काठमाडौं- रूस्लान कप ट्वान्टी-२० क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण पुस २६ बाट हुने कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने भएको छ। आठ दिनसम्म चल्ने प्रतियोगितामा १६ टोलीको सहभागिता रहने आयोजक काठमाडौं क्रिकेट टेनिङ सेन्टर (केसिटिसी)ले शुक्रबार पत्रकार सम्मेलनमा जनाएको छ। प्रतियोतिगाका सहभागिलाई २ समूहमा विभाजन गरि नकआउटका आधारमा खेलाइने केसिटीसीका अध्यक्ष ज्ञानेन्द्र मल्लले जानकारी गराए। नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्रले प्रतियोगितामा नेपाल क्रिकेट संघको प्राविधिक सहयोग रहने बताए।
प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब, नेपाल पुलिस क्लब, धादिङको खहरे क्रिकेट क्लब, पिसी फाइटर ११, रोयल पिसी फाइटर, वीरगञ्जको अनुभुती एडुकेसन फाउन्डेसन, हिमालयन क्रिकेट एकेडेमी, धनगढीको एसपिए, न्यु राइजिङ स्टार, भैरहवाको न्यु होराइजन क्रिकेट क्लब, कुलेश्वर क्रिकेट क्लब, रूस्लान केसिटिसी, नेपाली राइनोज, हिमालयन ह्वाइट हाउस कजेल र नेपाल क्रिकेट स्कुलले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिता ट्वान्टी–२० स्वरुपमा भए पनि प्रयोजकको साथ पाए आगामी दिनमा एक दिवसीय प्रतियोगिता गर्न आफूहरु तयार रहेको ज्ञानेन्द्रले बताए।
यसपाली पुरस्कार राशीमा वृद्धि गरिएको बताउँदै ज्ञानेन्द्रले विजेताले ३ लाख, उपविजेताले २ लाख तथा सेमिफाइनलमा पराजित हुने दुई टेालीले २५ हजार रुपैयाँका दरले पाउने जानकारी गराए। गतवर्ष पहिलो संस्करणमा विजेताले २ लाख रुपैयाँमात्र पाएको थियो।
म्यान अफ दी सिरिजले थाइ एयरवेजको काठमाडौं–बैंकक–काठमाडौंको टिकट र मोवाइल पुरस्कार पाउनेछन् भने उत्कृष्ट ब्याट्सम्यान र बलरले बुद्ध एयरको माउन्टेड फ्लाइट टिकट जित्नेछन्। त्यस्तै शतक प्रहार गर्ने, उत्कृष्ट क्याच लिने, ह्याटि्रक गर्ने, पाँच विकेट लिने तथा उदीयमान खेलाडीलाई पनि पुरस्कृत गरिने आयोजकले जनाए।
प्रकाशित: २३ पुस २०७३ ०३:०९ शनिबार