रिपोर्ताज

चितवनमा साहित्यिक चहलपहल

शनिबार, २३ पुष २०७३, ११ : २८ रमेशकुमार पौडेल

‘किन सोध्यौ मेरो उमेर सत्तरी कि सत्र,
सक्छौ भने लेखे हुन्छ, अझै प्रेमपत्र ।’

हालैको एक शनिबार बिहानै भरतपुरको एउटा होटलमा भेला भएर चितवनका साहित्यकारहरूले चियामात्रै खाएनन्, कविता पनि सुनाए । गएको साउन १५ गतेदेखि सुरु भएको यो सिलसिला त्यसयता लगातार चलिरहेको छ । मंसिर २५ गतेको शनिबार चिसो निकै थियो । त्यो दिन कविता सुनाउने पालो थियो ८१ वर्षका साहित्यकार प्रेमविनोद नन्दनको । 
चढ्दो सर्दीमा बढ्दो उमेरका कवि आउने हुन् कि होइनन् भन्ने आशंका केहीलाई थियो पनि । तर, तातो चियाको चुस्की लिँदै रसिला र जोशिला कविता सुनाउन पाउने अवसर नन्दनले उपयोग गरेरै छाडे । उनले माथिका हरफ अर्थात् ‘किन सोध्यौ मेरो उमेर..., गुनगुनाउन थालेपछि त्यस दिनको चिसो र नन्दनको उमेरको कसैलाई वास्तै भएन । 

रचना सुनाउन जन्म दिन वा खास दिवस कुर्ने अवस्था अब रहेन । संघ–संस्थाको काम पनि दिवस कुरेर रचना बाचन गराउनेसम्म मात्रै सीमित रहेन । जुनसुकै समयमा छलफल अन्तक्र्रिया गर्ने, पुस्तक प्रकाशन र पुरस्कार वितरणसम्ममा यहाँका संघ–संस्था क्रियाशील छन् ।

