७ वैशाख २०८१ शुक्रबार
खेल

प्रिमियर लिगमा पनि कोरोना प्रभाव

लन्डन – म्यानचेस्टर सिटीमा तय भएको आर्सनलको खेल बुधबार स्थगित भएको छ। आर्सनलका खेलाडी कोरोना भाइरसका संक्रमण क्वारेन्टाइनमा रहेपछि पहिलो पटक प्रिमियर लिगको तालिका स्थगित गर्न परेको हो।  

आर्सनलले खेलाडी र चार कर्मचारी भाइरसका कारण संक्रमण भएको र अन्य खेलाडीभन्दा टाढा रहनका लागि आइसोलेसनमा राखेको जनाएको छ। आर्सनलले यसअघि ग्रिकको क्लब ओलम्पियाकोससँग अघिल्लो साता युरोपा लिगको दोस्रो लेग खेलेको थियो। त्यसपछि देखिएको समस्यापछिको परीक्षणपछि खेलाडी र केही कर्मचारीमा कोभिड–१९ पोजेटिभ देखिएको थियो। ‘सरकारले जारी गरेको निर्देशनलाई कुनै कसुर बाँकी नराखी अबलम्बन गरेका छौं। सोहीअनुसार हामी हाम्रै स्थानमा १४ दिन आइसोलेसनमा रहेका छौं,’ आर्सनलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

जारी भएको यस विज्ञप्तिसँगै बुधबार तय भएको प्रिमियर लिगको खेल स्थगित हुने पक्का भएको छ। प्रिमियर लिगको खेल स्थगित भएसँगै सिटीलाई आर्थिक घाटा पनि लागेको छ। यस्तै लगानी गरेको टिभी प्रसारक संस्था, विज्ञापनदाता पनि आर्धिक चपेटामा परेका छन्। फेब्रुअरीको अन्तिम साता युरोपा लिगको छनोट खेलमा आर्सनल अवे गोलका कारण बाहिरिनुपरेको थियो। समग्रमा २–२ गोल भए पनि ओलम्पियाकोस अवे गोलमा विजेता बन्दै अघिल्लो चरण प्रवेश गरेको थियो। आर्सनलका कर्मचारी र खेलाडीमा देखिएको समस्यापछि ग्रिक क्लब ओलम्पियाकोसले पनि आफ्ना खेलाडीमा कोरोना भाइरस परीक्षण गरेको छ। तर कुनै पनि तथ्य बाहिर आएको छैन। आर्सनलले संक्रमण देखिएका खेलाडी र कर्मचारी आउँदो प्रिमियर लिगमा ब्राइटनसँग हुने खेलका लागि  फर्किने जनाएको छ। ‘मेडिकल चेकअपपछि कोभिड–१९ को संक्रमण उनीहरूमा न्यून छ, १४ दिनको आइसोलेसनपछि उनीहरू सामान्य अवस्थामा आउने स्वास्थ्य परीक्षणबाट बताइएको छ,’ आर्सनलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

यस्तै इटालियन सिरी ‘ए’ र अन्य खेलकुद गतिविधि पनि कोरोना भाइरसका कारण स्थगित भएका छन्। इटालीमा सबैखाले सभा सम्मेलन, गोष्ठी, खेलुकद गतिविधिलगायतका मानिसको बाक्लो उपस्थित हुने सबै कार्यक्रमा सख्त बन्द गर्न सरकारले उर्दी जारी गरेको छ। उता स्पेन र फ्रान्सका शीर्ष डिभिजनका खेल पनि दर्शकबिना खेलाउने गरी तालिका तय भएका छन्। साथै युइएफए च्याम्पियन्स लिग र युरोपा लिग पनि खाली रंगशालामा खेलाउने प्रस्ताव अघि सारिएको छ। युरोपा लिगमा यसै साता ओलम्पियाकोसले उल्भरह्याम्पटनसँग एथेन्समा खाली रंगशालामा खेल खेल्ने तालिका रहेको छ।

प्रकाशित: २९ फाल्गुन २०७६ ०१:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App