८ वैशाख २०८१ शनिबार
राजनीति

सीमा नाकामा स्क्रिनिङ डेस्क स्थापना गर्ने

विराटनगर- विश्वव्यापी बनेको कोरोनाको सम्भावित संक्रमण रोक्न तथा संक्रमण देखापरिहाले उपचारको प्रबन्ध गर्न प्रदेश १ सरकारले योजनाबद्ध तयारी थालेको छ। कोरोनाको रोकथाम, उपचार र प्रतिरक्षाका लागि सरकारले एकीकृत कार्ययोजना तयार पारेको हो।

बिहीबार सम्पन्न प्रदेश मन्त्रीपरिषद बैठकले कार्ययोजना पारित गर्दै तत्कालै लागू गरिने जनाएको छ। मुख्यमन्त्री शेरधन राईका अनुसार एकीकृत कार्ययोजनामा सही सूचना सम्प्रेषणदेखि संक्रमितहरुको गोपनीयता राख्नेसम्मका योजना रहेका छन्। प्रदेश सरकारकै अगुवाईमा २३ बुँदे योजना तत्कालै कार्यान्वयन गरिने मुख्यमन्त्री राईले बताए।

कार्ययोजनामा व्यक्तिगत सरसफाईबारे सचेतना फैलाउने, अन्तर्राष्ट्रिय र प्रदेश नाकाहरुमा स्क्रिनिङ डेस्क स्थापना गर्ने, भद्रपुर, विराटनगर र लुक्ला विमानस्थलमा पनि डेस्क स्थापना गर्ने, आवश्यक जनशक्ति र उपकरणको प्रबन्ध गर्ने उल्लेख छ। यसैगरी शंकास्पद व्यक्तिलाई त्यस्तो डेस्कबाट क्वारेन्टाइन वा आइसोलेसनसम्म पुर्‍याउने प्रबन्ध पनि गरिएको सरकारको भनाइ छ।

प्रदेश सरकारको कार्ययोजनामा हरेक नाकामा ९ र विमानस्थलमा ६ जनाको दरले स्वास्थ्यकर्मी परिचालन गरिने उल्लेख छ। औषधि, औजारहरुको स्टक र ढुवानीको प्रबन्ध गर्ने, कोशी, मेची, बीएण्डसी र धरानस्थित वीपी प्रतिष्ठानमा घटीमा ३० वटा आइसोलेसन बेड तयार पारिने सरकारको कार्ययोजनामा उल्लेख छ। 'यी सबै काम तत्कालै गरिनेछु,' मुख्यमन्त्री राईले भने 'डेस्क स्थापना गर्ने काम भइसकेको छ। बेडहरु पनि तयारी अवस्थामा राखिएको छ।' उनका अनुसार जिल्ला अस्पतालहरुमा पनि त्यस्ता बेडहरु तयार गर्ने तयारी सुरु भएको छ।

प्रदेश सरकारले पाँच वटा सीमा नाकाहरु जोगवनी, काँकडभिट्टा, भद्रपुर, पशुपतिनगर र भन्टाबारीमा चालक र मेडिकल टोलीसहितको एम्बुलेन्स सेवा पनि तैनाथ गरिने जनाएको छ। प्रदेश र जिल्ला तहमा पनि २–२ वटाकै दरले २० वटा एम्बुलेन्स तयार राखिने कार्ययोजनामा उल्लेख छ।

स्वास्थ्यकर्मीको सुरक्षा, प्रोत्साहन भत्ताको व्यवस्था गर्ने, अत्यावश्यक वस्तुको अभाव र कालोबजारी रोक्ने, सुरक्षा निकाय पनि परिचालन गर्ने, योजनामा उल्लेख गरिएको छ।

प्रदेश सरकारले पहिलो चरणमा सुनसरीको श्रीलंका टापु र मोरङ टाँडीको सैनिक इलाकामा क्वारेन्टाइन स्थापना गर्ने भएको छ। यी सबै काम सम्पन्न गर्न मुख्यमन्त्रीको अध्यक्षतामा निर्देशन समिति पनि गठन गरिने प्रदेशले जनाएको छ।

प्रकाशित: २९ फाल्गुन २०७६ ११:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App