८ वैशाख २०८१ शनिबार
समाज

नक्कली चिकित्सक पक्राउ

सुर्खेत- नक्कली एनएमसी नम्वर प्रयोग गरेर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा शुभलक्ष्मी कलेज अफ हेल्थ साइन्स अस्पताल सञ्चालन गर्दै आएका डा. दीपेन्द्र काफ्लेलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल मेडिकल काउन्सिलको परीक्षामा सहभागी नभएका काफ्लेले अन्य चिकित्सकको एनएमसी नम्वर प्रयोग गरेर अस्पताल सञ्चालन गर्नुका साथै विरामी चेकजाँच गर्दै आएका थिए।

अर्कैको एनएमसी नम्वर प्रयोग गरेर वीरेन्द्रनगरमा शुभलक्ष्मी कलेज अफ हेल्थ साइन्स अस्पताल सञ्चालन गर्दै आएका डा. दीपेन्द्र काफ्लेलाई प्रहरीले पक्राउ गरेको हो।

काफ्लेलाई नक्कली एनएमसी नम्वर प्रयोग गरेर विरामी चेकजाँच गर्नुका साथै नेपाल मेडिकल काउन्सिलमा नक्कली प्रवेशपत्र पेश गरेको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। काफ्लेले आफूलाई आईभीएफ (इनभिट्रो फर्टिलाइजेशन) विशेषज्ञ बताउने गरेका छन्।

नेपाल मेडिकल काउन्सिलले काफ्लेले नक्कली एनएमसी प्रयोग गरेर डाक्टर खेल्नुका साथै विरामी चेकजाँच गरिरहेको पाइएकाले पक्राउ गरेर कारबाही गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) लाई पत्राचार गरेको थियो। ब्यूरोको निर्देशनपछि सुर्खेत प्रहरीले काफ्लेलाई पक्राउ गरेको हो।

‘केन्द्रीय अनुसन्धान ब्यूरोको आधारमा शुभलक्ष्मी कलेज अफ हेल्थ साइन्स अस्पतालका सञ्चालक काफ्लेलाई बुधबार पक्राउ गरेका हौं,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक (डिएसपी) रवी रावलले भने, ‘ठगीमा तीन दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएका छौं।’

प्रहरीका अनुसार अहिलेसम्मको अनुसन्धानले अन्य चिकित्सकको एनएमसी नम्वर प्रयोग गरेर विरामी जाँच्दै आएको भेटिएको छ। काफ्लेले २०३८८ नम्वरको एनएमसी नम्वर प्रयोग गर्दै आएका छन्। प्रहरीका अनुसार काफ्लेलाई ठगीसँगै आपराधिक लाभ, कृर्तेलगायतका कसुरमा पनि मुद्दा चलाइने छ। ‘अहिलेसम्म नक्कली चिकित्सक बनेर कति जनालाई चेकजाँच गरे भन्नेमा अनुसन्धान केन्द्रीत गरेका छौं,’ डिएसपी रावलले भने, ‘अनुसन्धानकै क्रममा रहेकाले विस्तृत विवरण दिन मिल्दैन।’

काफ्लेले बंगलादेशको एमजीआर ट्रष्टबाट एमवीवीएस उत्तीर्ण गरेको बयान प्रहरी समक्ष दिएका छन्। काउन्सिलका अनुसार बंगलादेशको एमजीआर ट्रष्ट रजिष्ट्रर छैन। नेपाल मेडिकल काउन्सिलका अनुसार लाइसेन्स नलिएर एमविविएस उत्तीर्ण गरेकाहरुले डाक्टर लेख्न र विरामीहरुको चेकजाँच गर्न पाउँदैनन्। यस्तै काफ्लेले मेडिकल काउन्सिलमा नक्कली प्रवेश पत्र पेश गरेको पाइएको छ।

एमविविएस उत्तीर्ण गरेका डाक्टरले नेपाल मेडिकल काउन्सिलको परीक्षामा सहभागी भएर एनएमसी नम्वर पाएपछि मात्रै विरामी चेकजाँच गर्न पाउँछन्। काउन्सिलले सुरुमा दुई वर्षको अस्थायी लाइसेन्स दिन्छ। ‘यो ट्रायल पिरियड हो,’ काउन्सिलका एक पदाधिकारीले भने, ‘दुई वर्षसम्म कुनै गुनासो नआएको खण्डमा स्थायी लाइसेन्स दिने व्यवस्था छ।’ विशेषज्ञका लागि स्थायी लाइसेन्स प्राप्त गरेका चिकित्सकहरुले छुट्टै परीक्षा दिनुपर्छ।

अनुमतिविनै अस्पताल सञ्चालन
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले शुभलक्ष्मी अस्पतालको सेवा सञ्चालन अनुमति रद्द गरे पनि अस्पताल भने सञ्चालनमै छ। पाँच महिनाअघि अस्पतालले अस्थायी अनुमति पत्र पाएर सेवा सञ्चालनमा ल्याएको थियो। कात्तिक ७ गते उपराष्ट्रपति नन्दबहादुर पुन अस्पताल उद्घाटनका लागि सुर्खेत आएका थिए।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले दिएको अस्पताल सञ्चालन र अस्थायी अनुमति पत्र त्रुटीपूर्ण देखिएपछि उपराष्ट्रपति पुन अस्पताल उद्घाटन नगरेरै काठमाडौं फर्केका थिए। ‘स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका-२०७०’ एवम् २०७५ असोज ९ गतेको स्वास्थ्य मन्त्रालयको सचिवस्तरीय निर्णयमा प्रदेशका कुनै पनि अस्पताल सञ्चालनको अनुमति र नवीकरणको जिम्मा सामाजिक विकास मन्त्रालयको सचिवस्तरीय बैठकलाई दिएको छ।

तर, सचिवलाई बेवास्ता गरेर महाशाखाले एकल निर्णय गरेर स्वीकृति दिएको पाइएको थियो। ‘निर्णय त्रुटिपूर्ण देखिएपछि कात्तिकमै हामीले अस्थायी अनुपति पत्र रद्द गरिसकेका छौं,’ महाशाखाका प्रमुख वृषबहादुर शाहीले भने, ‘अहिले अस्पताल सञ्चालनमा रहे/नरहेको बारेमा जानकारी छैन।’ महाशाखाले २५ शैयाको अस्पताल सञ्चालन गर्न अनुमति दिएको थियो। स्वास्थ्य महाशाखाले अस्थायी अनुमति पत्र रद्द गरिसकेको शुभलक्ष्मी अस्पतालले स्थायी अनुमति पत्रका लागि जिल्ला जनस्वास्थ्य सेवा कार्यालयमा निवेदन दिएको छ। ‘निवेदन दर्ता भएको छ,’ कार्यालयका प्रमुख चेतनिधि वाग्लेले भने, ‘अनुमति दिएका छैनौं।’

अस्पतालका अध्यक्ष पसल रोकायले सामाजिक विकास मन्त्रालय अन्र्तगतको स्वास्थ्य महाशाखाबाट अस्थायी अनुमति पत्र लिएरै अस्पताल सञ्चालन गरिरहेको दावी गरे। ‘अस्थायी अनुमति पत्र एक वर्षसम्मलाई हुन्छ,’ उनले भने, ‘स्थायीका लागि जिल्ला जनस्वास्थ्य सेवा कार्यालयमा निवेदन दिएका छौं।’ उनले चिकित्सक पक्राउको बारेमा आफूलाई जानकारी नभएको बताए। ‘म बाहिर भएकाले यो विषयमा जानकारी भएन,’ उनले भने।

प्रकाशित: २९ फाल्गुन २०७६ १२:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App