८ वैशाख २०८१ शनिबार
समाज

रोल्पामा दुई बोरा सकेट बम फेला, असोजमा भेटिएका 'युद्ध सामाग्री' बारे सुरक्षा निकाय अझैं मौन

रोल्पा - रोल्पाको थबाङ गाउँपालिका वडा नं ३ मिरुलको रापा जङ्गगलमा दुई बोरा सकेट बम फेला परेको छ। बुधवार बिहान करिव १० बजे तिर स्थानीयले घाँस काट्ने क्रममा शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए। सुचना पाए लगतै स्थानीय रानागाउँ प्रहरी चौकीको प्रहरी टोलीले उक्त स्थानलाई सुरक्षा दिएर राखेका छन्।

मिरुल स्थित वडा कार्यलय भन्दा करिव ५० मिटरको दुरीमा बम फेला परेको हो। वडा अध्यक्ष भिमबहादुर रोकाका अनुसार बम राखिएको बोराहरु कुहिएको अवस्थामा रहेको छ। ‘मैले पनि स्थानीयसंग बुझेको हुँ। सानो सानो दुई वटा बोरामा छ रे।’ रोकाले भने ‘यो द्धन्द्धकालीन अवस्थामा रहेको बम हुन सक्छ।’

रोल्पा प्रहरी प्रमुख डिएसपी चित्रबहादुर गुरुङले बम भेटिएको पुष्टि गर्दै बम कसले किन राखिएको भन्ने बारेमा अनुसन्धान भैरहेको बताए । उनका अनुसार जिल्लास्थित सुरक्षा समितिको बैठकले नेपाली सेनालाई बम डिस्पोज गर्नका लागि अनुरोध गरेको छ। उक्त बम डिस्पोजको लागि नेपाली सेनाको टोली बिहिवार मिरुलतर्फ गएको छ।
विप्लव नेकपाको बलियो प्रभाव मानिएको रोल्पामा हतियार भेटिनुलाई अर्थ पूर्ण रुपमा हेर्न सकिने स्थानीयहरु बताउँछन्।

असोजमा भेटिएका युद्ध सामाग्रीका बारेमा सुचना अझै गोप्य
गत असोज दोस्रो साता नेपाली सेनाको एक टोलीले नियन्त्रणमा लिएको ‘युद्ध सामग्री’, हातहतियार र विस्फोटक पदार्थका बारेमा ५ महिनासम्म पनि सुरक्षा निकायले कुनै औपचारिक जानकारी दिएको छैन। सामान्य बम ग्रीनेड वा एउटा पेस्तोल बन्दुक भेटिदा तस्बिर सहित पत्रकार सम्मेलन गर्ने सुरक्षा निकाय यो बिषयमा अझैसम्म पनि मौन छ।

उत्तरी रोल्पाको परिवर्तन गाउँपालिका–१ कुरेली भित्रिवन पुवाखोरेकोे एक गोठमा भण्डारण गरिएको युद्ध सामग्री नेपाली सेनाले असोजको दोस्रो साता नियन्त्रणमा लिएको थियो। रोल्पामा ठूलो परिमाणमा हतियार भेटिएको कुरा स्थानीय प्रहरीले सूचना पाउनु भन्दा पहिले सुरक्षाको माथिल्लो निकायले जानकारी पाएको थियो। हतियार भेटिएको बारे सुरक्षा निकायको माथिल्लो अंगले कसरी जानकारी पायो भन्ने बारे कतैबाट पुष्टि भएको छैन। स्थानीयका अनुसार सुरक्षित अवस्थामा रहेका विष्फोट योग्य हतियार सेनाले लगेको थियो भने केहि हतियार गोठ छेउमा डिस्पोज गरेको थियो।

गोठमा रहेको हतियार नियन्त्रणमा लिनेबारे असोज १० गते जिल्ला सुरक्षा समितिको बैठक समेत बसेको थियो। बैठकमा ५ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, नेपाली सेनाका पृतनापति सीताराम खड्का, नेपाल प्रहरीका डीआईजी सुरेशविक्रम शाह उपस्थित थिए। उच्च सुरक्षा निकायबाट नै नेपाली सेनाको डिस्पोजल सम्बन्धी विशेष टोली भित्रिवन पठाएको थियो।

जिल्ला सुरक्षा समितिले पत्रकार सम्मेलन गरेर सार्बजनिक गर्न खोजेको भए पनि सुरक्षाको माथिल्लो निकायले रोकेको एक अधिकारीले बताए। युद्धकालीन हतियार अनमिनमार्फत बुझाएको भनिरहदा ठूलो परिमाणमा युद्ध सामाग्री भेटिएपछि तत्कालीन माओवादी तथा हालको सरकारी पक्षलाई असजिलो हुने भएपछि घटना लुकाउन खोजिएको एक सुरक्षा अधिकारीले बताए। त्यसो त उक्त समयमा प्रचण्डले केहि हतियार खोलामा बगेको जिकिर पनि गरेका थिए।

सो समयमा उच्च विस्फोटक (हाइ एक्सप्लोसिभ) बम, ह्याण्ड ग्रिनेड, एलएमजी व्यारेल ६ थान, म्यागनम व्यारेल १ थान, इम्प्रोभाइज बन्दुक १ थान र इम्प्रोभाइजर मोर्टार गण १ थान फेला परेका थिए। एम १६ को ‘लाइभ राउण्ड’ (गोली) ४ हजार १ सय ९१ वटा र एटीवानको खाली गोली एक सय ३९ थान बरामद गरिएका थियो। एटीवान लाइभ बम ११ थान, फोर्टी एमएचई बम ३ थान, हाते ‘ग्रिनेड–३६’ को ३ थान, ‘डैटोनेटर–७५’ थान ५, ‘डैटोनेटर–२७’ थान २, फिप्टी वान एचइ बम १३ थान र इस्मोकमिङ कम्प्लिट बम १९ थान थिए।

यस्तै टुइन्च मोर्टारको सेल २२ वटा, १२ केजी बारुद, २ केजी गण पाउडर र ४ मिटर सेफ्टी फ्यूज छन्। विभिन्न हतियारका खाली म्यागजिन पनि गोठमा फेला परेका थिए। एसएलआरको १३ वटा, थी्र नट थ्रीको ११ वटा, एलएमजीको ३७ वटा, एसएमजीको दुई, एके ४७ को एक, गलिलको एक र पेस्तोलको तीनवटा खाली म्यागजिन छन्। बिग्रिएको अवस्थाका दुईवटा साना जेनेरेटर पनि फेला परेको थियो।

प्रकाशित: २९ फाल्गुन २०७६ ०४:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App