आठ दशक पार गरेका नन्दन नै बिहानको चिसोको वास्ता नगरी रचना सुनाउन हाजिर हुन्छन् भने चितवनको साहित्यिक वातावरण कति तातेको रहेछ भनेर सबैले सहजै अनुमान लगाउन सक्छन् । देशको लगभग केन्द्रमा रहेको चितवन राजनीतिक र सामाजिक रूपमा पनि सचेत जिल्ला नै मानिन्छ । साहित्य, कलाजस्ता वाङ्मयका काममा पनि चितवन कम छैन । 
मंसिर २५ मै बिहान जुन ठाउँमा नन्दनले कविता सुनाएका थिए, दिउँसो सोही ठाउँमा कुमार नगरकोटीको पुस्तक घाटमान्डुमाथि अन्तक्र्रिया कार्यक्रम गरियो । चितवनमा स्रष्टा र साहित्य अनुरागीहरूले फुर्सदै नपाउने गरेर कार्यक्रम हुन थालेका छन् । शनिबार विशेष दिन हो कार्यक्रमका लागि । रचना वाचन अन्यत्र पनि हुन्छ, तर पछिल्लो समय चितवनमा सिर्जनामाथि विमर्श पनि बाक्लै हुन थालेको छ ।
चितवनको सुरुवाती साहित्य
आधुनिक चितवनको इतिहास त्यति लामो छैन । पहाडी इलाकामा चेपाङ र समथर क्षेत्रमा थारु समुदायको बसोबास रहेको चितवनमा अन्य जिल्लाका बासिन्दा बस्न थालेको २०१३ सालपछि नै हो । चितवनमा औलो रोगको डर हुनाले बाहिरबाट बसोबासका लागि जाने चलन थिएन । तत्कालीन सरकारले औलो उन्मूलन गर्दै राप्ती दुन विकास योजनाअन्तर्गत वस्ती बसाउन सुरु गरेपछि २०१३ सालपछि नै चितवनमा अन्य जिल्ला मानिस आएर बस्न थाले । 
चितवनको साहित्य इतिहास पनि त्यही बेलादेखि नै सुरु भएको मानिन्छ । राप्ती दुन परियोजना सञ्चालनका लागि आएका कृष्णबम मल्ल र जनकलाल शर्माले २०१४ सालमै चितवनबारे लेखिएको पुस्तक ‘राप्ती उपत्यका’ प्रकाशन गरेका थिए । 
चितवन लेवरनगरका कलानाथ अधिकारीले २०१६ सालमा लेखेको ‘जितिया पावनी’ नामको थारु भाषाको धार्मिक ग्रन्थ चितवनकै व्यक्तिले लेखेको पहिलो किताब भएको साहित्यकार रमेश प्रभातको मत छ । त्यसपछि खुलेका विद्यालयहरूले साहित्यिक वातावरण तयार पार्न मलजल गरेको गोविन्दराज विनोदीको भनाइ छ ।
२०२२ सालमा अहिले चितवन उच्च मावि भनिने तत्कालीन सहकारी प्राथमिक शिक्षालयले ‘चितवनको चिनो’ नामक स्मारिका प्रकाशन गरेको थियो । सोही स्मारिकामा कविता छपाएका थिए गोविन्दराज विनोदीले । विद्यालय, क्याम्पसबाट सुरु भएको चितवनको साहित्य व्यवस्थाविरोधी वातावरण सिर्जना गर्नमा केन्द्रित थियो पञ्चायतकालमा ।
‘पञ्चायतकालमा प्रहरीको निगरानीमा कविता भन्ने, प्रशासनले सेन्सर गरेपछि रचना छाप्ने अवस्था थियो,’ विनोदीले भने । पञ्चायती चरण पार गरेपछि बहुदलको आगमनसँगै खुला वातावरणमा साहित्यले पनि फैलने अवसर पायो । पछिल्लो समय यहाँको गतिविधिलाई उकास्न पत्रपत्रिका, एफएम र स्थानीय टेलिभिजनको भूमिका पनि महŒवपुर्ण रहेको लेखक उदय अधिकारीको भनाइ छ । ‘मञ्च पाएपछि प्रतिभाहरू एकसेएक निस्कन्छन् । गरेको कामको चर्चा हुन थालेको छ । सञ्चारमाध्यमको यसमा ठूलो भूमिका छ,’ उनले भने । 
चितवनमा साहित्यिक प्रवद्र्धनका उद्देश्यले संघ–संस्थाहरू खुल्ने क्रम बढेको छ । गीत, गजल, कविता सुनाउने, कथा, निबन्धका पुस्तक प्रकाशन गर्ने काममा मात्रै ती संस्था सीमित छैनन् । रचनामाथि मन्थन गराउने अभियान चितवनमा निकै चल्न थालेको छ । राजधानीबाट प्रकाशित भएका कतिपय पुस्तकमाथि चितवनमा अन्तक्र्रिया हुने वातावरण बन्नाले पनि यहाँको साहित्यले फैलने अवसर पाएको देखिन्छ ।
साहित्यिक संघ–संस्था
    प्रेमविनोद नन्दन चितवनका पाका साहित्यकारमध्येमा पर्छन् । उमेरले नेटो काटे पनि हरेक साहित्यिक कार्यक्रममा उनी पुगेकै हुन्छन् । यहाँको साहित्यिक गतिविधिलाई लामो समयदेखि नियालिरहेका नन्दन भन्छन्, ‘पहिला कुनै कवि–लेखकको जन्मजयन्ती, राजारानीको जन्मोत्सव वा कुनै दिवसका दिन भेला भएर कविता वा अन्य रचना सुनाउने चलन थियो ।’ रचना सुनाउन जन्म दिन वा खास दिवस कुर्ने अवस्था अब रहेन । संघ–संस्थाको काम पनि दिवस कुरेर रचना बाचन गराउनेसम्म मात्रै सीमित रहेन । जुनसुकै समयमा छलफल अन्तक्र्रिया गर्ने, पुस्तक प्रकाशन र पुरस्कार वितरणसम्ममा यहाँका संघ–संस्था क्रियाशील छन् । प्रगतिशील लेखक संघ, साहित्य संगम, चितवन साहित्य परिषद्, कविडाँडा साहित्य समाज, अक्षर समूह, हाम्रो मझेरी, गजल मञ्च, अग्रगामी साहित्य समाजजस्ता दर्जनौ संघ–संस्था अहिले चितवनमा सक्रिय छन् ।
    २०४४ सालमा स्थापना भएको साहित्य संगम चितवनको पुरानो संस्थामध्येको एउटा साहित्यिक समूह हो । वामपन्थी साहित्यकारहरूले स्थापना गरेको यो संस्था हाल पनि सक्रिय नै छ । ‘पञ्चायतकालमा पञ्चायतविरोधीहरू एकजुट हुन यसरी संस्था खोलिएको हो । वामपन्थी मिलेर संस्था खोलेपछि अरु पनि यो काममा अग्रसर भए,’ संस्थाका पूर्वअध्यक्ष तथा समीक्षक डीआर पोखरलेले भने । 
    पञ्चायतकालमा पञ्चायत पक्षधर र पञ्चायतइतरमात्रैको प्रतिस्पर्धा थिएन, वामपन्थी र प्रजातान्त्रिक भनिनेबीच पनि उत्तिकै प्रतिस्पर्धा थियो । २०२६ सालमा वामपन्थीहरूले ‘नौलो राँको’ भन्ने पत्रिका निकाल्दा प्रजातान्त्रिक पक्षधरहरूले ‘छहरो’ निकालेको पोखरेलले बताए । राँको निभाउने छहरोको रूपमा त्यसलाई चितवनका पुराना साहित्यकारहरू अथ्र्याउने गर्छन् ।
