७ वैशाख २०८१ शुक्रबार
समाज

होलीमा पक्राउ परेका २१ मध्ये दर्जन बढीमाथि अनुसन्धान हुने

उदयपुर- प्रशासनको अवज्ञा गर्दै होहल्ला गरी होली खेल्ने क्रममा पक्राउ परेका २१ जनामध्ये दर्जन बढीमाथि अनुसन्धान सुरु भएको छ। कोरोना भाइरस(कोविड–१९) को संभावित खतराप्रति सचेत हुन भिडभाड गरेर होली नखेल्न सातादिनअघि नै जिल्ला प्रशासनले सूचना जारी गरे पनि अवज्ञा गर्दै हुलहुज्जत गरी होली मनाउनेलाई बिहीबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको थियो।

पक्राउमध्ये ५ महिला र केही पुरुष बिहीबार साँझै छाडिए पनि केही शंकास्पदहरुलाई भने अनुसन्धान गर्नुपर्ने देखिएकाले हिरासतमै राखिएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए। उनका अनुसरा पक्राउमध्ये दर्जन हाराहारी हिरासतमै छन्। उनीहरुमध्ये केही पटके (यसअघि पनि पक्राउ) भएकाले अनुसन्धान गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले नछाडिएको हो।

‘सरकारको निर्देशन अनुसार कोरोना भाइरसबाट बँच्न हामीले भीडभाड र समूह जम्मा गरेर होली नखेल्न सार्वजनिक सूचना जारी गरेका थियौं’ एसपी मगरले भने ‘तर, बजारमा केही उछृङ्खल समूह देखा परेपछि नियन्त्रणमा लिइएको र पटकेहरु पनि भएकाले छाडिहाल्न नमिल्ने देखेर अनुसन्धान थालिएको हो।’ विहानपख होली खेल्नेहरु खासै नदेखिएको तर, शान्तिपूर्ण र संयमित खेल्दै गरेकोमा दिन ढल्दै गएपछि उछृङ्खल भिड र समूह बनाउनेलाई नियन्त्रणमा लिनु परेको प्रहरी भनाई छ।

सार्वजनिक अपराध र अन्य आपराधिक गतिबिधि गरेको आरोपमा यसअघि पक्राउ परेर कारबाहीमा परेको रेकर्ड भेटिए उनीहरुमाथि थप अनुसन्धान हुनसक्ने एसपी मगरले बताए।

कोरोना भाइरसको जोखिमका कारण उदयपुरमा यस वर्षको होलीको रौनक ८० प्रतिशत घट्यो। विगत वर्षहरुमा उदयपुमा दुईदिन भव्य मनाइने होली यसवर्ष पछिल्लो दिन मात्र फाटफुट मनाएको पाइयो। संभावित भिड र समूह जम्मा हुन नदिन चोकचोकमा तैनाथ सशस्त्र र नेपाल प्रहरीले युवायूवतीको जमघट बढ्दै होहल्ला गर्न थालेपछि १६ मोटरसाइकलसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो।

त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटका अनुसार विगत वर्षको तुलनामा यसवर्षको होलीमा ९० प्रतिशतभन्दा बढी व्यापार खस्केको छ। विगत वर्षहरुमा करोडौंको कारोबार हुने गाईघाटमा कोरोनाका कहरले लाखकै कारोबार हुन नपाएको संघका प्रथम उपाध्यक्ष रमेश रसाईलीले बताए। उनका अनुसार विगतमा होली आउनु महिना अघिदेखि नै पिचकारी, रङ, टिसर्टलगायत होलीका सामग्री किनबेचमा ग्राहकको भीड लाग्ने गरेको थियो।

‘गतवर्ष ३ करोड बढीको कारोबार भएको होलीमा यसवर्ष मुस्कीले ५ लाख रुपैयाँको भयो होला’ रसाईलीले भने ‘कोरोनाको प्रत्यक्ष प्रभाव व्यापार व्यवसायमा परेको छ। यसले देशकै अर्थतन्त्रमा दीर्घकालीन प्रभाव पार्ने देखिन्छ।’

प्रकाशित: २८ फाल्गुन २०७६ ०८:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App