coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनमा सवारी साधनको बिक्री ७९ प्रतिशतले घट्यो, जनजीवन सामान्य बन्दै

बेइजिङ – कोरोना भाइरस (कोभिड–१९)को त्रासले माग घटेपछि चीनमा गत फेबु्रअरीमा सवारीसाधनको बिक्री ७९ प्रतिशतले घटेको छ। चीनमा एकै महिनामा यति ठूलो गिरावट आएको पहिलो पटक हो। चिनियाँ अटोमोबाइल उत्पादक संघ (काम)का अनुसार यस वर्षको फेबु्रअरीमा सवारी साधनको बिक्री तीन लाख १० हजारमा सीमित भएको छ। चीनमा सवारी साधनको बिक्रीमा कमी आएको यो लगातार २०औं महिना हो।

संघका वरिष्ठ अधिकारी चेन शिहुवाले नयाँ विद्युतीय कारको बिक्रीमा कमी आएको बताए। विद्युतीय कारको बिक्रीमा लगातार आठ महिनादेखि कमी हुँदै आएको छ। संघका अधिकारीले यस वर्षको पहिलो ६ महिनामा १० प्रतिशतभन्दा बढीले बिक्री घट्न सक्ने अनुमान गरेका छन्। आगामी अप्रिलअघि चीनमा कोरोना भाइरसलाई प्रभावकारीरूपमा नियन्त्रण गर्न सकिए पनि वर्षभर करिब पाँच प्रतिशतले कमी आउने छ।

कार उत्पादनको प्रमुख केन्द्रका रूपमा रहेको हुबेई प्रान्तमा रहेका सबैजसो कार निर्माता कम्पनीहरूले उत्पादनमा ढिलाई गर्ने बताएका छन्। हुबेईमा डोङफेङ मोटर गु्रप कम्पनी र यसका साझेदार कम्पनीहरू होन्डा मोटर, रेनल्ट एसए र प्युजेट एसएका कारखानाहरू रहेका छन्।

सांघाईमा रहेको टेस्लाको उत्पादन र वितरण पनि प्रभावित भएको छ। तर, हुबेई प्रान्तको राजधानी वुहानका सरकारी अधिकारीहरूले कोरोना भाइरसको त्रास कम भएको जनाउँदै उद्योग, कलकारखाना खोल्न अनुमति दिएको छ। यहाँ होन्डाले आफ्नो कारप्लान्ट सुरु गरेको छ।

निस्सान मोटरले पनि हुबेईकै अर्को सहर सियानग्याङस्थित कारखानाबाट आंशिक उत्पादन थालेको छ भने हेनानको झेङझाउ प्लान्ट सुरु गर्ने योजना अघि बढाएको छ। संयुक्त राज्य अमेरिकासँगको व्यापार तनाबका कारण पनि चीनको कार बजारमा असर परेको छ।

चीनको सिनजियाङमा रेलसेवा सुरु, जनजीवन सामान्य बन्दै

 चीनको उत्तरपश्चिम सिनजियाङ उइगुर स्वायत्त क्षेत्रमा रेलसेवा पुनः सुरु भएको छ। चीनको हुबेई प्रान्तमा कोरोना भाइरसको संक्रमण फैलिएपछि देशका कतिपय भागमा रेल तथा अन्य यातायात सेवा बन्द गरिएका थिए। सिनजियाङको राजधानी उरुम्की र सिनजियाङकै हमी, तुर्पान र होर्गोस जोड्ने तीव्र गतिको बुलेट ट्रेनको सेवा बुधबारदेखि सुरु भएको रेल अधिकारीहरूले बताएका छन्। चाइना रेलवेका अनुसार अरु कम गतिका रेल पनि चाडै सुरु गरिनेछन्।

सिनजियाङ रेलवे अधिकारीहरूले यात्रुहरुले अनलाइन वा रेलवे स्टेसनमै आएर टिकट किन्न सक्ने बताएका छन्। सिनजियाङका उद्योग धन्दा सबै पूर्ण क्षमतामा सञ्चालन हुन थालेका छन् भने मानिसको दैनिक जीवन सहज भएको छ। सिनजियाङमा लगातार २३ दिनसम्म कोरोना भाइरसका एक जना पनि रोगी फेला परेका छैनन्।

स्थानीय सरकारले कोरोना भाइरसको संक्रमण सिनजियाङमा देखा नपरेको भन्दै आपतकालीन स्थितिलाई हटाएको छ।

प्रकाशित: ३० फाल्गुन २०७६ ०१:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App