coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

तस्कर नाइके पक्रन दबाब

काठमाडौं- प्रहरीले बरामद भएको सुन र पक्राउ परेको व्यक्ति २४ घण्टा नबित्दै राजस्व अनुसन्धान विभागमा बुझाउने परम्परा तोड्दै आफैंले अनुसन्धान थालेको छ। प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल र केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख नायब महानिरीक्षक नवराज सिलवालले सुन तस्करीको संगठित गिरोह सञ्जाल भत्काउन अनुसन्धान गर्ने निधो गरेका हुन्।

महानिरीक्षक अर्यालले सुन तस्करीमा अन्तर्राष्ट्रिय र देशभित्रकै संगठित र शक्तिशाली गिरोह सक्रिय रहेको सूचना पाए पनि कानुनी प्रावधानका कारण अनुसन्धान प्रभावकारी हुन नसकेको बताए। उनले बिहीबार बरामद सुनको अनुसन्धानमा प्रहरी आफैं जुटेको जानकारी दिए। उनका अनुसार प्रहरी अनुसन्धानका लागि पद्धति र साधन स्रोतले सम्पन्न छ।

महानिरीक्षक अर्यालले शुक्रबार बिहान महाराजगन्जस्थित ब्युरो कार्यालय पुगेर सहकर्मी अधिकारीसँग छलफल गरेका थिए। 'सुन तस्करीको परम्परागत अनुसन्धान शैलीले संगठित सञ्जालका नाइकेसम्म पुग्न कठिन देखियो। त्यसैले प्रहरी आफैंले अनुसन्धान थालेको छ। सञ्जाल भत्काउन प्रहरी सक्षम छ', अर्यालले नागरिकसँग भने।

उनका अनुसार बिहीबार पक्राउ परेका तीन जनाविरुद्ध संगठित अपराध अनुसन्धान ऐनअन्तर्गत शुक्रबार काठमाडौं जिल्ला अदालतबाट म्याद थप भएर अनुसन्धान सुरु भएको छ। प्रहरीलाई ऐनले संगठित अपराधअन्तर्गत समातिएका आरोपीलाई ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने अधिकार दिएको छ। ब्युरोले बिहीबार ३४ किलो सुनसहित गोपालबहादुर शाही, दिलबन्दु थापा र सन्तोष काफ्लेलाई समातेको थियो।

ब्युरो टोलीले संयुक्त अरब इमिरेट्स (युएई) बाट आएका एक यात्रुको लगेजमा दुई सय ८२ थान सुनका बिस्कुट फेला पारेको थियो। ब्युरो टोलीले एयर अरेबियाको उडानमा दुबईबाट काठमाडौं आएका नेपालगन्जका शाहीको लगेजबाट सुन बरामद गरेको हो। ब्युरोले सुन लिन जाने दुईजनालाई समेत पक्राउ गरेको छ। शाही बुधबार दुबईबाट काठमाडौं ओर्लिए पनि बिहीबारमात्रै लगेज लिन भन्सार पुगेका थिए।

ब्युरोकी एसपी मिरा चौधरीका अनुसार शाहीलाई विमानस्थल क्षेत्रभन्दा बाहिर पिंगलास्थानबाट नियन्त्रणमा लिइएको हो। सुन लिन गएका थापा र काफ्ले पनि बा४च ९११४ नम्बरको टेरियस गाडीसहित पक्राउ परेका थिए ।

शाहीले ल्याएको लगेजमा काटो टेपले बाँधेको अवस्थामा सुनका बिस्कुट करिब ३१ किलोग्राम र तीन किलोग्रामका बनिबनाउ गहना बरामद भएको थियो। ब्युरोका अनुसार १९ थान औठी र १८ थान सुनका सिक्री बाहिरी भागमा र सवारीसाधनका पार्टस्मा लुकाएर सुनका बिस्कुट ल्याईएको हो। शाहीले सुन लुकाउन प्रयोग भएका सामग्री हेलिकोप्टरका पार्टपुर्जा भएको बयानमा बताएका छन्।

तस्कर पक्रन सक्रियता

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले शुक्रबार सुरक्षा निकाय प्रमुखलाई सुन तस्करीको जरैसम्म पुगेर अनुसन्धान तथा कारबाही गर्न निर्देशन दिएका छन्। उनलेे गृह सचिव, प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका एआइजी र सिआइबी प्रमुखलाई बोलाएर सुन तस्करीका नाइके पक्राउ गर्न निर्देशन दिएका हुन्।

