८ वैशाख २०८१ शनिबार
समाज

मेडिकल अनुमति नभएका चिकित्सक पक्राउ

सुर्खेत – नक्कली एनएमसी नम्बर प्रयोग गरी वीरेन्द्रनगरमा शुभलक्ष्मी कलेज अफ हेल्थ साइन्स अस्पताल सञ्चालन गर्दै आएका डाक्टर दीपेन्द्र काफ्लेलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल मेडिकल काउन्सिलको परीक्षामा सहभागी नभएका काफ्लेले अन्य चिकित्सकको एनएमसी नम्बर प्रयोग गरेर अस्पताल सञ्चालन गर्नुका साथै बिरामी जाँच गर्दै आएका थिए।

काफ्लेलाई नक्कली एनएमसी नम्बर प्रयोग गरेर बिरामी जाँच गर्नुका साथै नेपाल मेडिकल काउन्सिलमा नक्कली प्रवेशपत्र पेस गरेको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। काफ्लेले आफूलाई आइभिएफ (इनभिट्रो फर्टिलाइजेसन) विशेषज्ञ बताउने गरेका छन्।

नेपाल मेडिकल काउन्सिलले काफ्लेले नक्कली एनएमसी प्रयोग गरेर अस्पताल खोल्नुका साथै बिरामी जाँच गरिरहेको पाइएकाले पक्राउ गरेर कारबाही गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआइ) लाई पत्राचार गरेको थियो। ब्युरोको निर्देशनपछि सुर्खेत प्रहरीले काफ्लेलाई पक्राउ गरेको हो। ‘केन्द्रीय अनुसन्धान ब्युरोको पत्रका आधारमा काफ्लेलाई बुधबार पक्राउ गरेका हौं,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक (डिएसपी) रवि रावलले भने, ‘ठगीमा तीन दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएका छौं।’

अर्कैको एनएमसी नम्बर प्रयोग गरेर वीरेन्द्रनगरमा शुभलक्ष्मी कलेज अफ हेल्थ साइन्स अस्पताल सञ्चालन गर्दै आएका डाक्टर दीपेन्द्र काफ्लेलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार अहिलेसम्मको अनुसन्धानले अन्य चिकित्सकको एनएमसी नम्बर प्रयोग गरेर बिरामी जाँच्दै आएको भेटिएको छ। काफ्लेले २०३८८ नम्बरको एनएमसी नम्बर प्रयोग गर्दै आएका छन्। प्रहरीका अनुसार काफ्लेलाई ठगीसँगै आपराधिक लाभ, किर्तेलगायत कसुरमा पनि मुद्दा चलाइनेछ। ‘अहिलेसम्म नक्कली चिकित्सक बनेर कति जनालाई जाँच गरे भन्नेमा अनुसन्धान केन्द्रित गरेका छौं,’ डिएसपी रावलले भने, ‘अनुसन्धानकै क्रममा रहेकाले विस्तृत विवरण दिन मिल्दैन।’

काफ्लेले बंगलादेशको एमजिआर ट्रस्टबाट एमबिबिएस उत्तीर्ण गरेको बयान प्रहरीसमक्ष दिएका छन्। काउन्सिलका अनुसार बंगलादेशको एमजिआर ट्रस्ट मेडिकल काउन्सिलमा दर्ता छैन। काउन्सिलको लाइसेन्स नलिई एमबिबिएस उत्तीर्ण गरेकाहरूले डाक्टर लेख्न र बिरामी जाँच गर्न पाउँदैनन्। एमबिबिएस उत्तीर्ण गरेको दाबी गर्ने काफ्लेले मेडिकल काउन्सिलमा भने नक्कली प्रवेशपत्र पेस गरेको पाइएको छ।

एमबिबिएस उत्तीर्ण गरेका डाक्टरले नेपाल मेडिकल काउन्सिलको परीक्षामा सहभागी भएर एनएमसी नम्बर पाएपछि मात्रै बिरामी जाँच गर्न पाउँछन्। काउन्सिलले सुरुमा दुई वर्षको अस्थायी लाइसेन्स दिन्छ। ‘यो ट्रायल पिरियड हो,’ काउन्सिलका एक पदाधिकारीले भने, ‘दुई वर्षसम्म कुनै गुनासो नआएको खण्डमा स्थायी लाइसेन्स दिने व्यवस्था छ।’ विशेषज्ञका लागि स्थायी लाइसेन्स प्राप्त गरेका चिकित्सकहरूले छुट्टै परीक्षा दिनुपर्छ।

अनुमतिबिनै अस्पताल सञ्चालन
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले शुभलक्ष्मी अस्पतालको सेवा सञ्चालन अनुमति रद्द गरे पनि अस्पताल भने सञ्चालनमै छ। पाँच महिनाअघि अस्पतालले अस्थायी अनुमतिपत्र पाएर सेवा सञ्चालनमा ल्याएको थियो। कात्तिक ७ गते उपराष्ट्रपति नन्दबहादुर पुन सो अस्पताल उद्घाटनका लागि सुर्खेत आएका थिए। सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले दिएको अस्पताल सञ्चालन र अस्थायी अनुमतिपत्र त्रुटिपूर्ण देखिएपछि उपराष्ट्रपति पुन अस्पताल उद्घाटन नगरेरै काठमाडौं फर्केका थिए।

‘स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० एवम् २०७५ असोज ९ गतेको स्वास्थ्य मन्त्रालयको सचिवस्तरीय निर्णयमा प्रदेशका कुनै पनि अस्पताल सञ्चालनको अनुमति र नवीकरणको जिम्मा सामाजिक विकास मन्त्रालयको सचिवस्तरीय बैठकलाई दिइएको छ। तर सचिवलाई बेवास्ता गरेर महाशाखाले एकल निर्णय गर्दै स्वीकृति दिएको पाइएको थियो। ‘निर्णय त्रुटिपूर्ण देखिएपछि कात्तिकमै हामीले अस्थायी अनुपतिपत्र रद्द गरिसकेका छौं,’ महाशाखाका प्रमुख वृषबहादुर शाहीले भने, ‘अहिले अस्पताल सञ्चालनमा रहे÷नरहेको बारेमा जानकारी छैन।’

महाशाखाले २५ शड्ढयाको अस्पताल सञ्चालन गर्न अनुमति दिएको थियो। स्वास्थ्य महाशाखाले अस्थायी अनुमतिपत्र रद्द गरिसकेको शुभलक्ष्मी अस्पतालले स्थायी अनुमतिपत्रका लागि जिल्ला जनस्वास्थ्य सेवा कार्यालयमा निवेदन दिएको छ। ‘निवेदन दर्ता भएको छ,’ जनस्वास्थ्य कार्यालय प्रमुख चेतनिधि वाग्लेले भने, ‘अनुमति दिएका छैनौं।’

अस्पतालका अध्यक्ष पसल रोकायले सामाजिक विकास मन्त्रालयअन्र्तगतको स्वास्थ्य महाशाखाबाट अस्थायी अनुमतिपत्र लिएरै अस्पताल सञ्चालन गरिरहेको दाबी गरे। ‘अस्थायी अनुमतिपत्र एक वर्षसम्मलाई हुन्छ,’ उनले भने, ‘स्थायीका लागि जिल्ला जनस्वास्थ्य सेवा कार्यालयमा निवेदन दिएका छौं।’ उनले चिकित्सक पक्राउको बारेमा आफूलाई जानकारी नभएको बताए। ‘म बाहिर भएकाले यो विषयमा जानकारी भएन्,’ उनले भने।

प्रकाशित: ३० फाल्गुन २०७६ ०१:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App