८ वैशाख २०८१ शनिबार
समाज

दमकल पनि छैन एअरपोर्टमा

झापा- सुरक्षाका दृष्टिले ज्यादै संवेदनशील क्षेत्र मानिने विमानस्थल नै चरम असुरक्षाका बीच सञ्चालन भइरहेका छन्। मेची अञ्चलमा दुई विमानस्थल चालू अवस्थामा छन्, झापाको चन्द्रगढी (भद्रपुर) र ताप्लेजुङको सुकेटार। तर, यी दुवै विमानस्थलले अत्यावश्यक पूर्वाधारको अभाव झेलिरहेका छन्।

विज्ञका अनुसार कुनै पनि विमानस्थल सुरक्षित राख्न अग्नि नियन्त्रक उपकरण र जनशक्ति अत्यावश्यक हुन्छन्। त्यस्तै सुरक्षा चेकजाँचका लागि अत्याधुनिक एक्सरे मेसिन पनि उत्तिकै खाँचो पर्छ। तर, चन्द्रगढी विमानस्थलमा यी कुनै पनि उपकरण र जनशक्ति छैनन्। सुकेटार विमानस्थलमा त इन्टरनेट सुविधासमेत छैन।

२०२० सालमा स्थापना भई बीचमा बन्द भएर २०४८ सालदेखि नियमित सञ्चालन हुँदै आएको चन्द्रगढी विमानस्थलमा दैनिक नौ उडान हुन्छ। बुद्ध, यती, सौर्य र नेपाल वायु सेवा निगमका जहाजले उडान भर्ने भद्रपुर विमानस्थलमा यात्रुको चाप पनि उच्च छ। पूर्वी पहाड, झापा, भारत, भुटान र बंगलादेशसम्मकै यात्रुको आवतजावत यही विमानस्थलमार्फत हुने गरेको छ। यति व्यस्त रहने विमानस्थल आफैं भने असुरक्षित छ। 'यहाँ जोसुकै यात्रु आए पनि उसको झोला खोतलखातल पारेर चेकजाँच गर्नुपर्ने बाध्यता छ', विमानस्थलमा खटिएका एक प्रहरीले भने, 'यत्तिको विमानस्थलमा एउटा एक्सरे मेसिन अनिवार्य चाहिने हो।'

चन्द्रगढी विमानस्थलका प्रमुख पूर्ण चुडाल कुनै पनि विमानस्थलमा अग्नि नियन्त्रक जनशक्ति र वारुणयन्त्र अनिवार्य भएको बताउँछन्। इन्धन भण्डारण गरिने स्थान र विमानस्थलजस्ता अति संवेदनशील क्षेत्रमा वारुणयन्त्र २४सै घण्टा तयारी अवस्थामा रहनुपर्छ। तर, विमानस्थलमा उपकरण र जनशक्ति व्यवस्थापनमा सरकारी निकायको ध्यान गएकै छैन।

पाँच महिनादेखि चन्द्रगढी विमानस्थलमा जहाजमा इन्धन भर्ने सुविधा पनि उपलब्ध छ। नेपाल आयल निगमका ट्यांकर विमानस्थल परिसरमा लोड–अनलोड हुन्छन्। निगमका अनुसार अहिले भद्रपुरमा दैनिक चार हजार लिटर इन्धनको माग छ। इन्धन रिफ्युलिङका लागि भद्रपुर विमानस्थलमा तीनवटा भाउजर राखिएको छ। हवाई सेवा प्रदायक विमान कम्पनीको सुविधाका लागि रिफ्युलिङ सेन्टर व्यवस्था भए पनि वारुणयन्त्र उपलब्ध भइनसकेको चुडाल बताउँछन्।

विमानस्थलको प्रतीक्षालय पनि ज्यादै साँघुरो छ। जहाज पार्किङस्थलको पनि अभाव छ। 'तीनभन्दा बढी जहाज पार्किङ गर्नुपर्‍यो भने समस्या हुन्छ', चुडालले भने। चन्द्रगढी विमानस्थलको अर्को पनि गम्भीर समस्या छ। स्थानीय प्रशासनका अनुसार विमानस्थलको पूर्वी भागमा व्यक्तिगत जमिन छ जुन विमानस्थलको सुरक्षाका लागि चिन्ताको विषय हो।

यसबाहेक चन्द्रगढीमा रात्रीकालीन सेवा सुचारु गर्ने हल्ला चलेको वर्षौं भइसकेको छ। तर, सेवा सुरु गर्न आवश्यक उपकरण अहिलेसम्म व्यवस्थापन भएको छैन। रात्री उडानका लागि पथप्रदर्शक उपकरण, रन वे लाइट/पार्किङ लाइटको प्रबन्ध नभएकै कारण सेवा सुरु हुन नसकेको विमानस्थल प्रशासनले जनाएको छ। यसबाहेक विमानस्थलको घेराबेरा पनि अपूरै छ। अहिले फेन्सिङको काम चलिरहेको छ। तर, बेला–बेला धावनमार्गसम्मै कुकुर पुग्ने समस्या यहाँको विमानस्थलका लागि टाउको दुखाइ बन्दै आएको छ।

उता ताप्लेजुङको सुकेटार विमानस्थलमा अहिले सातामा तीन उडान हुँदै आएको छ। आइतबार, बुधबार र शुक्रबार नेपाल एयरलाइन्सको विमानले उडान भर्ने गरेको छ। बेलाबेला अन्य निजी कम्पनीका विमान भाडामा आउने गरेका छन्। यो विमानस्थल पनि पूर्वाधारमा धेरै पछि छ। तर, पूर्वाधार थप्ने कुरामा सरकारी पक्ष उदासीन छ। विमानस्थल प्रमुख विनोद राजवंशीले पूर्वाधार बिस्तारै थपिँदै गएको दाबी गरे। तर, विमानस्थलमा अहिलेसम्म इन्टरनेट सुविधासम्म छैन। वारुणयन्त्र, एक्सरे मेसिन, रिफ्युलिङ सेन्टरलगायतका सुविधा माग्ने आँट विमानस्थलले गरेकै छैन।

प्रकाशित: २३ पुस २०७३ ०२:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App