coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कोरोना रोकथाम र नियन्त्रण रणनीति सार्वजनिक

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रण रणनीति र योजना सार्वजनिक गरेको छ। मन्त्रालयका प्रवक्ता विकास देवकोटाले कोरोना संक्रमण नेपालमा फैलिन नदिन सरकारले गरेका तयारी र योजनाबारे जानकारी गराएका हुन।

कोरोना संक्रमण नियन्त्रणका लागि प्रादेशिक अस्पतालहरुमा समेत आइसोलेन वार्ड र सघन उपचार कक्षको स्थापना, सबै अस्पतालमा शंकास्पद बिरामी जाँच गर्न छुट्टै कक्षको व्यवस्था, हब तथा सेटलाइट अस्पतालहरुमा पनि आइसोलेसन वार्डको व्यवस्था, आवश्यकता अनुसार खरिपाटी र नगरकोट क्वारेन्टाइनलाई निरन्तरता दिने, दैनिक जनहितका सूचनासहितको स्वास्थ्य बुलेटिन जारी गर्नेलगायत व्यवस्था गरिएको जानकारी देवकोटाले गराए।

यसैगरी कोरोनाबाट संक्रमित देशबाट आउने नेपालीका साथै विभिन्न आयोजनामा कार्यरत विदेशी नागरिकलाई आवश्यक जाँच गरी घर र डेरामा क्वारेन्टाइनमा रहन निर्देशन दिइएको र अनुगमन पनि भइरहेको मन्त्रालयले जनाएको छ।

प्रस्तावित रणनीतिमा कोरोना प्रभावित मुलुकहरुको अवस्था सामान्य नभएसम्म नेपालबाट हुने हवाई उडान स्थगन गरिनेछ। त्यस्तै कोरोनाको महामारी फैलिएमा ‘पकेट एरिया लक डाउन’ गरिनेछ। यसमा निश्चित बासस्थान तथा समुदाय, बस्ती, गाउँ, टोल, वडा, पालिका, जिल्ला प्रदेशसमेत रहन सक्नेछन्। यसैगरी आवश्यक परेमा स्थलगत आवागमनका अन्तर्राष्ट्रिय नाकाहरु बन्द गर्ने तथा अत्यावश्यक सामग्रीबाहेक अन्य वस्तुको आयात–निर्यातमा रोक लगाउने रणनीति प्रस्वाव गरिएकोछ।

यसैगरी देशका अधिकांश अस्पताल तथा स्वास्थ्य संस्थामा कोरोना भाइरसबाट संक्रमित भएकाको उपचारका लागि जनशक्ति, उपकरण र प्रविधिको अधिकतम परिचालन गर्ने योजना बनाइएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले आवश्यक परेमा फिल्ड तथा घुम्ती अस्पतालको स्थापना पनि गरिने जनाएको छ।

प्रकाशित: ३० फाल्गुन २०७६ ०१:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App