८ वैशाख २०८१ शनिबार
अन्य

वाल्मीकि र व्यास : तुलनात्मक अनुशीलन

देवीप्रसाद सुवेदी
रामायण र महाभारत दुवै आर्ष काव्यको उद्देश्य अधर्म र अन्यायको अन्त्य र दुष्टहरूको विनाशद्वारा परिवार र समाजमा सत्य, न्याय र शान्तिको स्थापना गर्नु रहेको छ । यद्यपि, वाल्मीकिले उपर्युक्त कार्यका लागि आफ्ना काव्यका नायक रामलाई ईश्वरीय अवतारको रूपमा प्रस्तुत गर्ने कार्यलाई भन्दा रामको उच्च आदर्शयुक्त मानवीय चरित्रलाई नै बढी प्रकाशित गरेका छन् । विशेष गरी रामायणको बालकाण्डमा र सांकेतिक रूपमा अयोध्याकाण्डमा अनि पछि उत्तरकाण्डमा रामलाई भगवान् विष्णुका अवतार लिएर जन्म भएका उत्तम मानवका रूपमा प्रस्तुत गरिएको छ र लंका अभियानका क्रममा भएका कतिपय घटनाहरूलाई केही मिथकीय आवरण पनि दिइएको छ । तापनि, समग्रमा वाल्मीकीय रामायणका नायक राम र उनका सहयोगी मुख्य पात्रहरू उदात्त र आदर्श चरित्रका रहेका हुँदा यस काव्यको उद्देश्य तात्कालीन परिवार र समाजमा मर्यादा र अनुशासन कायम गर्नु नै रहेको बुझिन्छ, यही नै यस काव्यको वैचारिक चिन्तन रहेको स्पष्ट हुन्छ । यस काव्यको उत्कृष्टता यसका प्रमुख पात्रहरूले परिवार र समाजमा देखाएका मर्यादा र आदर्शबाट प्रकट हुन्छ । 

रामायणद्वारा निर्देशित मार्गका मूल आधार राम हुन् भने महाभारतीय चिन्तनका मुटु कृष्ण हुन् । यी दुवैका आध्यात्मिक चिन्तनका सूत्रमा नै रामायण र महाभारत नामका महान् काव्य ग्रन्थमालाका रूपमा उनिएका छन् । अतः यी दुवै महान् काव्यग्रन्थ आर्य–संस्कृति र सभ्यताका मुख्य आधार बनेका छन् ।

