७ वैशाख २०८१ शुक्रबार
अर्थ

६ करोड लगानीमा बोधिभिल्ला बेङ्क्वेट सञ्चालनमा

बुटवल - रुपन्देहीको मंगलापुरमा बोधी भिल्ला बेङ्क्वेट सञ्चालनमा आएको छ। ६ करोडभन्दा बढीको लगानीमा खुलेको बेङ्क्वेट र रक गार्डेन रेस्टुरेन्ट मंगलबारदेखि सञ्चालनमा आएको हो।

तिलोत्तमा नगरपालिका–९ स्थित बुटवल–भैरहवा ६ लेन सडककै किनारमा खुलेको सुविधा सम्पन्न वेङक्वेटको मंगलबार एक कार्यक्रमबीच नेपााल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुरेन्द्र प्रसाद श्रेष्ठले उदघाटन गरे। रुपन्देहीका पुराना उद्योगी चन्द्रमान श्रेष्ठको परिवारको एकल लगानीमा जिल्लामै अहिलेसम्मकै ठूलो बेङ्क्वेट सञ्चालनमा आएको हो। बेङ्क्वेट तथा रक गार्डेन तीन बिघा क्षेत्रफलमा फैलिएको छ।

फरक शैलीको मल्टी फंसनल बेङ्क्वेटमा एकपटकमा पाँच हजार जनालाई सेवा उपलब्ध गराउन सकिने बोधिभिल्ला प्रालिका प्रबन्ध निर्देशक अनुप श्रेष्ठले बताए। बुद्ध जन्मस्थल लुम्बिनीसगै पश्चिम नेपालमा पर्यटकीय सम्भावना बढेकाले आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर बेङ्क्वेट सञ्चालनमा ल्याइएको श्रेष्ठले बताए। बुटवल र भैरहवा दुवै सहरका सेवाग्राहीका लागि सहज होस् भनेर यी दुई सहरबीच क्षेत्रमा बेङ्क्वेट सञ्चालन गरेको उनले बताए। भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि बाह्य पर्यटकको संख्या बढ्ने अपेक्षा लिएर पर्यटन उद्योगमा लगानी लगाएको भन्दै श्रेष्ठले विमानस्थल निर्माण छिटो सक्नुपर्नेमा जोड दिए।

बुद्ध जन्मस्थल लुम्बिनीसगै पश्चिम नेपालमा पर्यटकीय सम्भावना बढेकाले आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर बेङ्क्वेट सञ्चालनमा ल्याइएको संञ्चालककाे भनाइ

प्रालिका प्रबन्ध निर्देशक श्रेष्ठले बोधिभिल्ला जिल्लाकै ठूलो बेङ्क्वेट र रक गार्डेन रेस्टुरेन्ट भएको दाबी गरे। श्रेष्ठले भविष्यमा यसको सेवा विस्तार गरी ४० बेडको लज र स्विमिङ पुल पनि सञ्चालन गर्ने लक्ष्य रहेको पनि बताए। माछापालन गरिएको पोखरीमाथि बनाइएको पुलले बेङ्क्वेट परिषरको आकर्षक  बढाएको छ। बेङ्क्वेट परिसरमा सागसब्जी खेती र वातावरण संरक्षणका लागि विभिन्न प्रजातिका एक हजार बिरुवा पनि रोपिएको छ। जसले रक गार्डेन तथा बेङ्क्वेट परिषरलाई मनमोहक बनाएको छ। त्यस्तै ग्राहकले फिसिङ गर्न र जिउँदो माछाको परिकारको स्वाद लिन पाउने व्यवस्था पनि गरिएको बोधिभिल्लाका प्रबन्ध निर्देशक श्रेष्ठले जानकारी दिए।

प्रालिले सामाजिक उत्तरदायित्वअन्तर्गत स्थानीय र आफ्ना ग्राहकलाई बेङ्क्वेट परिसरमा ब्याडमिन्टन र बास्केटबल कोर्ट तथा खेल मैदान निःशुल्करुपमा उपलब्ध गराएको प्रालिका व्यवस्थापक छविलाल थापाले बताए। प्रालिमा हाल ३० जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। प्रालिको रेन्टुरेन्टमा दुबईमा सम्पन्न वल्र्ड सेफ च्याम्पियनसिप २०१६ का विजेता यादव पराजुली मुख्य सेफका रुपमा कार्यरत छन्। उनी समुद्री खानाका परिकारका लागि प्रख्यात सेफ हुन्। यसअघि ६ महिनासम्म परीक्षण सेवा गरी प्रालिले होली पुर्णिमाको अवसर पारेर मंगलबारदेखि व्यावसायिक रुपमा सेवा सञ्चालन गरेको हो।

प्रालिले कोरोनाविरुद्ध जनचेतना फैलाउने उद्देश्यले मंगलबारै लाइभ म्युजिक सांस्कृतिक कार्यक्रम गरिएको इभेन्ट म्यानेजर आलोक भट्टराईले बताए। कोरोना विरुद्धको जनचेतनामूलक सांगीतिक कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था गरिएको थियो। कोरोनाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै पारिवारिक वातावरणमा बेङ्क्वेट परिसरमा मात्र सीमित हुने गरी कार्यक्रम गरिएको इभेन्ट म्यानेजर भट्टराईले जानकारी दिए।

प्रकाशित: २८ फाल्गुन २०७६ ०४:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App