coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

टुटल- पठाओलाई रोक्ने की कानुन संशोधन गर्ने ?

काठमाडौं – यातायात व्यवस्था विभागले पठाओ र टुटललाई लक्षित गर्दै निजी प्रयोजनका लागि दर्ता भएका सवारी भाडामा प्रयोग गरेमा कारबाही गर्ने भन्दै रोक लाउने गरी फेरि सूचना जारी गर्यो। मंगलबार विभागले टुटल र पठाओको नाम उल्लेख नगरि पुनः निजी सवारी भाडामा प्रयोग गरेको पाइएमा कानुन बमोजिम कारवाही गर्ने सूचनामा उल्लेख गरेको थियो।

ट्याक्सी व्यवसायीहरु टुटल र पठाओ विरुद्ध यातायात विभाग नै घेर्दै आएका छन्। त्यस लगत्तै विभागले निजी प्रयोजनका लागि प्रयोग गर्न नपाईने भन्दै सूचना जारी गरेको हो।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ८ को उपदफा २ र दफा १२ अनुसार निजी सवारी साधनलाई यातायात सेवा सञ्चालन गर्ने स्वीकृति नदिएको स्पष्ट पार्दै विभागले सेवा बन्द गर्न निर्देशन दिएको छ। यो कुरालाई उल्लघंन गरेर सेवा संचानल गरेमा कानुनअनुसार कडा कारबाही गरिने विभागको भनाई छ।

‘पठाओ हो कि टुटल हो जोसुकै हुन म चिन्दिनँ। हामीले नियममा जे छ त्यो कार्यान्वयन गर्नु पर्छ, यो सबैले कार्यन्वयन गर्न पनि सहयोग गर्नु आवश्यक छ’, यातायात व्यवस्था विभागका निर्देशक तथा प्रवक्ता तिर्थराज खनालले नागरिकसँग भने, ‘यस्तो गतिविधि सञ्चालन गर्ने जोकोही कारवाहीको भागिदार हुनपर्ने छ।'

 ‘यातायात व्यवस्था ऐनमा रातो नम्बर प्लेटले यातायात सेवा संचालन गर्न नपाउने भए पनि अहिले टुटल र पठाओ जस्ता नाममा नियम विपरित गतिविधि संचालन भइरहेका छन्’,उनी भन्छन्, ‘यस्तो अवैधानिक गतिविधि रोक्न अहिले विभाग सक्रिय भएको छ। यस्ता गतिविधिहरुलाई जतिसक्दो चाँडो कार्यन्वयन गरिन्छ।

पछिल्लो केहि वर्षयता नेपालमा थुप्रै युवाहरुलाई स्वारोजगर प्रदान गरेको र लाखौँ यात्रुलाई सजिलो, छिटो सेवा  राइड सेयरिङ अवधारणाले दिएको टुटलका सिइओ शिक्षित भट्ट बताउँछन्।

रोक लाउनुका सट्टा बरु ऐन–नियमलाई परिमार्जन गर्ने र थप छलफलल गरी अघि बढ्नुपर्ने उनको भनाइ छ।

नेपालमा सिमेन्ट उद्योग सुरु भयो, त्यस्तै टुटल र पठाओ पनि उद्योगको रुपमा विकास भईरहेको छ’ उनले नागरिकसँग भने,  ‘देश भएका युवालाई रोजगारी दिइरहेका छौँ। लाखौँ सर्वसाधारणलाई न्यून भाडामा उत्कृष्ट सेवा दिइरहेका छौँ।’

उनका अनुसार यातायात व्यवस्था ऐनमै व्यवस्था गर्ने गरी सरकारसँग छलफल भएको थियो। तर अहिले विभागमै कतिपय निर्णय अड्किनु सरकारको कमजोरी रहेको उनले बताए।

टुटल–पठाओ बन्द गराउन माग गर्दै मंगलबार ट्याक्सी व्यवसायीले मीनभवनस्थित यातायात व्यवस्था विभागमा घेराउ समेत गरेका थिए। ट्याक्सी व्यवसायीरूले निजी प्रयोजनका लागि मात्रै निकालिएका मोटरसाइकले यात्रु बोक्न नमिल्ने भन्दै प्रदर्शन गरेका हुन्।  

पठाओ र टुटुलले सरकारलाई ट्याक्स नतिरी आफू खुसीमा यात्रु बोक्दै आएकोले यसलाई नियमन गरेर सञ्चालन गर्नु पर्ने माग गर्छन ट्याक्सी चालकहरु।

पठाओ टुटलले आफूहरुको व्यवसायमा मर्का पर्याएकोले यसलाई सरकारले व्यवस्थित गरेर सञ्चालनमा ल्याउनु पर्ने उनीहरुको माग छ।

ट्याक्सी व्यवसायीहरू प्रचलित भाडामा सेवा दिएर सुधार ल्याउने पक्षमा देखिँदैनन बरू उल्टै आन्दोलन र दवाव दिएर पठाओ टुटललाई हटाउन उद्दत देखिएका छन। त्यसैको दबाव स्वरुप मंगलवार यातायात व्यवस्था विभागले सूचना जारी गरेको हो। ट्याक्सीबाट मिटरमा गुड्न पाउन यात्रुका लागि दुर्लभ जस्तै छ। मिटरमा गुडिहाले पनि सय/ पचास थप्न दवाव दिनेगर्छन्।

टुटल–पठाओले दुरीका आधारमा पूर्वनिर्धारित भाडामा मोटरसाइकलले यात्रु बोक्न थालेपछि तुलनात्मक रुपमा ट्याक्सी भन्दा सस्तिए पछि सर्वसाधारणले छिटो र सस्तो टुटल–पठाओ सेवालाई प्रयोग गर्दै आएका छन्।

जसको कारण ट्याक्सी व्यवसायीलाई समस्या भएको छ। सरकारले पटक पटक नियमन गरेपनि उपत्यकामा ट्याक्सीको ठगी भने उस्तै रहेको छ सुधार हुन सकेको छैन।

टुटलले ग्राहक दिएको सेवाले लोकप्रियता बटुल्दै गर्दा ‘पठाओ’ एप पनि नेपाल भित्रियो। त्यसपछि बजारमा ट्याक्सी छोडेर यस्ता सेवा लिनेहरु संख्या बढेको हो।

काठमाडौंमा उपत्यकको अधिकांस ठाउँहरुमा सानो बाटो र छिटोको लागि प्रयोग लागि पठाओ र टुटुल सजिलो भएको उपभोक्ताहरु बताउँछन्।

यो सेवा नेपालमा नेपालमा २०७३ सालदेखि टुटलले मोटरसाइलमार्फत ‘राइड सेयरिङ एप’ का रूपमा व्यवसायिक काम सुरु गरेको थियो। यसअघि तत्कालीन यातायातमन्त्री रघुवीर महासेठको पालामा टुटल– पठाओ बन्द गर्न खोजिएपछि सर्वसाधारणले चौतर्फी  विरोध गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नियमन गर्ने तर तत्काललाई बन्द नगराउन निर्देशन दिएका थिए।

 

 

प्रकाशित: २९ फाल्गुन २०७६ १२:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App