५ वैशाख २०८१ बुधबार
कला

टम ह्यांक्स दम्पतीलाई कोरोना संक्रमण

सिड्नी - अस्कर विजेता अभिनेता टम ह्यांक्स र उनकी श्रीमती रिटा विल्सनलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भएको छ। अभिनेता ह्यांक्सले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफू र श्रीमतीलाई कोभिड–१९ को संक्रमण भएको जानकारी दिएका थिए।

६३ वर्षीय अभिनेता ह्यांक्सले रुघाखोकी लागेको लक्षण दुवै जनामा देखिएपछि क्वीन्सल्याण्डमा चिकित्सकको सुझावमा परीक्षण गराएको इन्स्टाग्राममा उल्लेख गरेका थिए। हाल स्थिर स्वास्थ्य अवस्था रहेका ह्यांक्स दम्पती अस्ट्रेलियाको अस्पतालमा अलग्गै बसेका छन्। अमेरिकी गायक तथा अभिनेता एल्भिस प्रिस्लेबारे फिल्म बनाएकाले ह्यांक्स दम्पती अस्ट्रेलियामा थिए। सो फिल्मा अभिनेता ह्यांक्स प्रिस्लेका म्यानेजरको भूमिकामा देखिँदैछन्।

विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोना भाइरसको प्रकोपलाई विश्वव्यापी महामारी घोषणा गरेको केही समयपछि ह्यांक्स दम्पनीमा संक्रमण भएको पत्ता लागेको थियो। ‘हामीले रुघाखोकी लागेजस्तो अलि थकित महसुस गरेका थियौं र हाम्रो जिउ पनि दुखेको थियो। रिटालाई चिसो लागेको थियो र थोरै ज्वरो पनि थियो,’ अभिनेता ह्यांक्सले इन्स्टाग्राममा लेखेका थिए, ‘अहिले संसारमा आवश्यक देखिएजस्तो हामी समयअनुसार चल्न खोज्यौं। कोरोना भाइरसको परीक्षण गरायौं र हो रहेछ भन्ने देखियो।’ उनले सन् २०१३ मा आफूलाई मधुमेह भएको बताएका थिए।

उनकी श्रीमती गायिका तथा अभिनेत्री विल्सनले गत साता ब्रिज्बेनको इम्पोरियम होटल र सिड्नी ओपेरा हाउसमा सांगीतिक कार्यक्रम गरेकी थिइन्।‌ओपेरा हाउसका कर्मचारीले आफूहरूले सो कार्यक्रममा ह्यांक्स दम्पतीसँग सम्पर्कमा आएका हुनसक्ने करिब २०७ जनाको पहिचान गर्न सरकारी अधिकारीहरूलाई सघाइरहेका छन्।

गायिका विल्सन एक च्यानलको टेलिभिजन कार्यक्रममा सहभागी भएकी थिइन्। हाल सो कार्यक्रमका प्रस्तोतासहितका सदस्यहरू क्वारेन्टाइनमा छन्। सन् १९९४ मा ‘फिलाडेल्फिया’ र सन् १९९५ मा ‘फरेस्ट गम्प’ बाट अस्करमा ह्यांक्सले उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए। अस्ट्रेलियामा एक सय ३० जना भन्दा बढी मानिसमा कोराना भाइरसको संक्रमण देखिएका छ।

प्रकाशित: ३० फाल्गुन २०७६ ०१:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App