५ वैशाख २०८१ बुधबार
खेल

ढोरपाटन भलिबलमा पुरानै प्रतिद्वन्द्वीता

काठमाडौं- सशस्त्र प्रहरी बलको एपिएफ र न्यु डायमन्ड एकेडेमीले उपाधिको मुख्य दाबेदारका रुपमा ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनसिपको सुरुआत गर्नेछन्।

प्रतियोगिताको १२ औं संस्करण शनिबार देखी सुरु हुँदा भारतको एकसहित १० टोलीको सहभागिता रहने भए पनि एपिएफ र न्यु डायमन्ड स्पोटर्स एकेडेमीलाई मुख्य दाबेदार मानिएको छ। एपिएफले पछिल्लो चार वषदेखि लगातार ढोरपाटन भलिबलको उपाधि जित्दै आएको छ। डायमन्ड भने लगातार चार पटकको साविक उपविजेता हो। पोखराको ज्ञानुबाबा उच्च माविले सर्वाधिक ५ पटक ढोरपाटन भलिबलको उपाधि जितेको छ भने पुलिस एकपटक च्याम्पियन भएको छ। पहिलो संस्करणमा पुरुष प्रतिस्पर्धा गराइँदा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब च्याम्पियन भएको थियो। दोस्रो संस्करणदेखि प्रतियोगिता महिला प्रतिस्पर्धामा परिणत भएको थियो।

प्रतियोगिताको १२औं संस्करणको समिकरणलाई स्पाइकर प्रतिभा माली, ललिता नाथ, सरस्वती चौधरी, नेविका चौधरी, रेश्मा भण्डारी र उषा विष्टको प्रदर्शनले प्रभाव पार्नेछ।

डायमन्डबाट नेपालकी नम्बर एक स्पाइकर प्रतिभा माली खेल्छिन्। टिममा उनी एक्लो स्टार खेलाडी हुन्। उनलाई स्पाइकमा कप्तान ललिता नाथ, पनमिका राईले साथ दिने भए पनि डायमन्डको टिम धेरैजसो उनमै निर्भर देखिन्छ। एउटा स्टारको प्रेरणाको भरमा कोर्टमा उत्रिने डायमन्डको पुरानै समस्या भए पनि प्रतिभा टोलीलाई एक्लै च्याम्पियन बनाउने क्षमता राख्छिन्।

एपिएफ राष्ट्रिय खेलाडीहरुको बाहुल्य रहेको टिम हो। एपिएफका पाँच खेलाडी नेपाली टोलीको पहिलो रोजाईबाट खेल्छन। स्पाइकर सरस्वती, नेविका र रेश्मा नेपालका प्रभावशाली स्पाइकर हुन। उनीहरुको साथले एपिएफले विगत चार वर्ष देखी नेपालको सर्वाधिक राशीको ढोरपाटन प्रतियोगिता जित्दै आएको छ।

माघ ८ सम्म चल्ने प्रतियोगितामा पहिलो चरणका उत्कृष्ट ८ टिमले दोस्रो चरणमा एक–अर्काविरुद्ध राउन्ड रोबिन पद्दतिमा प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको पहिलो दिन चार खेल हुनेछन्। उदघाटन खेलमा विजेश्वरी र चण्डेश्वरीले प्रतिस्पर्धा गर्नेछन भने शनिबार नै एपिएफ र न्यु डायमन्ड स्पोर्टस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच खेल हुनेछन्। यसैगरी शनिबारै आयोजक ढोरपाटन स्पोर्टस क्लब र न्यु डायमन्ड स्पोर्टस एकेडेमीले प्रतिस्पर्धा गर्नेछन्।

नयाँ बसपार्कस्थित भलिबल कोर्टमा चल्ने प्रतियोगितामा एपिएफ, न्यु डायमन्ड एकेडेमी, नेपाल पुलिस, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ, त्रिभुवन आर्मी, चण्डेश्वरी युवा क्लब, ढोरपाटन स्पोर्टस, विजेश्वरी ज्ञान मन्दिर, न्यु डायमन्ड स्पोर्टस् क्लब र रिड मोडल कलेजले खेल्नेछन्। आयोजक ढोरपाटन स्पोर्टस क्लबका अध्यक्ष मनवीर छन्त्यालले प्रतियोगितामा सहभागिता जनाउन भारतको रेलवे टिम पुस २६ गते आइपुग्ने बताए।

'प्रतियोगिताको सबै तयारी पूरा भएको छ। हामीले विदेशी क्लबलाई यसपटक खेलाउने प्रयास गरिरहेका छौं। भारतको एउटा टोली आउने पक्का भैसकेको छ,' ढोरपाटनका अध्यक्ष छन्त्यालले भने।

प्रतियोगिताको विजेताले ३ लाख २० हजार, उपविजेताले १ लाख ६० हजार तथा तेस्रोे हुने टोलीले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। चौथो देखि सातौ हुने टोलीले क्रमशः ४५ हजार, ३५ हजार, २५ हजार र १५ हजार रुपैयाँ पाउनेछन्।

प्रतियोगिताका उत्कृष्ट खेलाडी, उदीयमान खेलाडी,  वर्ष खेलाडी, प्लेयर अफ दि सिरिजले एक–एक थान टिभिएस स्कुटी पुरस्कार पाउनेछन्। एक खेलाडीलाई ग्रेट अचिभमेन्ट अवार्ड सहित स्कुटी प्रदान गरिने आयोजकले बताएको छ।

प्रकाशित: २३ पुस २०७३ ०३:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App