संगम घर्तीमगर
बाग्लुङ- बाहिरी जिल्लाबाट वार्षिक साढे १२ करोड रुपैयाँको अन्डा बाग्लुङ भित्रिने गरेेको छ। यहाँका उपभोक्ताले उपभोग गर्नेमध्ये ८० प्रतिशतभन्दा बढी अन्डा बाहिरी जिल्लाबाट आयात हुने गरेको जिल्ला पशु सेवा कार्यालय बाग्लुङले जनाएको छ। उपभोक्ताको मागलाई थेग्न वार्षिक १२ करोड रुपैयाँभन्दा बढीको अन्डा आयात गर्ने गरिएको जिल्ला पशु सेवा कार्यालय बाग्लुङका प्रमुख डा. गोपाल गिरीले बताए। ‘राष्ट्रिय मापदण्डअनुसार एक व्यक्तिलाई वार्षिक ४८ वटा अन्डा आवश्यक हुन्छ,’ डा. गिरीले भने, ‘यहाँको उत्पादनले नौवटा जति पुग्छ, बाँकी बाहिरबाट ल्याउनुपर्छ।’ यहाँ प्रतिव्यक्ति ३९ अन्डा अपुग हुने गरेको गिरीले बताए। डा. गिरीका अनुसार यहाँ चितवनबाट अन्डा आयात गर्ने गरिएको छ।
अन्डा उत्पादनका लागि बढी लगानी गर्नुपर्ने र प्रतिफल ढिलो प्राप्त हुने कारण यहाँका किसानमा अन्डा उत्पादनप्रति आकर्षण नदेखिएको किसान हरिप्रसाद शर्माले बताए। ‘अन्डाका लागि कुखुरालाई ५–६ महिना बिनाप्रतिफल पाल्नुपर्छ,’ उनले भने, ‘किसानले छिटो प्रतिफल खोज्ने र बढी खर्चिलो हुँदा यतातर्फ आकर्षण छैन।’
अन्डा उत्पादन गर्ने किसानलाई राज्यका निकायबाट समेत उचित सहयोग नभएको उनले गुनासो गरे। ‘अरु क्षेत्रमा सरकारी तवरबाट पनि विभिन्न अनुदान सहयोग आउँछन्, हामीले कुनै सहयोग छैन,’ उनले भने। कुखुरालाई दाना दिँदा पनि सन्तुलन मिलाउन गाह्रो हुने गरेको उनको अनुभव छ। ‘दाना दिँदा पनि अलिकति पनि तलमाथि नगरी सन्तुलनमा दिनुपर्छ, प्राविधिक ज्ञान नहुँदा पनि यसमा लगानी जोखिममा पर्न सक्छ,’ शर्माले भने।
अन्डामा आत्मनिर्भर बनाउन अन्डा उत्पादन गर्ने किसानलाई पशु सेवा कार्यालय बाग्लुङले यस आर्थिक वर्षदेखि अनुदान सहयोग गर्ने भएको छ। यो वर्षदेखि अन्डा उत्पादन गर्ने किसानलाई अनुदान सहयोग र लियर्स कुखुराका चल्ला वितरण गर्ने योजना रहेको कार्यालयका पशु प्राविधिक केशव पौडेलले जानकारी दिए।
कार्यालयका पशु विकास अधिकृत नीलकण्ठ शर्माका अनुसार यस वर्ष बाग्लुङमा अन्डा उत्पादनका लागि सात हजार पाँच सय लियर्स कुखुराका चल्ला वितरण गर्ने योजना छ। यसका अलावा अन्डा उत्पादन गरिरहेका किसानलाई अनुदान रकम सहयोग गर्ने कार्यक्रम तय गरिएको उनले बताए।
एक सय कुखुरा पालेका किसानलाई ३० हजार रुपैयाँ, दुई सय कुखुरा पालेकालाई ४० हजार र तीन सयभन्दा बढी कुखुरा पालेकालाई ५० हजार रुपैयाँ अनुदान सहयोग गरिने पशु सेवा कार्यालय प्रमुख डा. गिरीले बताए।
‘अन्डा उत्पादनका लागि किसानलाई सहयोग गर्ने कार्यक्रम यसै वर्षबाट सुरु हुँदै छ, हामीले प्रस्तावपत्र आह्वान गरिसकेका छौँ,’ डा. गिरीले भने, ‘अन्डामा आत्मनिर्भर बनाउन किसानलाई अनुदान सहयोगका साथै प्राविधिक कुरा समेत जानकारी गराउँछौँ।’ केही वर्षमै जिल्लालाई अन्डामा आत्मनिर्भर बनाउने गरी योजना अघि सारिएको डा. गिरीले बताए।
प्रकाशित: २३ पुस २०७३ ०३:२७ शनिबार