८ वैशाख २०८१ शनिबार
कला

जनकपुरमा तीनदिने मैथिली नाटक महोत्सव सुरु

नाटकको डाइलग उच्चारण गरेर मैथिली नाटक महोत्सव उद्घाटन गर्दै मन्त्री पोखरेल (दायाँबाट तेस्रो) । तस्बिरः सुरेश यादव

जनकपुर–नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा सोमबारबाट जनकपुरमा तीन दिवसीय मैथिली नाटक महोत्सव सुरु भएको छ।
सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले महेन्द्र मलंगियाद्वारा लिखित ‘काठक लोक (काठको मान्छे)’ नाटकको एउटा ‘डाइलग’ उच्चारण गरेर महोत्सवको उद्घाटन गरेका छन्।

कुनै नागरिकको निधन भएपछि अन्तिम संस्कार गर्न कफन (सेतो कपडा) राज्यले उपलब्ध नगराइदिँदा नाङ्गै दफन गर्नुपरेको दृश्य झल्किने डाइलग मन्त्री पोखरेलले मैथिली भाषामै उच्चारण गरेका थिए –‘कफन बिना दफन । चलु काकाके कमलामे भसा दी।’ अर्थात् कफन उपलब्ध भएन । जाऔं, काकालाई कमला (नदी) मा सेलाइदिउँ।

नाटक महोत्सवको उद्घाटन समारोहमा मैथिली सभ्यता र सँस्कृतिप्रति सम्मान व्यक्त गर्दै मन्त्री भएपछि पहिलो पटक जनकपुरमा आएर मैथिली पहिचानकै प्रवद्र्धन गर्ने अवसर पाएको भन्दै उनले सन्तुष्टी व्यक्त गरे।

उनले महोत्सव उद्घाटन गरिरहँदा उच्चारण गरेको नाटकको डाइलग पञ्चायत कालिन समयमा लेखिएको प्रष्ट्याउँदै वृद्ध नागरिकको त्यही अपमानलाई ध्यानमा राखेर मनमोहन सरकारले वृद्ध भत्ताको व्यवस्था गरेको दाबी गरे। ‘नेपालमा वृद्ध भत्ता वितरण हुन थालेपछि कम्तीमा कफन बिनै कसैलाई दफन गर्नुपर्ने अवस्था हामीले देखिरहनु परेको छैन’, उनले भने, ‘समाजमा बढ्दो महँगीलाई देखेर भर्खरै हामीले वृद्ध भत्ता दोब्बर गरेका छौं ।’ यसले सम्पूर्ण वृद्ध नागरिक सम्मानित भएको महसुस गरिरहेको उनको दावी थियो ।

प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा वरिष्ठ साहित्यकार डा.राजेन्द्र विमल, मिथिलाञ्चलका नाट्य सम्राट महेन्द्र मलंगिया, प्रतिष्ठानका नाटक विभाग प्रमुख रमेश रञ्जन झा, साहित्यकार रामभरोस कापडि, परमेश्वर कापडी, मिथिला नाट्यकला परिषद्का प्रबद्र्धक कामेश्वर मल्लिक लगायत साहित्य तथा नाट्य क्षेत्रका प्रबुद्धहरुको उपस्थिति थियो।

बुधबारसम्म तीन दिन चल्ने महोत्सवमा प्रत्येक दिन दुई वटाको दरले नाटक मञ्चन हुने आयोजक समिति सदस्य श्यामसुन्दर शशिले जनाए। सोमबार डा.राजेन्द्र विमलले लेखेको उधारो जुत्ता विषयक कथालाई अवधेश पोखरेलले मैथिली भाषामा रुपान्तरण गरेको नाटक ‘उधार जुत्ता’ र बिहार, मधुबनीस्थित मिथिला नाट्य संस्थानको ‘बज्जर खसौ एहन जातिपर’ नामक नाटक मञ्चन भएको छ ।

मंगलबार झोराहाट नाट्य समूह, मोरङको ‘माथक मोल’ र प्रतिबिम्ब रङ्गमञ्च, जनकपुरको ‘दासी जीवन’ नामक नाटक मञ्चन हुनेछ । आशु रचना लिखित माथक मोलको निर्देशन भरत गुरागाँईले गरेका छन् भने दासी जीवनको लेखन र निर्देशन रामेश्वर साहले गरेका हुन् ।
बुधबार बिहार दरभंगास्थित ललितनारायण मिथिला विश्वविद्यालय अन्तरगत स्नातकोत्तर सङ्गीत एंव नाटक विभागको ‘काठक लोक’ र लोक सञ्चार एंव शिल्पी थिएटर, काठमाडौंको ‘सखी (साथी)’ नामक नाटक मञ्चन हुने शशिले जनाए । महेन्द्र मलंगियाले लेखेको काठक लोकको निर्देशन सागर सिंहले गरेका छन् । सखीको लेखन रमेश रञ्जन झा तथा निर्देशन घिमिरे युवराजले गरेका हुन् ।

 

प्रकाशित: २० असार २०७३ ११:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App