coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

लिच्छविकालमा राज्यवतीले जोगाएको नेपाल

वि.सं. १९३७ मा भारतको गुजरातका भगवानलाल इन्द्रजीले ‘ट्वेन्टी थ्री इन्स्क्रिप्सन्स् फ्रम नेपाल’ भन्ने पुस्तकमा २३ वटा अभिलेख छापेका थिए । ती २३ वटा अभिलेखमध्ये लिच्छवि कालका १५ वटा, मल्ल कालका सात वटा र शाह कालको एउटा थियो । लिच्छवि कालको सबैभन्दा पहिलो अभिलेख सम्वत् ३८६ चाँगुनारायणको कुँदिएको अभिलेख थियो ।

अहिले खोजी हुँदै जाँदा करिब अढाई सय जति कुँदिएका अभिलेख प्रकाशित भएका छन् । वि.सं. १९३७ मा लिच्छवि कालको पहिलो अभिलेख प्रकाशित भएको चाँगुको मानदेवको शिलालेख करिव १०० वर्षसम्म पहिलो नै भइरह्यो । त्यसपछिका पुराना अभिलेख अनुसन्धान फ्याट्टफुट्ट निस्किए पनि धेरै निस्कन सकेका छैनन् । जति निस्किए ती स्तम्भ लेखले धेरै महत्वपूर्ण कुरा बताउँछन् । तीमध्ये हामीले चर्चा गर्न खोजेको राज्यवतीबारे हो ।

लिच्छवि राजा वृषदेवका छोरा शङ्करदेव भए । शंकरदेवका छोरा धर्मदेव  भए । धर्मदेवकी महारानी राज्यवती हुन् । धर्मदेव अकस्मात् बिते । पति बितेपछि म किन बाँच्नु पर्‍यो, सती जान्छु भनी छोरा मानवदेवसँग राज्यवतीले भनिन् । तर उनका छोरा मानदेवले मानेनन् । राज्यवतीले ढिपी गरिरहिन् । म पहिले आफ्नो प्राण छोड्छु अनि हजुर सती जानु होला भनी मानदेवले भनेपछि पुत्रस्नेहले राज्यवती सती गइनन् ।

बाबु बित्दा मानदेव कलिलै उमेरका थिए । लिच्छवि कालमा नेपाल झण्डैझण्डै अहिलेको जत्रो थियो भन्ने कुरा विभिन्न प्रमाणहरुबाट थाहा हुन आएको छ ।

तीमध्ये लिच्छवि कालको अभिलेख, चिनियाँ यात्रीहरुको वर्णन, संस्कृत वाङ्मयका विभिन्न ग्रन्थ, समुद्र गुप्तको प्रयागको स्तम्भलेख आदि प्रमाणबाट यो थाहा पाइन्छ । मानदेव सानै उमेरमा राजा भएकाले पूर्व र पश्चिमका सामन्तले राज्य टुक्राउन खोजे । त्यसपछि मानदेवले आमाको सल्लाहबाट आफ्ना मामा अर्थात् राज्यवतीका भाइ वा दाइको मद्दतबाट पूर्वतिरका सामन्तहरुका विद्रोहलाई दमन गरे ।

पश्चिमका गण्डकी पारिका मल्लहरुको विद्रोह सजिलैसँग दमन भएन । मानदेवले लडाईं गरेर नेपालको भौगोलिक एकतालाई अक्षुण्ण राखे । यसरी टुक्रन लागेको नेपाललाई एक राख्ने काममा मानदेवका मामाको मद्दतमा राज्यवतीको ठूलो योगदान देखिन आएको छ ।

वि.सं. ५२२ को चाँगुनारायणको अभिलेखको ३ वर्षपछि वि.सं. ५२५ मा मानदेवले आफ्नी आमा पुण्यवतीका लागि वामनावतार विष्णुको मूर्ति स्थापना गरे । सो मूर्ति कलाको दृष्टिले माथिल्लो स्तरको छ ।

वि.सं. १९७७ मा श्री ३ चन्द्रशमशेरले सती प्रथालाई निर्मूल नपारुन्जेलसम्म कुनै न कुनै रुपले सती जाने प्रथा चलिरहेको थियो । तर त्यसभन्दा १४ सय वर्षअगाडि पनि सती ऐच्छिक भएको प्रमाण राज्यवती सती नगएको बयानबाट पाइएबाट पुष्टि हुन्छ । नेपाललाई टुक्रन नदिई जोगाउने काममा राज्यवतीको ज्यादै महत्वपूर्ण भूमिका रहेको हुनाले सम्झनै पर्छ ।

प्रकाशित: ३० फाल्गुन २०७६ ०८:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App