coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जीप दुर्घटनामा मालिककै मृत्युपछि घाइतेको उपचारमा समस्या

उदयपुर–अघिल्लो साँझ यहाँ जीप दुर्घटना हुँदा मालिककै निधन भएपछि घाइतेहरुको उपचारमा समस्या परेको छ। दुर्घटनामा घाइतेहरुको उपचार खर्च गाडी मालिकले व्यहोर्ने  परम्परा रहेकोमा मालिककै निधन भएपछि उपचारमा आर्थिक समस्या परेको आफन्तले बताएका छन्।

कटारीदेखि हर्देनी जाँदै गरेको स १ ज ४०९ नम्बरको बोलेरो जीप हिजो साँझ ६ः३० बजे हर्देनी गहुँबारीस्थित भीरमा दुर्घटना हुँदा जीप मालिक टंक बस्नेत र यात्रु भिमकुमारी राउतको घट्नास्थलमै निधन भएको थियो। मालिकको निधनले दुर्घटनामा घाइते ७ जनाको उपचार गर्न कठिनाई परेको हर्देनीकी स्थानीय तथा सांसद भेषकुमारी राउतले बताइन् । घाइतेमध्ये हर्देनी ४ का ४० वर्षीय लिलबहादुर कार्कीको अवस्था उपचार खर्च अभावमै थप गम्भीर भइसकेको प्रहरीले जनाएको छ ।

खर्च नभएकै कारण देखाउँदै कार्कीलाई अस्पतालले फिर्ता पठाइसकेको हिमाली यातायात व्यवसायी संघका उपमहासचिव शत्रुघन कार्कीले बताए । कार्कीका अनुसार विराटनगरस्थित नोबेल अस्पतालले कार्कीको उपचारका लागि २ लाख रुपैयाँ अग्रिम  मागेकोमा दिन नसकेपछि उपचार गर्न नमानेर फिर्ता पठाएको हो। लिलबहादुरको अवस्था अन्त्यन्त जटिल रहे पनि पैसा नभएका कारण बाध्य भएर घाइतेले मृत्यु अँगाल्नुपर्ने अवस्था आउन लागेको कार्कीले बताए।

पैसा नभएकै कारण नोबेलले अन्य ३ जना घाइतेलाई पनि अन्यत्र रेफर गरेको आफन्तको भनाइ छ। सांसद राउतका अनुसार नोबेलले दुईजनालाई न्युरो अस्पताल विराटनगर र १ जनालाई कोसी अञ्चल अस्पताल रेफर गरेको छ । पैसा नदिएकै कारण नोबेलले उपचार गर्न आनाकानी गर्दै सबै घाइते अन्यत्र रेफर गरेको गुनासो राउतले गरिन् । घाइतेमधये २ जनालाई भने कटारीबाट सोझै अघिल्लो राति राजधानी पठाइएको थियो । १ जना बिएण्डबि र अर्कालाई चापहिलस्थित निजी अस्पतालमा भर्ना गरिए पनि पैसा अभावकै कारण उनीहरुको उपचार पनि हुन सकेको छैन।

गाउँ नै शोकाकुल
दुर्घटनामा जीप मालिकसहित २ जनाको निधन हुनुका साथै सबै घाइते एउटै गाउँका भएकाले गहुँबारी अहिले शोकाकुल छ। घटनास्थल हर्देनी र गहुँबारीबीचको भीरदेखि १ किलोमिटर मात्र घर आउन बाँकी हुँदा पल्टेको जीपमा एउटै गाउँका यात्रु सवार थिए । जीप मालिक ३४ वर्षीय बस्नेत र घाइते सबै हर्देनी ४ का हुन् । अर्की मृतक ३२ वर्षीय राउत भने हर्देनी १ की हुन् ।

‘उनीबाहेक सबै एउटै गाउँ हर्देनी ४ कै हुन्’, पारिपारिक सदस्य सांसद राउतले भनिन् ‘दुर्घटनाले पूरै गाउँ शोकाकुल बन्न पुगेको छ, गाउँभरी कोलाहल छ ।’ दुर्घटनामा कार्की र एलिजा श्रेष्ठ, सन्तोषी बस्नेत, भेषराज राउत, बिष्णु बस्नेत, समकुमारी बस्नेत घाइते भएको हिमाली यातायात व्यवसायी संघका उपमहासिचव शत्रुघन कार्कीले बताएका छन् । सडकदेखि ७ सय मिटर तल खसेको जीप खोल्सामा क्षतविक्षत भएको प्रहरीले जनाएको छ ।

इप्रका कटारी र सशस्त्र बेसक्याम्प कटारीको संयुक्त टोलीले दुर्घटनामा परेकाहरुको उद्धार गरेको थियो । सडकदेखि ७ सय मिटरभन्दा तल आँखाले नदेख्ने ठाउँमा पुगेर क्षतबिक्षत हुने गरी भएको दुर्घटनाका चालक स्थानीय शेरबहादुर खत्री भने हाम फालेर ज्यान बचाउन सफल भएका छन् ।

प्रकाशित: २३ पुस २०७३ ०७:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App