७ वैशाख २०८१ शुक्रबार
अर्थ

घाटामा ब्रोइलर कुखुरापालक

चितवन- अन्डाको मूल्य उच्च भएका बेला कुखुरा मासु भाउ भने बढ्न सकेको छैन। मूल्य नबढ्दा उपभोक्तालाई राहत भए पनि किसानलाई मर्का परेको छ। ब्रोइलर कुखुरा पालेका किसानले लागत मूल्यभन्दा निकै कममा कुखुरा बेच्न बाध्य छन्। नेपाल कुखुरा व्यवसायी मञ्च केन्द्रीय अध्यक्ष शंकर कँडेल लागत मूल्यभन्दा प्रतिकिलो ५० रुपैयाँ घाटा खाएर किसानले कुखुरा बेचेको बताउँछन्।

नवलपरासी १६ नम्बरका किसान धनपति ज्ञवालीले एक हजार ब्रोइलर कुखुरा पाल्दै आएका छन्। तीन वर्षअघि उनले जिउँदो कुखुरा प्रतिकिलो दुई सय ६० रुपैयाँमा बेचेका थिए, अहिले बल्लबल्ल एक सय ६५ रुपैयाँ पाउन थालेका छन्। एउटा कुखुरा हुर्काएर दुई किलोसम्मको बनाउन तीन सय ७० देखि चार सय रुपैयाँसम्म खर्च लाग्छ। जिउँदो कुखुरा प्रतिकिलो एक सय ९० रुपैयाँभन्दा माथि बिक्री गर्न नसके घाटा लाग्ने उनले बताए।

'जुन बेला हामीले दुई सय ६० रुपैयाँ किलोमा जिउँदो कुखुरा बेच्न सकेका थियौँ, त्यो बेला चल्लाको मूल्य ४० रुपैयाँ थियो। अहिले ७५ रुपैयाँमा चल्ला हालेर एक सय ५० मा कुखुरा बेच्नुपरेको छ। त्यो बेला ४० रुपैयाँ किलोको दाना अहिले ५३ रुपैयाँ भएको छ,' किसान ज्ञवालीले भने। प्रतिकिलो एक सय १५ रुपैयाँसम्म झरेको कुखुरा मूल्य केही सुधार हुँदै आएर एक सय ५० देखि एक सय ६५ रुपैयाँसम्म पुगेको छ।

किसानले पाउने कुखुरा मूल्य र उपभोक्ताले किन्ने मासु मूल्यमा ९० देखि सय रुपैयाँसम्म फरक रहँदै आएको छ। अहिले चितवनका बजारमा मासुको उपभोक्ता मूल्य  प्रतिकिलो दुई सय ६० रुपैयाँदेखि दुई सय ८० रुपैयाँसम्म रहेको नेपाल कुखुरा बजार व्यवस्थापन संघ केन्द्रीय सहकोषाध्यक्ष दीपक पाण्डेले बताए। कुखुरा लागत मूल्य बढेका बेला कम मूल्यमा कुखुरा बेच्दा किसानलाई निकै सकस भएको ज्ञवालीले बताए।

'सरकारले नेपाललाई मासुमा आत्मनिर्भर बनाउने योजना ल्याएको छ तर धेरै किसान जोडिएको कुखुरा बजार मूल्य सुधार्न ध्यान दिएको अवस्था छैन,' नेपाल कुखुरापालक किसान संघका केन्द्रीय अध्यक्ष प्रकाशबाबु खनालले भने। भारतबाट कुखुराको मासु आयात भएका कारण नेपाली किसानले घाटा व्यहोर्नुपरेको खनालले बताए। भारतबाट अवैधानिक रुपमा आयात हुने गरेको उनको भनाइ छ।

नेपालमा खैरो रंगको बोक्रा हुने अन्डा मात्रै उत्पादन हुने गरेको छ। भारतमा उत्पादन हुने अन्डा सेतो रंगको हुन्छ। त्यसैले अन्डा लुकिछिपी भारतबाट आयात गर्न सम्भव छैन। त्यसैले यो बेला अन्डा मूल्य राम्रो आएको छ। अन्डाजस्तै नेपालमा मासुको उत्पादन अहिले कम छ। मूल्य भने बढ्न नसक्दा आयात बढेको प्रस्ट हुने नेपाल कुखुरा व्यवसायी मञ्च केन्द्रीय अध्यक्ष शंकर कँडेलको भनाइ छ।

'ब्रोइलर चल्ला बढी बिक्री भएका पनि छैनन्। त्यसैले मासुको उत्पादन बढेको अवस्था होइन तर माग कम भएको छैन। उत्पादन कम र माग बढी हुँदा पनि मूल्य नबढ्दा बाहिरबाट मासु आएको प्रस्ट भएको छ,' अध्यक्ष कँडेलले भने। तर जिउँदो कुखुरा नभएर तयारी मासु अवैधानिक तवरमा आएको उनको आशंका छ। ठूला कन्टेनरमै मासु आउने गरेको कँडेलले बताए।

नेपाल कुखुरापालक किसान संघ केन्द्रीय अध्यक्ष प्रकाशबाबु खनाल माछा र सी फुडका नाममा कन्टेनरमा कुखुराको मासु आउने गरेको बताउँछन्। यसका साथै जिउँदो कुखुरा ल्याएर पनि बिक्री गर्ने गरेको उनले बताए। 'भारतबाट जिउँदो कुखुरा ल्याएर एक दिन आफ्नो फार्ममा राखेर बजारमा पठाउने गरेको समेत पाइयो। यसको अनुगमन कसले गर्ने? यस्तैले गर्दा मूल्य नआएको हो,' खनालले भने।

चल्ला राखेको ४५ दिनभित्रै ब्रोइलर कुखुरा बिक्रीका लागि तयार हुन्छ। त्योभन्दा धेरै दिन राखे दाना बढी खाने, वजन कम हुने र बेच्न ढिलाइ भए मर्ने क्रम पनि बढ्ने समस्या छ। 'त्यसैले लागत मूल्य नउठे पनि दिन कटेपछि बिक्री गर्नुपर्ने बाध्यता किसानलाई छ। हामी लागत मूल्य आउँछ र बेच्छौँ भनेर कुरेर बस्न सक्ने अवस्थामा छैनौँ,' किसान खनालले भने।

दाना, चल्ला बेच्नेले लागत मूल्य जोडेर मात्रै मूल्य तोक्ने गरेको उनले बताए। तर कुखुरा किसानको अवस्था त्यस्तो नरहेको उनको भनाइ छ। नेपाल कुखुरा व्यवसायी मञ्च केन्द्रीय समितिले दिएको तथ्यांकअनुसार देशभर २१ हजार ब्रोइलर फार्म रहेका छन्। बिक्रीका लागि चाँडै तयार हुने भएका कारण सानो पुँजी भएकाले पनि ब्रोइलर कुखुरा पाल्ने गरेका छन्।

मञ्चको तथ्यांकअनुसार देशभर हाल दैनिक आठ लाख केजी मासु उत्पादन हुने गरेको छ।

मूल्य नपाउँदा किसान पेसा नै छाड्न बाध्य भएको किसान संघ अध्यक्ष खनालले बताए। 'वर्षमा ३० प्रतिशतजति किसान विस्थापित हुने गरेको अवस्था छ। यो क्रमले मासुमा आत्मनिर्भर हुने सरकारी घोषणा कसरी पूरा होला?' किसान खनालले भने।

प्रकाशित: २३ पुस २०७३ ०३:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App