८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

भारतद्वारा पर्यटक भिसा बन्द

नयाँ दिल्ली – विश्वव्यापी रूपमा बढ्दो प्राणघातक कोरोना भाइरस (कोभिड–१९)को प्रकोपका कारण भारतले पर्यटक भिसा बन्द गरेको छ। भारतले सबै खालका पर्यटक भिसा आगामी अप्रिल १५ सम्मका लागि बन्द गरेको अधिकारीहरूले जानकारी दिएका छन्।

भारतले कोरोना भाइरसको प्रकोप रहेका विश्वका सात ओटा देशबाट आएका नागरिकलाई अनिवार्यरूपमा क्वारेन्टाइनमा राख्ने बताएको छ। भारतले बिहीबार प्रकाशन गरेको एक विज्ञप्तिमा सो जानकारी गराइएको समाचारमा जनाइएको छ।

आजै मध्यरातिदेखि भारतले यस्ता भिसाहरू बन्द गर्ने जनाएको सो विज्ञप्तिमा उल्लेख गरिएको छ। तर, कूटनीतिक प्रयोजनका लागि आवश्यक, अन्तर्राष्ट्रिय संस्थाहरूका, रोजगारीसम्बन्धी र आयोजनाका भिसा भने यथावत नै रहने बताइएको छ।

बिहीबार प्रकाशन गरेको विज्ञप्तिमा चीन, इटाली, इरान, गणतन्त्र कोरिया, फ्रान्स, स्पेन र जर्मनीबाट आउने पर्यटकलाई अनिवार्यरूपमा क्वारेन्टाइनमा राखिने पनि जनाएको छ। ती देशबाट भारत प्रवेश गर्ने नागरिकलाई कम्तीमा पनि १४ दिन क्वारेन्टाइनमा राखिने व्यवस्था मिलाइएको भारत सरकारको प्रेस इन्फरमेसन ब्युरोले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ। भारतमा कोरोना भाइरस ६० भन्दा बढी संक्रमित रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन्।

युरोपेली देशबाट अमेरिका उडानमा प्रतिबन्ध
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमण रोक्ने प्रयासस्वरूप युरोपेली देशबाट गरिने सबै हवाई उडान ३० दिनका लागि रोक लगाएका छन्। उनले टेलिभिजन सम्बोधनमार्फत उक्त घोषणा गरेका हुन्। बेलायतलाई भने यो नियम लागू हुने छैन।

इटालीमा कोरोना भाइरसको प्रकोप नियन्त्रण गर्न किराना र औषधीबाहेक सबै पसलहरू बन्द गर्ने घोषणा गरिएको छ।
प्रधानमन्त्री जुजेप्पे कोन्टेले बार, रेन्टुरेन्ट, कपाल काट्ने सेलुन र अति आवश्यकीयबाहेक सबै किनमेल केन्द्र बन्द हुने तर सामान घरमै पु¥याउन भने नरोकिने बताएका छन्।

उनले टेलिभिजनमा सम्बोधन गर्दै प्रतिबन्ध बिहीबारदेखि मार्च २५ सम्म लागू हुने बताएका छन्। नयाँ संक्रमणको दरलाई लिएर कडा तुल्याइएका प्रतिबन्धहरूको परिणाम केही सातामा देखिने उनले विश्वास व्यक्त गरेका छन्।
इटालीमा स्कुल, व्यायामशाला, संग्रहालय, रात्रि क्लब र अन्य सार्वजनिक स्थलहरू यसअघि नै बन्द गरिएका छन्। कोरोना भाइरस संक्रमणका कारण इटालीमा आठ सय २७ जनाले ज्यान गुमाएका छन् भने १२ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का आपतकालीन प्रमुख मिसेल रियनका अनुसार इटालीमा करिब नौ सय संक्रमितहरूलाई सघन उपचार कक्षमा भर्ना गरिएको छ। उनले इरान र इटालीको जस्तो संकट छिट्टै अन्य देशहरूले पनि सामना गर्नुपर्ने चेतावनी दिए। यसअघि डब्लुएचओले कोरोना भाइरसको संक्रमण विश्वव्यापी बनेको घोषणा गरेको थियो। डब्लुएचओका प्रमुख टेड्रस एड्हानोम गेहब्रेयससले दुई सातामा चीनबाहिर संक्रमण १३ गुणा बढेको बताएका छन्।

५० अर्ब डलरको राहत घोषणा
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस रोगका कारण आर्थिक नोक्सानी व्यहोर्न बाध्य साना व्यवसायीलाई मद्दत गर्ने गरी थप ५० अर्ब डलरको राहत प्याकेज घोषणा गरेका छन्। राष्ट्रपति ट्रम्पले उक्त प्रस्तावको अनुमोदनका लागि अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्ससमक्ष पेश गरेका छन्।

ह्वाइट हाउसको ओभल अफिसबाट राष्ट्रका नाममा बुधबार सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले भने, ‘यो आर्थिक संकट होइन, कोरोनाको संकट क्षणिक हो र यसलाई सबै मिलेर परास्त गर्न सकिन्छ।’ उनले अमेरिकी मजदूर, परिवार र व्यवसायमा कोरोना भाइरसबाट पुगेको नोक्सानीको विवरण संकलन गर्न र आर्थिक सहायताको खाका तत्काल बनाउन साना व्यवसाय प्रशासनलाई आदेश दिएका छन्।

सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले अमेरिकी अर्थ मन्त्रालयलाई पनि कोराना प्रभावित व्यक्ति एवं व्यवसायले कर बुझाउनु पर्ने अन्तिम मिति अप्रिल १५ लाई परिवर्तन गर्न तथा ब्याज वा जरिवाना नलिने व्यवस्था मिलाउन पनि निर्देशन गरे।

गत वर्षको अन्त्यबाट चीनको हुबेई प्रान्तको वुहान सहरबाट सुरु भएको कोरोना भाइरस संक्रमण विश्वभरका एक सय २५ देशमा फैलिएको छ, जसबाट चार हजार सात सयको ज्यान गइसकेको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन्।

प्रकाशित: ३० फाल्गुन २०७६ ०१:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App