निधिका प्रेस सल्लाहकार रामजी दाहालले शुक्रबारको छलफलपछि सुन तस्करीले मन्त्रालयलाई समेत असर परेकाले यसका नाइकेसम्म खोज्ने जिम्मा केन्द्रीय अनुसन्धान ब्युरोलाई दिएको बताए। उनका अनुसर तस्करीमा संलग्न संगठित गिरोह सक्रिय रहेको जानकारी ब्युरोले गराएपछि चाँडोभन्दा चाँडो मुख्य समूह पहिचान गरी कारबाहीका लागि निर्देशन भएको हो।

गृहमन्त्रीको सचिवालयमा भएको बैठकमा गृहसचिव लोकदर्शन रेग्मी, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, राष्ट्रिय अनुसन्धान विभागका एआईजी गणेशराज अधिकारी र ब्युरो प्रमुख नवराज सिलवाल उपस्थित थिए।

ठूलालाई उम्काउन चलखेल

विमानस्थलबाट सुन तस्करी काण्डमा साना कर्मचारीलाई कारबाही गरेको देखाएर मुख्यलाई उन्मुक्ति दिने चलखेल सुरु भएको स्रोतले बताएको छ।

घटनाबारे छानबिन गर्न विभागले उपमहानिर्देशकको नेतृत्वमा पाँचसदस्यीय समिति बनाएको छ। उपमहानिर्देशक सुमन दाहालको संयोजकत्वमा कुलराज ज्ञवाली, टंक पाण्डे, मन्त्रालयको कानुन शाखाका प्रतिनिधि र पुण्यविक्रम खड्का सम्मिलित छानबिन समिति बनाएको विभागका महानिर्देशक शिशिरकुमार ढुंगानाले जानकारी दिए।

यस्तै विमानस्थल भन्सार प्रमुख नारायणप्रसाद सापकोटाले उपसचिवदेखि कार्यालय सहयोगीसम्म २९ जनालाई कामबाट हटाएर अनुसन्धान भइरहेको जानकारी दिए।

अर्थ मन्त्रालयका एक उच्च अधिकारीका अनुसार अर्थसचिव शान्तराज सुवेदीको निर्देशनमा तत्काल घटना थामथुम बनाउन छानबिन समिति बनाइएको हो। घटनाको विस्तृत अनुसन्धान र दोषीउपर कारबाहीभन्दा पनि छानबिन समिति घटनाको तत्काल प्रभाव घटाउन विगतमा जस्तै सक्रिय हुनेछ।

'केही समयअघि मात्रै सरुवा भएर गएका भन्सार प्रमुख र लामो समयदेखि विभागमा रहेका महानिर्देशकलाई सुन तस्करीको नालीबेली थाह छ, अहिले पत्रपत्रिकामार्फत दबाब बढेपछि छानबिन समिति बनेको हो,' स्रोतले भन्यो।

हवाई तथा स्थल मार्ग भएर नेपाल भित्रिने अवैध सुनमा भन्सार, सुरक्षा निकाय र तस्करको गोप्य सिन्डिकेट सञ्चालनमा रहेको बिहीबार पुष्टि भएको थियो । प्रहरीले विमानस्थल भन्सार जाँच पास भएर आएको यात्रुको लगेजबाट ३४ किलो सुन बरामद गरेपछि लामो समयदेखि चल्दै आएको सिन्डिकेटको पर्दाफास भएको हो।

उच्च स्रोतका अनुसार सुन तस्करीमा भन्सार विभाग, प्रहरी प्रधान कार्यालय, महानगरीय प्रहरी आयुक्तको कार्यालयदेखि अर्थ र गृह मन्त्रालयका उच्च अधिकारी संलग्न छन्। सुन ल्याउने व्यक्तिलाई तस्कर समूहले 'चेकजाँच भए बनिबनाउ सुन दिनु, हामी छुटाउँछौं' भन्ने आश्वासन दिएको र लगेजमा आएको सुन बिनाचेकजाँच पास हुनुले उच्च तहको समूह तस्करीमा सक्रिय रहेको देखिएको छ।

सुन नआएपछि राजस्व निराश

प्रहरीले बिहीबार बरामद गरेको ३४ किलोग्राम सुन आउने आशामा बसेका राजस्व अनुसन्धान विभागका कर्मचारी सुन नआएपछि निराश बनेका छन्। प्रहरीले बरामद गरेको सुनमा महानिर्देशकदेखि कार्यालय सहयोगीसम्मको नाम राखेर कमिसन खादै आएका कर्मचारी ब्युरोले बिहीबार बरामद गरेको सुन आउने आशामा शुक्रबार अबेरसम्म कार्यालयमै थिए। तर, कार्यालय समय सकिएको निकै बेरसम्म पनि सुन आउने छाँट नदेखिएपछि कर्मचारी सोधखोजमा लागेका थिए।

प्रकाशित: २३ पुस २०७३ ०२:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App