महाभारत पनि कुरुवंशभित्र बढेको सत् र असत्पक्षीय पारिवारिक द्वन्द्वबाट विकसित भई अन्त्यमा असत्को पराजयमा पुगेर टुंगिएको युद्धको कथा हो । तर, भारत काव्य हुँदै महाभारतसम्म आइपुग्दा यस बृहत् काव्यमा ‘भगवद्गीता’ र ‘शान्तिपर्व’जस्ता गहन आध्यात्मिक दार्शनिक चिन्तनयुक्त अंशहरू समाविष्ट हुन आइपुगे । यसले गर्दा महाभारतको दार्शनिक वैचारिक चिन्तनले यसलाई विशालकाय बनाउन मात्र सघाएन गहन र उच्च धरातलसमेत प्रदान ग¥यो । यो स्वाभाविक थियो– कृष्ण द्वैपायन व्यासको यस बृहत् काव्यको रचनाकालसम्म आइपुग्दा तात्कालीन भारतले पारिवारिक–सामाजिक नैतिक मार्गभन्दा अझ अगाडि बढेर दार्शनिक गन्तव्यको खोजी गरेको थियो । रामायणकालीन समाजले नैतिकता र मर्यादालाई आफ्नो अभीष्ट ठानेको थियो भने पछिल्लो महाभारतीय समाजले नैतिक मार्गका साथै दार्शनिक चिन्तनको अपेक्षा गर्न थालेको थियो । उक्त दुवै काव्यकृति आआफ्नो समयका सामाजिक चाहनाको परिपूर्तिको निम्ति रचिएका थिए । वाल्मीकिको रामायण एक्लो काव्यस्रष्टाको उपज थियो भने महाभारत पछि आएर वैशम्पायन, पैल, सुमन्तु, जैमिनि र शुकजस्ता उच्चतम ज्ञानसम्पदा भएका व्यासका शिष्यहरूले व्यासको परम्परालाई अघि बढाएका थिए । यसबाट महाभारतको आकार मात्र बृहत् बनेन बरु यसमा अथाह वैदिक ज्ञानभण्डार थपियो । ज्ञानमार्गी आरण्यक र उपनिषद्का साथै कर्मकाण्डमार्गी ब्राह्मण ग्रन्थहरूसँग सम्बन्धित विषयहरू पनि यसमा समावेश गरिए । 
रामायणकालीन समाजभन्दा महाभारतीय समाज धेरै व्यापक, जटिल र विषम परिस्थितिमा जेलिएको पाइन्छ । त्यहाँ पनि रामायणकालीन समाजमा भन्दा शासनसत्ता र भूस्वामित्वको निम्ति पारिवारिक कलहले उग्र रूप लिइरहेको थियो । रामायणकालझैँ महाभारतीय समाज पनि अत्याचारी र पापिष्ठ शासकहरूबाट उत्पीडित थियो । कृष्ण द्वैपायन व्यासले त्यस समयमा बढेको हिंसाजन्य अपराधलाई अन्त्य गर्ने माध्यम शस्त्रास्त्रलाई मात्र नठानी त्यसका निम्ति आध्यात्मिक चिन्तन बढी उपयुक्त हुने निष्कर्ष लिएको प्रतीत हुन्छ । यसैले ‘भारत’ काव्यलाई भगवद्गीता, सनत्सुजातीय उपदेश, शान्तिपर्व, अनुगीता र अनुशासनपर्वजस्ता गहन दार्शनिक चिन्तनयुक्त अंशका रूपमा समावेश गरी महाभारतीय स्वरूप प्रदान गरेको पाइन्छ । वाल्मीकीय रामायणमा भएको आध्यात्मिक ज्ञानलाई थप विस्तारित गर्न पछिका ऋषिजनले ‘योगवाशिष्ठ’जस्ता गहन रचनालाई रामायणको अंगको रूपमा प्रक्षेपण गरेका र आध्यात्मिक ज्ञानकै परिपूर्ति गर्ने उद्देश्यले वाल्मीकीय रामायणको कथाको मूलसँग सम्बन्धित रही रामानन्दाचार्यजस्ता काव्यस्रष्टाहरूले ‘अध्यात्मरामायण’ (इ. ११००–१२०००) को रचना गरेको बुझिन्छ । यसरी वाल्मीकि र व्यासका काव्यकृतिलाई आध्यात्मिक चिन्तनद्वारा महिमामण्डित तुल्याउने क्रममा सम्बन्धित अंशहरूलाई  पछिपछिका अरू पनि स्रष्टाहरूले त्यसमा प्रक्षेपण गरेको देखिन्छ । 
