६ वैशाख २०८१ बिहीबार
अर्थ

संघ र प्रदेशबाट बजेट घट्दा नगरपालिकाको बजेट संशोधन

हिउँदे नगरसभा उद्घाटन गर्दै हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई । तस्बिर: नागरिक

खोटाङ– प्रक्षेपण गरे अनुशार संघीय सरकार, प्रदेश सरकार र आन्तरिक श्रोतबाट बजेट नजुटेपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले बजेट शंसोधन गरेको छ। संघीय सरकार र प्रदेश सरकारले राजस्व बाँडफाँडतर्फको सिलिङ अनुशार बजेट नपठाएपछि र लक्ष्य अनुशार आन्तरिक श्रोत नजुटेपछि हिँउदे नगरपालिकाले नगरसभामार्फत बजेट संशोधन गरेको जनाएको छ।

गत असार १० गतेको नगरसभामा छलफलका लागि पेश गरेर असार ३१ गते ४८ करोड ८ लाख ७ हजार बराबरको बजेट पारित गरेकामा संशोधन गरेर पुनः ४७ करोड ७९ लाख ३० हजार बराबरको बजेट तथा कार्यक्रम पारित गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए। ‘संघीय सरकार र प्रदेश सरकारले राजस्व बाँडफाँडतर्फको सिलिङ अनुशार बजेट पठाएन। हामीले राखेको लक्ष्य अनुशार आन्तरिक श्रोत पनि जुट्न सकेन,’ मेयर राईले भने, ‘बजेटको मात्रा घटेपछि संशोधन गर्नुपरेको हो। बजेट संशोधन हुँदा नगरपालिकाका योजना स्वभाविकरुपमा प्रभावित हुन्छ।’ प्रक्षेपण गरे अनुशार बजेट नजुट्दा विभिन्न योजनाका लागि बजेट घटेर जाने नगरपालिकाले जनाएको छ।

६ महिनामा २० करोडभन्दा बढी खर्च
हिउँदे नगरसभामा नगरपालिकाले आर्थिक विकासतर्फ विनियोजित ११ करोड ९४ लाख ८२ हजार ५ सय बजेटमध्ये ६ महिनामा ३९ प्रतिशत (४ करोड ६५ लाख ९८ हजार १७५ रुपैयाँ) खर्च भएको, सामाजिक विकासतर्फ विनियोजित ८ करोड १२ लाख ४८ हजार १ सयमध्ये हालसम्म ५४ प्रतिशत (४ करोड ३८ लाख ७३ हजार ९७४ रुपैयाँ) खर्च भएको, पूर्वाधारतर्फ विनियोजित १६ करोड २४ लाख ९६ हजार २ सयमध्ये ३८ प्रतिशत (६ करोड १७ लाख ४८ हजार ५५६ रुपैयाँ) खर्च भएको जानकारी दिएको छ।

यस्तै, वातावरण तथा विपद व्यवस्थापनतर्फ विनियोजित ७ करोड १६ लाख ८९ हजार ५ सयमध्ये ४८ प्रतिशत (३ करोड ४४ लाख १० हजार ९६० रुपैयाँ) खर्च भएको तथा संस्थागत विकास, सेवा प्रवाह तथा सुशासन क्षेत्रतर्फ विनियोजित ४ करोड ३० लाख १३ हजार ७ सयमध्ये ३८ प्रतिशत (१ करोड ६३ लाख ४५ हजार २०६ रुपैयाँ) खर्च भएको अर्धवार्षिक भौतिक तथा वित्तीय प्रगती प्रतिवेदन पारित गरिएको छ।

हिउँदे नगरसभाले अर्धवार्षिकरुपमा भएका कार्यक्रमको समिक्षा गर्दै १४ वटा ऐन, कानून र कार्यविधि पारित गरेको छ। नगरपालिकाको शिक्षा ऐन पनि संशोधन गरिएको छ। यस्तै, गत बैसाख साउन १ गतेदेखि बसेको ११ वटा कार्यपालिका बैठकको निर्णय अनुमोदन गरिएको मेयर राईले बताए।

 

 

प्रकाशित: २८ फाल्गुन २०७६ १४:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App