coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

सुस्तायो राजनीतिक गतिविधि

फाइल तस्बिर

काठमाडौं – मुलुककै कार्यकारी प्रमुख प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएपछि सरकारी कामकारबाहीका साथै राजनीतिक गतिविधि सुस्ताएको छ। सिंगो देशको ध्यान प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केन्द्रित भएकाले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताको भेटघाटसमेत सुस्ताएको छ। फागुन १८ पछि नेकपाको सचिवालय बैठकसमेत बसेको छैन। कार्यकारी अध्यक्ष पु्ष्पकमल दाहालले पार्टी सचिवालयको बैठक बोलाएका छैनन् भने प्रधानमन्त्री नै अस्पतालमा बसेपछि मन्त्रिपरिषद्को बैठक पनि बस्न सकेको छैन। गत मंसिरमा कार्यकारी अध्यक्षको जिम्मेवारी पाएयता दाहालले दुईपटक सचिवालय बैठक बोलाएका थिए। प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पतालमा भर्ना भएपछि उनले बैठक बोलाएका छैनन्।

गत साता दाहाल पनि रुघा लाग्यो भनेर दुई दिनसम्म निवासमै आराम गरेर बसेका थिए। त्यसपछि शनिबार भैंसेपाटीस्थित वामदेव गौतमको घरमा पुगेर भेटघाट गरेका थिए। आइतबार चितवनमा नेकपा जिल्ला कमिटीको बैठकमा सहभागी भएर काठमाडाैं आएपछि उनले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेका थिए। डेढ सातादेखि दाहाल कुनै पनि सार्वजनिक कार्यक्रममा देखिएका छैनन्।

दाहालले राष्ट्रपति भण्डारीसँग पार्टी उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजाने विषयमा कुराकानी गरेको स्रोतले जनाएको छ। प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज भएपछि गौतमलाई राष्ट्रियसभामा लैजाने दाहालले बताएका छन्। दाहाल पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतका नेताहरुसँग निरन्तर सम्पर्कमा छन्। निवासमा आउने नेताहरुसँग अध्यक्ष दाहालले भेटघाट गरिरहेको उनी निकट स्रोतले बतायो।

सिंगो देशको ध्यान प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केन्द्रित भएपछि सत्तारुढ दल नेकपाका नेताको आपसी भेटघाटसमेत सुस्ताएको छ भने सरकारी कामकारबाहीसमेत गतिहीन देखिएको छ।

पार्टीका वरिष्ठ नेता माधव नेपाल पनि आन्तरिक भेटघाटबाहेक सार्वजनिक कार्यक्रममा देखिएका छैनन्। केही दिन यता नेपालको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ तथा अन्य नेताहरुसँग भने भेटघाट भइरहेको छ। ‘पार्टीका नेताहरुसँग भेटघाट भइरहेको छ तर कुनै कार्यक्रममा सहभागिता छैन। पार्टीका कार्यक्रम पनि कोरोना भाइरसका कारण बन्द छन्। त्यसकारण घरमा सामान्य भेटघाटमात्रै भएको छ’, नेपाल निकट स्रोतले भन्यो।

गौतमले दाहालबाहेक अन्य नेताहरुसँग भेटघाट गरेका छैनन्। प्रधानमन्त्रीको स्वास्थ्य अवस्था र कोरोना भाइरस दुवैका कारण राजनीतिक गतिविधि बन्द भएको गौतमको सचिवालयले जनाएको छ। वरिष्ठ नेता झलनाथ खनाल पनि सार्वजनिक कार्यक्रममा देखिएका छैनन्। पार्टीका सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा सरकारी काममा व्यस्त रहेका छन्। महासचिव विष्णु पौडेल प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न नियमितजसो अस्पताल पुग्ने गरेका छन्। त्यसैगरी संसदीय दलका उपनेता सुवास नेम्बाङ पनि राजनीतिक रुपमा ‘बिजनेसविहीन’ भएका छन्। नेकपाले सातै प्रदेशमा सञ्चालन गरेको पार्टीगत कार्यक्रम स्थगित भएपछि नेताहरु पनि फुर्सदिलो भएका छन्।

सरकारी काम पनि सुस्त
प्रधानमन्त्री ओली अस्पताल भर्ना हुनुअघि मन्त्रिपरिषद् बैठक बसेको थियो। बैठकले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई समन्वय गर्ने जिम्मेवारी दिएको भए पनि महत्वपूर्ण निर्णय मन्त्रिपरिषद्बाटै गर्नुपर्ने हुन्छ तर मन्त्रिपरिषद् बैठक बस्ने अवस्था छैन। मन्त्रीहरुले मन्त्रालयका काम गरिरहेको भए पनि मन्त्रिपरिषद्को बैठक नबस्दा कतिपय नीतिगत निर्णय रोकिएका छन्। प्रधानमन्त्री अस्पतालमा भर्ना हुनुअघि देशवासीको नाममा सम्बोधन गर्दै कोरोनालगायतका समस्यासँग जुध्न सरकारले पर्याप्त व्यवस्था गरेको बताएका थिए। फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा कोभिड–१९’ (नोवल कोरोना भाइरस) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति गठन गरेको थियो। त्यसले बुधबारमात्रै सर्वदलीय बैठक बोलायो। सरकारका तर्फबाट कोरोना रोकथामको विषयमा देखिने गरी सर्वपक्षीय समर्थन खोजेको त्यही बैठकमा मात्रै हो। सो बैठकमा स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले सरकारका तर्फबाट भइरहेको अहिलेसम्मको तयारीबारे जानकारी गराएका थिए। गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसबारे सजगता अपनाउन मातहतका निकायलाई निर्देशन जारी गरेका छन्।

प्रकाशित: ३० फाल्गुन २०७६ ००:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App