coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सरकारी जग्गा नेकपा नेतालाई ठेक्का

नेकपा जिल्ला नेता विश्वराज आचार्यलाई ठेक्कामा दिइएको सरकारी जग्गा। तस्बिर :देवेन्द्र/नागरिक

दाङ – घोराहीस्थित १६ कट्ठा सरकारी जग्गा सत्तारुढ नेकपाका नेतालाई ठेक्कामा दिइएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीका नाममा रहेको १५ कट्ठा १४ धुर खाली जग्गा नेकपाका नेतालाई ठेक्कामा दिइएपछि चर्को आलोचना भएको छ। सो जग्गामा मेला, महोत्सवलगायत विभिन्न कार्यक्रम हुन्थे। कम्पनीले सत्तारुढ नेकपाका नेतालाई ठेक्कामा दिएपछि घोराहीमा सार्वजनिक कार्यक्रम गर्ने स्थलको समेत अभाव खड्किएको छ।

‘अब घोराही बजार क्षेत्रमा खाली जमिन सकियो भन्दा पनि हुन्छ, भोलि कुनै प्राकृतिक विपत् आइपरेको अवस्थामा घोराहीवासीलाई राख्ने ठाउँसमेत मेटाइयो, मेला, महोत्सवलगायत कार्यक्रम आयोजना गर्ने ठाउँ पनि मासियो’, नेकपा घोराही नगर संयोजक राममणि पाण्डेले भने, ‘जग्गा ठेक्का दिनु नीतिनियमले ठीक या बेठीक जे भए पनि भोलिका बारेमा केही नसोचिनु ठीक होइन।’

साबिकका साल्ट ट्रेडिङ कम्पनी र खाद्य संस्थान गाभिएपछि साउनमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी बनेको थियो। कम्पनीका दाङ प्रमुख माधव मिश्रका अनुसार कम्पनीलाई गत साउन २८ मा सरकारले स्वायत्तता प्रदान गरी कम्पनीका नाममा रहेको सरकारी जमिनको उचित व्यवस्थापन गर्न भनेको थियो। ‘सरकारले स्वायत्तता प्रदान गरेसँगै कम्पनीको नाममा रहेको सम्पत्तिको उचित व्यवस्थापन गर्न पनि अधिकार दियो,’ मिश्रले भने, ‘यसै अधिकारमा टेकेर सरकारी सम्पत्ति उचित व्यवस्थापन गर्ने प्रक्रियामा कम्पनी लागेको हो।’ उनका अनुसार मन्त्रिपरिषद्को साउन २८ को निर्णयमा टेकेर सम्पत्ति महाशाखाले समेत खाली रहेको सरकारी जमिनमा भौतिक संरचना निर्माण वा जग्गा भाडामा दिनेगरी व्यवस्थापन गर्न कम्पनीको जिल्ला शाखालाई निर्देशन दिएको थियो। ‘सम्पत्ति महाशाखाले खाली जमिन लथालिंग नछोड्नु भनेर निर्देशन दिएको थियो,’ मिश्रले भने, ‘खाली जग्गाको व्यवस्थापन भनेको भाडामा दिनु थियो।’

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका नाममा घोराहीमा रहेको १५ कट्ठा १४ धुर खाली जमिन सत्तारुढ नेकपाका जिल्ला नेता विश्वराज आचार्यलाई ठेक्कामा दिइएको छ। उनले सो जग्गा प्रयोग गरेबापत कम्पनीलाई मासिक एक लाख ११ हजार एक सय रुपैयाँ बुझाउनेछन्।

यसै निर्देशनका आधारमा कम्पनीले घोराहीमा रहेको १५ कट्ठा १४ धुर खाली जमिन ठेक्कामा दिने प्रक्रिया अघि बढायोे। ‘हामीले आफ्नो स्वेच्छाअनुसार यो निर्णय गरेका होइनौं,’ मिश्रले भने, ‘माथिको निर्देशनअनुसार खाली रहेको जग्गा व्यापारिक प्रयोजनका लागि भाडामा दिने निर्णय भएको हो।’ भाडामा दिने निर्णयअनुसार पुसमा कम्पनीले जग्गा भाडाका लागि ठेक्का आह्वान गरेको थियो। एक लाख मासिक भाडा नघट्नेगरी ठेक्का आह्वान भएको थियो। तीनजनाले सो जगा ठेक्कामा लिन बोलपत्र दाखिला गरेका थिए। पाँच वर्षसम्म उपभोग गर्न पाउनेगरी सो जग्गा सत्तारुढ नेकपाका जिल्ला नेता विश्वराज आचार्यले ठेक्का पाएका हुन्। उनी पूर्वमाओवादी खेमाका हुन्। ‘मासिक एक लाख ११ हजार एक सय रुपैयाँ बुझाउनेगरी जग्गा प्रयोग गर्न ठेक्का दिइएको हो,’ मिश्रले भने, ‘खाली जमिनको यो आम्दानी कम्पनीका लागि ठूलो हो।’

मिश्रका अनुसार जमिनको भाडाबापत आउने यो रकमले खाद्यान्न खरिद गरेर दुर्गममा पठाउन संस्थालाई धेरै सहज हुनेछ। ‘मासिक आउने एक लाख ११ हजार रुपैयाँले खाद्यान्न खरिद गरेर दुर्गममा पठाउन धेरै सहज हुनेछ,’ मिश्रले भने, ‘जग्गा भाडामा दिनुको हाम्रो उद्देश्य पनि यही हो।’ अहिले व्यापारिक प्रयोजनका लागि उक्त जमिनमा अस्थायी संरचना निर्माणको काम भइरहेको छ।

मिश्रले कम्पनीको स्वामित्वको जग्गा व्यवस्थापन गरिएकाले यसमा विवाद गर्नुको कुनै औचित्य नभएको बताए। नेकपाका नेताले नै सरकारी जग्गा व्यक्तिलाई ठेक्कामा दिइएको भन्दै विरोध गरिरहेका छन्। नेकपा घोराही उपमहानगरपालिकाका नगरसंयोजक पाण्डेले प्रक्रिया पु-याएर जग्गा ठेक्कामा दिइए पनि घोराहीका बासिन्दा लागि यो जायज निर्णय नभएको बताए। उनले विज्ञप्ति जारी गरी ठेक्का दिने निर्णय सच्याउन आग्रह गरेका छन्। घोराही उपमहानगरपालिका– १५ मा रहेको यो जग्गाको विषयमा उपमहानगरका पदाधिकारीको पनि ध्यानाकर्षण गराएका छन्। ‘भोली घोराहीमा मानौं भूकम्प गयो या यस्तै कुनै विपद् आयो भने यहाँका मानिसलाई राख्ने ठाउँ कहाँ हो ?’ उनले भने ‘मैले घोराहीका मेयरलाई पनि यो कुरा भनेको छु, र निर्णय सच्याउनका लागि पहल नथालिए जनता विद्रोहमा निस्कने पनि जानकारी गराएको छु।’

प्रकाशित: २९ फाल्गुन २०७६ ०१:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App