले हानेको जस्तो चोट देखिएकाले स्थानीयले हत्याको आशंका गरेका थिए। प्रहरी श्रोतका अनुसार रविराज चोरी मुद्दामा पक्राउ परी ५० हजार रुपैयाँ धरौटी र करिब दुई महिना कारागारमा कैद भुक्तान गरी भर्खरै छुटेका थिए। बेमेलका कारण उनकी श्रीमती माइतमा बस्दै आएकी थिइन्।

मृतक कार्की सोहि गाउँपालिकाको वडा नं.६ श्रीचउरमा रहेको सहिद पेशल आधारभूत विद्यालयमा २०६६ सालदेखि बालशिक्षा सहयोगीका रुपमा कार्यरत थिइन्। उनको अढाई वर्षको छोरा छ। उनको श्रीमान एक महिना अघिमात्र वैदेशीक रोजगारीबाट घर फर्किएका थिए।

 

 

प्रकाशित: ३० फाल्गुन २०७६ १२:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App