वाल्मीकीय रामायणभन्दा महाभारत वैचारिक तŒवचिन्तनका दृष्टिले उत्कृष्ट देखापर्छ । रामायणको रचनाकालसम्ममा वैदिक ग्रन्थहरूमा छरिएर रहेको आध्यात्मिक ज्ञानसम्पदाको सूक्ष्म अभिलेख पाइए पनि व्याख्या र विश्लेषण भएको पाइँदैन । ‘भारत’ काव्यमा भगवद्गीताले पनि सम्भवतः प्रविष्टि पाइसकेको थिएन । विशेष गरी आध्यात्मतŒवले प्रारम्भमा पारिवारिक–सामाजिक–व्यवहारगत आदर्शका रूपमा नै रामायणभित्र अर्थिने अवसर पायो । यसैले विष्णुका अवतार मानिएका राम स्वयंले परिवार, समाज र राज्यका आदर्श रही मर्यादा पुरुषोत्तमका रूपमा एउटा युगको नै प्रतिनिधित्व गरे । महाभारतका कृष्णले समग्र आर्यजगत्को आध्यात्मिक चिन्तनलाई नयाँ मार्ग प्रशस्त गर्दै प्राचीन वैदिक वैष्णव धर्मलाई भागवतधर्मका रूपमा प्रस्तुत गरी त्यसलाई दार्शनिक विचारको स्तरमा उठाए । 
वाल्मीकीय रामायणको रचनाको समय र गौतम बुद्धको उदयको समय लगभग उही थियो र वाल्मीकिले रामायण लेख्दै गर्दा बुद्धको वेदविरोधी मत भरखरै देखा परे पनि सम्भवतः त्यसको विस्तृत रूपमा प्रतिपादन र विश्लेषण भइसकेको थिएन । तर, महाभारतकालसम्म आइपुग्दा विस्तृत रूपमा व्याख्यायित बुद्धमतले पालि साहित्यको माध्यमद्वारा अरू स्पष्ट बन्ने अवसर पायो र यो मत धेरै लोकप्रिय बन्दै गयो । महाभारतले बौद्ध धर्मको लोकप्रियता र त्यस धर्मसँग कृष्णद्वारा उपदेश गरिएको भागवतधर्मको मुख्य आशयका बीच भिन्नता नदेखेको हुँदा भागवतधर्म र बुद्धधर्मलाई विद्वान्हरूले समान रूपमा स्वीकारेको पाइन्छ । भगवद्गीतालाई उपनिषद्हरूको सार मानिएको हुँदा उपनिषद्द्वारा प्रतिपादित जीवनको नश्वरता र ब्रह्मतŒवको नित्यतालाई स्वीकार गरी मोक्षमार्गलाई धर्मको मुख्य लक्ष्य मान्ने भागवतधर्म र जीवनलाई दुःखमय, क्षणिक र नाशवान् सम्झी त्यसदेखि मुक्त हुन निर्वाणप्राप्तिलाई निर्देश गर्ने बौद्ध धर्मलाई विद्वान्हरूले समान वैचारिक दृष्टिकोणका रूपमा हेरेको पाइन्छ । 
वैचारिक चिन्तनका दृष्टिले वाल्मीकीय रामायण र महाभारतको गन्तव्य एउटै भए पनि यी दुईले अँगालेको मार्गका बीच केही भिन्नता रहेको छ । रामायणले मानवीय नैतिक आचरण र मर्यादालाई भगवत्Œवमा पुग्ने सरल मार्गका रूपमा लिएको छ भने महाभारतले कर्म, भक्ति र ज्ञान यी तीन मार्गद्वारा भगवत्तŒव (मोक्ष) प्राप्त गर्न सकिने बताएको छ । वाल्मीकीय रामायणले महाभारतअन्तर्गतको भगवद्गीताले झैँ आध्यात्मिक तŒवको दार्शनिक विवेचना गरेको छैन । तापनि, वेद–उपनिषद्हरूद्वारा प्रतिपादित ब्रह्मतŒव सम्बन्धी चिन्तनको सारभूत प्रवेशबाट यो मुक्त छैन र पछि प्रकाशित ‘योगवाशिष्ठ’जस्ता ग्रन्थहरूले त्यसलाई अरू विस्तृति प्रदान गरेका छन् । रामायणद्वारा प्रतिपादित भगवत्प्राप्तिको मार्ग सहज छ र त्यो एउटै छ, तर महाभारतले निर्देश गरेका भगवत्प्राप्तिका मार्ग तीनवटा छन् । सरल भक्तिमार्ग, मध्यम कर्ममार्ग र कठिन ज्ञानमार्गको छनोट गर्ने छुट महाभारतले दिएको छ । तापनि, तीनैवटाको गन्तव्य परब्रह्म परमात्मा नै हो– मोक्षप्राप्ति । रामायणद्वारा निर्देशित मार्गका मूल आधार राम हुन् भने महाभारतीय चिन्तनका मुटु कृष्ण हुन् । यी दुवैका आध्यात्मिक चिन्तनका सूत्रमा नै रामायण र महाभारत नामका महान् काव्य ग्रन्थमालाका रूपमा उनिएका छन् । अतः यी दुवै महान् काव्यग्रन्थ आर्य–संस्कृति र सभ्यताका मुख्य आधार बनेका छन् । 

प्रकाशित: २३ पुस २०७३ ०५:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App