७ वैशाख २०८१ शुक्रबार
अर्थ

सुन्तलाबाट वार्षिक १० लाख आम्दानी

निगाली (कैलाली)- मैले यस वर्ष १० लाखको सुन्तला फलाएको छु,' देवीरामले भने, 'सात लाखको बिक्री गरिसकेको छु, अझै बिक्री हुन बाँकी छ।' मिहिनेत गरे आफ्नै माटोमा सुन फलाउन सकिन्छ भन्ने उदाहरण बनेका छन्, कैलाली पहाडी गाविस निगाली– २ का किसान देवीराम सापकोटा।

४५ वर्षीय देवीरामले १५ वर्षअघि व्यावसायिक सुन्तलाखेती सुरु गरेका हुन्। सुरुमा उनले वार्षिक २०–२५ हजार रुपैयाँ बराबर सुन्तला बिक्री गर्थे। बिस्तारै सुन्तलाका बिरुवा थप्दै गए।

अहिले उनले १० रोपनीमा सुन्तलाखेती गरेका छन्। '१० रोपनीमा करिब दुई सय सुन्तला बोट छन्,' उनले भने। करिब दुई सय क्विन्टल फलेको उनले बताए। व्यावसायिक रुपमा १० लाख रुपैयाँ बराबर सुन्तला फलाउने उनीसँग कामदार भने छैनन्। 'सुन्तला टिप्ने बेला मात्र अलिअलि कामदार लगाउने गरेका छौँ,' उनले भने, 'नियमित काम गर्न कामदार राखेका छैनौँ।'

अरु बेला सापकोटा दम्पती नै काममा खटिन्छन्। 'चार छोरा कलेज पढिरहेका छन्,' श्रीमती रुपाले भनिन्, 'हामी आफैँ सबै काम गर्छौं।' टिपेका सुन्तला बोकेर गाडीमा लोड गर्ने काम आफैँ गर्ने गरेको उनले बताइन्। चार छोरालाई राम्रो कलेजमा पढाइरहेको उनले बताइन्।

उनको बारीमा ठूला र आकर्षक दाना सुन्तला फलेका छन्। स्थानीय गीता सापकोटाले भन्छिन्, 'उनले फलाएका सुन्तला अरुको भन्दा ठूला छन्।'

पहाडी गाविस निगाली सुन्तला उत्पादनका लागि उपयुक्त छ। सबैले सुन्तला फलाएर बिक्री गरे पनि देवीरामले अरु भन्दा बढी सुन्तला फलाएको स्थानीय दीपा कँडेलले बताइन्। 'हाम्रो गाउँमा उनको राम्रो र धेरै ठूलो सुन्तला बारी छ,' उनले भनिन्

देवीराम देशमै राम्रो आम्दानी गर्न सकिने उदाहरण  बनेको स्थानीय शिक्षिका गीता सापकोटा बताउँछिन्। 'पहाडी गाविसमा फलफूल र तरकारी उत्पादन गरेर वर्षको १०–१५ लाख आम्दानी गर्न सके किन विदेशमा जानुपर्‍यो?' उनले भनिन्।

देवीरामले व्यावसायिक तरकारीखेती पनि गरेका छन्। 'वर्षको तीन, चार लाख रुपैयाँको तरकारी पनि बिक्री गर्ने गरेको छु,' उनले भने।

कृषि विकास कार्यालय कैलाली निमित्त प्रमुख गोविन्दराज जोशी १० लाख रुपैयाँ बराबरको सुन्तला फलाउनु धेरै उपलब्धि भएको बताउँछन्। '१० लाखको सुन्तला फैलाउने उनी जिल्लामै पहिलो किसान हुन्,' उनले भने।

५० हजारदेखि दुई–तीन लाखका सुन्तला बिक्री गर्ने किसान भए पनि १० लाख रुपैयाँ बराबर फलाउने उनी पहिलो किसान भएको उनले बताए। कैलालीमा एक सय हेक्टरमा सुन्तलाखेती हुने गरेको उनले बताए। जिल्लामा करिब आठ सय मेटि्रक टन सुन्तला फल्ने गर्छन्। दुई सय किसानले व्यावसायिक रूपमा सुन्तलाखेती गर्ने गर्छन्। निगाली सबैभन्दा बढी सुन्तला फल्ने गाविस हो।

प्रकाशित: २३ पुस २०७३ ०३:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App