    प्रतिस्पर्धा विगतदेखिकै हो, अहिले शैली फेरिएको अनुभव गरिएको छ । ‘पहिलाको जस्तो राजनीतिक पूर्वाग्रह अहिले खासै देखिँदैन,’ उदय अधिकारी भन्छन् । डीआर पोखरेलले पनि कार्यक्रमहरूले बहुलवादी दृष्टिकोण अँगाल्न थालेको अनुभव गरेका छन् । यसका फाइदा वा बेफाइदा भन्दा पनि कार्यक्रमको प्रकृति त्यस्तो हुने गरेको उनको भनाइ छ । 
    अचेल प्रतिस्पर्धा भनेको कार्यक्रम गर्नमा रहेको छ । पुस १५ मा चितवन साहित्य परिषद्ले कृष्णकृष्णा साहित्य पुरस्कार वितरण समारोह आयोजना ग¥यो । पुस ९ मा गजल मञ्च चितवनले ‘गजल शृंखला’अन्तर्गत कार्यक्रम ग¥यो । पुस २ गते कविडाँडा साहित्य समाजले शारदा शर्माको उपन्यास ‘कम्प’माथि अन्तक्र्रिया आयोजना गरेको थियो ।
    बार र महिनाहरु यसरी नै बित्ने गरेका छन् चितवनमा । कुनैबेला चितवनलाई गजलको राजधानीका रूपमा पनि चर्चा गरिन्थ्यो । हाम्रो मझेरी साहित्य प्रतिष्ठानले गजलमै केन्द्रित रहेर २०५७ सालदेखि कार्यक्रम गर्दै आएको छ । गोरखे साइँलोले निकाल्ने ‘पल्लब’ पत्रिका पनि गजलमा केन्द्रित हुने गरेको छ । देशभरका गजलकारले चितवनका गोरखे साइँलो र हाम्रो मझेरीका पुष्प अधिकारी अञ्जलीलाई चिनेकै हुन्छन् । गजलकार धनराज गिरी, केशवराज आमोदी पनि चितवनकै हुन् ।
    युवा पुस्ताका सरिता तिवारी, भूपीन खड्का, संगीत आयाम, ईश्वर कँडेलको देशभर साहित्यिक प्रभाव छ । यिनै युवा पुस्ताका साहित्यकार मिलेर २०६२ सालमा ‘अक्षर समूह’ गठन गरे । सो समूहले २०६५ सालमा नारायणगढको नारायणी कलामन्दिरमा सरुभक्तको एकल रचना वाचन कार्यक्रम आयोजना गरेको थियो । शुल्कसहितको सो रचना वाचन टिकट काटेर ४ सय जनाले हेरे ।
    फरक खालको कार्यक्रममा अक्षर समूहले पहिचान बनाउँदै ल्यायो । अंग्रेजीमा लेख्ने चितवनका साहित्यकारहरूले तीन वर्षअघि ‘भ्यु’ नामक संस्था खोले । उनीहरू शनिबार होटलमा जम्मा भएर चिया खाँदै अंग्रेजी साहित्य र चितवनमा त्यसको सम्भावनाका बारेमा चर्चा गर्न थाले । पछि यसलाई फराकिलो बनाइयो र साउनदेखि चियासँग कविताका नाममा सञ्चालन गर्न थालियो । अहिले सो कार्यक्रमले युवादेखि पाका पुस्तासम्मलाई तानेको छ ।
बढ्दो साहित्यिक गतिविधि
    कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीको सक्रियता गज्जबको देखिन्छ । सो संस्थाले कुनै बेला काठमाडौँमै गएर कार्यक्रम गर्छ । काठमाडौँका साहित्यकारहरूलाई चितवनमै बोलाएर कार्यक्रम राख्नु नौलो कुरा भएन, देशबाहिरका नेपाली साहित्यकारलाई समेत भरतपुरमै बोलाएर कार्यक्रम आयोजना गर्ने रिएको छ । क्षेत्रीको निवासमा बर्मादेखि सिक्किमसम्मका साहित्यकार आएर रचना सुनाउने र छलफलमा भाग लिने गरेका छन् ।
    ‘यसले साहित्यका बारेमा फराकिलो दृष्टिकोण बनाउन मद्दत पुगेको छ,’ उदय अधिकारी भन्छन् । कथा, कविता, उपन्यासलगायत साहित्यका विभिन्न विधामा हुने छलफलले प्रतिभालाई सिक्ने अवसर दिने उनले बताए । यो वर्ष चितवनका लेखक सुमन घिमिरेले ‘मौनता’ र मीनराज बसन्तले ‘मुदिर’ उपन्यास ल्याए । उनीहरूको कृतिले राष्ट्रिय चर्चा पायो ।
    यो वर्ष मदन पुरस्कारका लागि मनोनयन भएका कृतिमा चितवनकै साहित्यकार सरिता तिवारीको कविता संग्रह ‘प्रश्नहरूको कारखाना’ पनि परेको थियो । त्यसो त चितवन घर भएका अमर न्यौपाने र राधा पौडेलले मदन पुरस्कार पाइसकेका छन् । प्रेमविनोद नन्दनले दर्जनौ चलचित्रका लागि गीतमात्रै लेखेनन् राष्ट्रिय गानका लागि उनले लेखेको गीत उत्कृष्ट १० मा समेत परेको थियो ।
    चितवनमा राम्रा लेख्ने साहित्यकार छन्, त्यसैले यहाँ साहित्य सम्बन्धी कार्यक्रम बढी नै हुने गरेको छ । साहित्यिक गतिविधि बढी हुने भएकाले विचार मन्थन पनि हुने र राम्रा रचना सिर्जना गर्न टेवा पुगेको युवा सर्जक भूपीन खड्का बताउँछन् । तर, चितवनका लेखकले आफ्ना रचनालाई स्तरीय पार्न अझै थुप्रै मेहनत गर्न बाँकी रहेको यहाँका साहित्यकार बताउँछन् ।
    ‘कार्यक्रम गर्न जति प्रतिस्पर्धा चितवनमा हुने गरेको छ स्तरीय रचनामा चाहिने जति ध्यान पुगेको अवस्था भने छैन,’ कवि सरिता तिवारी भन्छिन् । दृष्टिकोणमा प्रष्ट हुन नसकेका कारण रचनाहरू स्तरीय नभएको डीआर पोखरेलको मत छ । चितवनले राष्ट्रिय चर्चामा आउनेखालका मात्रै नभई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने रचना जन्माउनुपर्ने अधिकारी बताउँछन् । यसका लागि अध्ययन–अनुसन्धानमुखी लेखनमा लाग्नुपर्ने उनको बुझाइ छ । ‘सञ्चारमाध्यममा नाम आउँछ वा आउँदैन भन्ने हिसाबले मात्रै जानु भएन । चितवन राष्ट्रसँग त जोडियो अब अन्तर्राष्ट्रियजगत्सँग पनि जोडिन आवश्यक छ । त्यसका लागि अंग्रेजीमा लेख्ने लेखक निस्कनुपर्छ,’ उदय भन्छन् । साहित्यिक वातावरण तातेको अहिलेको अवस्थामा स्तरीयता पनि बढाउन सकिने सम्भावना प्रवल रहेको तिवारीको विश्वास छ । 








