coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पत्रकार साह हत्याका अभियुक्तलाई थुनामा राख्ने आदेश

बारा  – बारा जिल्ला अदालतले पत्रकार वीरेन्द्र साह हत्याकाण्डका अभियुक्त कुन्दन भनिने नरेन्द्र फौजदारलाई बिहीबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

पत्रकार साहको हत्यामा संलग्न रहेको भन्दै फौजदारलाई एक नम्बर इजलासका न्यायाधीश खिलराज रेग्मीले कर्तव्य ज्यान मुहीबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको बारा जिल्ला अदालतका स्रेस्तेदार कौशल ज्ञवालीले बताए। फौजदारमाथि लागुऔषधको मुद्दामा अनुसन्धान गरी अदालतमा पेस गर्ने आदेशसमेत भएको ज्ञवालीले बताए।

पत्रकार साहको हत्यामा तत्कालीन नेकपा माओवादीका बारा जनसरकार प्रमुख लालबहादुर चौधरी, एरिया इन्चार्ज कुन्दन फौजदार, हरेराम पटेल, रामएकवाल सहनी र मैनेजर गिरी गरी पाँच जनाको संलग्नता रहेको प्रहरी अनुसन्धानबाट खुलेको थियो।

तत्कालीन नेकपा माओवादी शान्ति वार्तामा आएको अवस्थामा पत्रकार साहलाई २०६४ असोज १८ गते पिपरा बजारबाट अपहरण गरिएको थियो। अपहरण गरेको ३४ दिनपछि साहको शव टाँगिया बस्ती जंगलमा गाडिएको अवस्थामा फेला परेको थियो।

तत्कालीन प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा बारा अध्यक्ष, एभिन्युज टेलिभिजनका संवाददाता साहको तत्कालीन माओवादीका जिम्मेवार कार्यकर्ताबाट हत्या गरिएपछि साहका हत्याराहरूलाई कारबाहीको माग गर्दै विभिन्न संघ–संगठनहरूले देशैभरि अन्दोलनसमेत गरेका थिए।

अधिकारकर्मीहरूको आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निर्देशनमा साह हत्याकाण्डबारे अनुसन्धान गर्न प्रहरी सक्रिय भएको थियो। साहको हत्यामा संलग्नता देखिएपछि फौजदारलाई पक्राउ गर्न त्यही बेलादेखि प्रहरी लागे पनि फागुन २५ गते बिहान प्रदेश प्रहरी प्रमुखको प्रत्यक्ष निगरानीमा फौज्दारलाई नियन्त्रणमा लिन प्रहरी सफल भएको थियो।

१२ वर्षदेखि लुकीछिपी रहेका साह होलीका बेला बारागढी–६ गडहलस्थित घर आएको सूचना पाएपछि पक्राउ गर्ने क्रममा प्रहरीलाई स्थानीयले अवरोधसमेत गरेका थिए। प्रहरीका अनुसार पक्राउका क्रममा स्थानीयले प्रहरी टोलीमाथि आक्रमणको प्रयास गरेपछि स्थिति नियन्त्रणमा लिन चार राउन्ड हवाईफायरसमेत गर्नुपरेको थियो।

प्रकाशित: ३० फाल्गुन २०७६ ०१:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App