७ वैशाख २०८१ शुक्रबार
खेल

आर्मी हेटौंडा गोल्डकपको फाइनलमा

हेटौंडा- प्राइम पोलिक्लिनिक विजय युथ क्लबको चुनौती अतिरिक्त समयमा ४–१ ले समाप्त पार्दै नेपाली सेनाको त्रिभुवन आर्मी क्लब दोस्रो टुबोर्ग हेटौंडा अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

हेटौंडास्थित फरेस्ट्री खेल मैदानमा शुक्रबार सम्पन्न सेमिफाइनलमा स्थानीय टोली विजय युथमाथि जित हासिल गरेको आर्मीले शनिबार हुने फाइनलमा मनाङ मर्सयाङदी क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

एक गोलले पछाडि परेको अवस्थामा राष्ट्रिय टोलीका स्ट्राइकर नवयुग श्रेष्ठले खेल सकिनै लाग्दा गोल गरेपछि निर्धारित समय १–१ को बराबरीमा टुंगिएको थियो। यसअघि मार्टिन अजाईको गोलमा विजय युथले अग्रता लिएको थियो। सुजित बुढाथोकीको क्रसलाई मार्टिनले हेडमार्फत गोलमा परिणत गरेका थिए। नवयुगले इन्जुरी समयको तेस्रो मिनेटमा सेनाका लागि बराबरी गोल गर्दै जितको आधार तयार गरे।

निर्धारित समयमा स्पष्ट नतिजा ननिस्किएपछि अतिरिक्त समयमा धकेलिएको खेलमा राष्ट्रिय टोलीका अर्का स्ट्राइकर भरत खवासले आर्मीलाई अग्रता दिलाए। अतिरिक्त समयको पहिलो मिनेटमै नवयुगले तीन विपक्षी रक्षकलाई छक्याउँदै दिएको क्रसमा भरतले प्रतियोगितामा पहिलो व्यक्तिगत गोल गरेका थिए। आफैले गोल गरेको तीन मिनेटपछि भरतले दिएको पासमा हिरण्य मगरले गोल गर्दै आर्मीलाई ३–१ ले अघि बढाए। जहाँ १ सय ६ मिनेटमा नवयुगको क्रसमा दीप लामाले गोल गरेपछि आर्मीको जित अन्तर थप फराकिलो बन्यो।

आर्मीका प्रशिक्षक नवीन न्यौपानेले फिटनेसको प्रतिस्पर्धामा अघि रहेका कारण सुखद नतिजा सम्भव भएको बताए। 'विपक्षी टोलीको फिटनेस कमजोर थियो। हामीले त्यसको फाइदा उठायौं। गोल खाए पनि सम्हालिएर खेल्नुको पनि हामीलाई फाइदा भयो,' न्यौपानेले भने।

यसैगरी विजय युथका प्रशिक्षक सुविन घिमिरेले हारको दोष भाग्यलाई पन्छाए। 'अन्तिम सेकेन्डमा गोल खानु दूर्भाग्य नै थियो। केही सेकेन्ड सम्हालिन सकेको भए हामी निर्धारित समयमै विजेता भइसक्थ्यौं। तर अन्तिम समयको बरबारी गोलपछि खेलको दृष्य बदलियो। अतिरिक्त समयमा हामीलाई फिट्नेसले साथ दिएन। खेलाडीहरु घाइते भएकाले समस्या भयो,' घिमिरेले भने।

प्रकाशित: २३ पुस २०७३ ०३:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App