यसमा तपाईको मत

अन्य समाचार

इटहरीमा भोलि एनसेल मेला

इटहरीमा भोलि एनसेल मेला

एनसेल प्राईभेट लिमिटेडले इटहरीको श्री जनता माध्यामिक विद्यालयको फुटवल मैदानमा शनिबार (मंसिर २८) एनसेल मेला २०७६ को आयोजना गर्ने भएको...

कतार एयरवेजले  ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले अखिल नेपाल फुटबल संघ (एनफा) सँग साझेदारी गर्ने भएको छ । ...

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइमएमई जनरल इन्स्योरेन्स एसियाज मस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

अन्तर्राष्ट्रिय शोधकर्ताहरुको संस्था बिआइएफएमएबाट इर्गाेनोमिक्स प्रमाणित गरेको भारत तथा सिंगापुरस्थित ब्लुबेल इर्गाेनोमिक्सको ‘भिबोन’ ब्रान्डका कुर्सी अब नेपालमा उपलब्ध हुने भएका...

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले विन्टर ब्लेसिङ कार्यक्रम आयोजना गर्ने भएको छ । ...

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

नेपाली बजारमा सेन्सेई ब्रान्डका घरायसी सामग्रीको लोकप्रियता बढेको छ । ...

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

नेपाल टेलिकमले देशभरका २५ जिल्लामा तीव्र गतिको डाटा र भ्वाइस सेवासमेत चलाउन मिल्ने एफटिटिएच अर्थात फाइबर टु द होम सेवा...

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डा मोटरसाइकल, स्कुटर तथा गाडीका लागि नेपालको एक मात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले भैरहवामा नयाँ सोरुम सञ्चालनमा ल्याएको...

Ncell Footer Ad